खेल : जोखिम मोल्न रुचाउने अभिनेत्री सुरक्षाको अब्बल अभिनय तर मिथक र पात्र भ्रामक

खेल : जोखिम मोल्न रुचाउने अभिनेत्री सुरक्षाको अब्बल अभिनय तर मिथक र पात्र भ्रामक

फिल्म अझैँ पनि निर्देशक आलोक नेम्वाङको अन्तिम फिल्म बन्न पुग्यो। तर त्यही फिल्मबाट नेपाली फिल्म क्षेत्रमा नयाँ अभिनेत्रीको प्रवेश भयो ‘सुरक्षा पन्त’।त्यसपछि पन्तको अभिनय यात्रा ‘सुस्केरा’ , ‘धनपती’, ‘भैरे’, ‘रोमियो एन्ड मुना’, ‘चङ्गा चेट’, ‘गोपी’, पोइ पर्यो काले’, ‘घर’, ‘आमा’, इटालियन फिल्म ‘द एट माउन्टेन्स’, ‘के घर के डेरा’, ‘बहाव’ अनि बुलाकी, ‘पिताम्बर’हुँदै ‘खेल’ सम्म आइपुगेको छ।

यी सबै फिल्मको चरित्र हेर्ने हो भने सुरक्षामा एक विशेषता देखिन्छ ‘ चरित्रमा जोखिम मोल्न रुचाउने’। अभिनेताको अगाडि-पछाडि नाच्दै हिँड्ने फिलरै भूमिकामा भन्दा हस्तक्षेपकारी भूमिकालाई नै प्राथमिकता दिन्छिन् उनी।

त्यसका लागि कपाल खौरिएर मुडुलो हुन पनि तयार देखिइन् 'आमा'मा। नयाँ चरित्र भए नयाँ कलाकारसँग अभिनय गर्न हिचकिचाउनु हुँदैन भन्ने देखाइन 'बहाव' मा।

तर व्यापारिक दृष्टिकोणबाट हेर्ने हो भने उनका अधिकांश फिल्म असफल छन्। उनको अभिनय र उनले निर्वाह गरेको भूमिकाको दृष्टिकोणबाट हेर्ने हो भने स्टेरियोटाइपमा रमाउनु भन्दा आफ्नो अभिनय क्षमताको पटक-पटक परीक्षणमा रमाएको प्रस्ट देखिन्छ।

आफ्नो यो स्वभावलाई उनले ‘आमा’, ‘बुलाकी’ र ‘बहाव’सँगै शुक्रवार रिलिज भएको फिल्म ‘खेल’मा समेत निरन्तरता दिएको देखियो।

विषयगत आधारमा नेपालमा कमै बन्ने हरर, सस्पेन्स र थ्रीलर जनरामा बनेको फिल्म ‘खेल’ मा सुरक्षासहितका मुख्य चार पात्रको अभिनय अब्बल छ। नेपालमा बनेका हरर र सस्पेन्स जनराका फिल्मको गुणस्तर र कथ्यशैलीसँग फिल्म 'खेल'लाई दाँज्ने हो भने ‘अब्बल’ फिल्म भन्न कन्जुस्याइँ गर्नुपर्दैन। तर जनरालाई छाडेर फिल्मको फ्रेममा मात्र राखेर हेर्दा भने केही कमजोरी छ नै।

अब फिल्म 'खेल'मै केन्द्रित हौँ।

कथासार

एक कलेजमा अध्ययनरत पात्र, उनीहरुबीचको ईर्ष्या, अकस्मात् फैलिने रोग अनि तन्त्रमन्त्रको प्रयोगले निम्त्याउने सङ्कट, फिल्म 'खेल'को मुख्य कथा यसै वरिपरि घुमेको छ।

यसमा विज्ञान, मिथक र अन्धविश्वास सबै मिसिएको छ। वर्तमानकालबाट भूतकालमा गएर पुन वर्तमानकालमा फर्किएको छ फिल्मको कथ्य संरचना।

फिल्म एकै कलेजमा अध्ययनरत र एकै होस्टलमा बस्ने जिना (सुरक्षा पन्त), नुमा (सदिक्षा राई ), अनिका (हेना नगरकोटी) र वर्षा (निकिता आचार्य) वरिपरि घुमेको छ।

शिक्षकको भूमिकामा रहेका भोलाराज सापकोटाले काठमाडौंको इतिहास पढाउनेक्रममा सत्रौँ शताब्दीमा दादुरा रोगको महामारी फैलिँदाको घटना पढाउँछन्। रानीलाई रोग लागेपछि राजाले शीतला देवीको मन्दिर बनाएर पूजा गरेपछि रानीको रोग निको भएको तर सुन्दरता बिग्रिएपछि आत्महत्या गरेको प्रसङ्ग सुनाउँछन् उनी।

प्रकोप र कालो जादुका विषयहरू उठ्छन्। चार साथीबीच आन्तरिक प्रतिस्पर्धा सुरु हुन्छ। को अगाडि बढ्ने प्रतिस्पर्धामा उनीहरू तन्त्रमन्त्रतिर लाग्छन् र सङ्कट आइपर्छ। एकले अर्कालाई शक्तिहीन बनाउन तन्त्रमन्त्रको खेल खेल्दा आउने सङ्कटबाट पात्रहरूले पार पाउँछन् या फस्छन् यो बुझ्न त हल गएर फिल्मै हेर्नुपर्छ।

बलियो पक्ष

फिल्मको सबैभन्दा बलियो पक्ष कथ्य संरचना नै हो। नेपाली फिल्महरूमा देखिने भन्दा फरक कोणबाट कथा भन्ने प्रयास गरेका छन् निर्देशक अनुराग प्रधान र आस्था श्रेष्ठले। बलिउडका फिल्महरूमा सहायक निर्देशकको रूपमा काम गर्दा सिकेको सीप प्रस्ट देखिन्छ खेलमा।

फिल्ममा प्रयोग भएको भिएफएक्सले कतै अवरोध गरेको छैन कथामा। बेलाबखत प्रयोग हुन्छ भिएफएक्सका दृश्य  प्राकृतिक नै देखिएको छ। सिनेमाटोग्राफी बलियो छ फिल्मको।

हरर फिल्म भन्नासाथ खराब पक्षमाथि असल पक्षको जितको कथ्य फ्रेम हाबी हुन्छ अधिकांशमा। त्यसले कथा पूर्वानुमान गर्न सकिने खालको हुन्छ। यो समस्याबाट मुक्त देखियो फिल्म ‘खेल’।

फिल्मको प्रारम्भमा सुरक्षाले ओभर एक्टिङ गरिछिन् जस्तो अनुभव नहुने हैन, तर जब उनको क्यारेक्टर खुल्दै जान्छ बल्ल बुझिन्छ उनको अभिनय। उनको अभिनय दमदार त छ नै अन्य तीन कलाकारले पनि अभिनयमा सुरक्षालाई राम्रै चुनौती दिएका छन्। 

फिल्मको लोकेसन छनौट राम्रो छ। कथाको समय बुझाउन प्रप्सको प्रयोगमा निकै मिहेनत गरेको देखिन्छ। अविश्वास लाग्ने कथालाई फिल्ममा सत्य झैँ प्रस्तुत गर्न सफल भएका छन् निर्देशक। पौराणिक कथा, सदियौँदेखिको बन्धन, घातक खेल, मित्रताबीचको बन्धन,ईर्ष्या लगायतका विषयलाई फिल्ममा बाँध्न सफल देखिन्छन्।

रहस्यमय वातावरण निर्माण गरेर दर्शकको मनमा अब के होला भन्ने भावको निर्माण गराउन सक्नु अनि डरलाग्दो वातावरण निर्माण गरेर बेलाबखत झसङ्ग बनाउन सक्नु पनि सफलता नै हो फिल्मको। अर्को गजब पक्ष फिल्ममा प्रयोग भएको गीत हो। गीतले कथाको लयलाई बिगारेको छैन, बलियो बनाएको छ। नेपाली फिल्ममा यो पनि उपलब्धि नै हो।

कमजोरी

फिल्म नेपालमा फैलिएको महामारीसँग लगेर जोडिएको छ। भोलाराजको पात्रले रानीलाई दादुरासँग लगेर जोडेका छन्। रानीलाई दादुरा लागेपछि राजाले शीतला देवीको मन्दिर बनाएर पूजा गरेपछि रोग निको भएको प्रसङ्ग ल्याएका छन्।

उनको यो दाबीलाई इतिहासको तथ्यमा लगेर जोड्दा रोग निस्कियो बिफर। अनि राजा निस्किए रणबहादुर शाह। दादुरा हैन, बिफर लागेकी रानी हुन् रणबहादुरकी रानी कान्तवती। रोग निको भएपछि दादुराले अनुहार बिग्रिएको पीरमा उनले आत्महत्या गरेको इतिहास कतै छैन।

बरु बिफरबाट उनको मृत्यु भएको उल्लेख छ। मृत्यु भएको रोगबारे इतिहासकारबीच भिन्न मत देखिन्छ। कसैले बिफर नभई क्षयरोगका कारण मृत्यु भएको उल्लेख गरेका छन्।

उनको छोरा गिर्वाणुलाई रोग नलागोस् भनेर रणबहादुरले उपत्यकामा रहेका बालबालिकाहरूलाई उपत्यका कटाएर लखेटेनन् मात्र प्रिय रानीको मृत्युबाट बौलाहा समान भएर गर्नुसम्म उपद्रो गरेको इतिहासका दस्तावेजहरूमा टन्नै विवरणहरू संरक्षित छन्। राजाले 'शीतला माजु' भनिने शीतला देवीको मन्दिर बनाएको कुनै इतिहासमा उल्लेख छैन। बरु बौलाहा बनेका राजा रणबहादुरले मूर्तिहरूको नाकै काटिदिएकोसम्म इतिहासमा उल्लेख छ।

'शीतला माजु' भनिने उक्त देवीको मूर्ति भक्तपुरको हनुमानघाटमा छ। नेपालमा बिफर रोग आउनु अगाडि नै मूख्यतः नेवार समुदायले रोगबाट जोगिन 'शीतला माजु'को पूजा गर्ने गरेको इतिहासमा भेटिन्छ।

बिफर १७ औँ हैन १८ औँ शताब्दीको प्रकोप हो। दादुरा त त्यसपछि आएको हो। १९७५ मा आएर नेपालमा बिफर उन्मुलन भयो। तर दादुरा अहिले पनि उन्मुलन हुन सकेको छैन।

फिल्ममा काल्पनिक कथा प्रयोग गरेको हो भन्न पनि सकिएला। तर प्रकोपको इतिहास उल्लेख गर्दा प्रयोग भएका नाम र घटनाक्रम गलत प्रयोग गर्ने छुट हुन्न। त्यसले भ्रम फैलाउँछ। इतिहासबारे फिल्मले भ्रम फैलाउने हैन, बुझाउने हो।

फिल्ममा राखिएको प्रसङ्गले पटकथाकार अभितेन्द्र र अनुराग प्रधान इतिहासबारे जानकार हुँदाहुँदै त्यसलाई काल्पनिक बनाएको विश्वास गर्ने आधार देखिँदैन। यदि त्यसो हो भने उनीहरूले जानाजान इतिहासबारे भ्रम फैलाउने अपराध गरेका छन्। अन्जानमा प्रसङ्ग राखेको हो भने इतिहासको अध्ययनमा खेलाँची गरेको देखियो।

रोगसँग परम्परागत मान्यता र ऐतिहासिक प्रसङ्ग मिसाए सँगै विज्ञानको विषय पनि प्रवेश गराइएको छ फिल्ममा। तर रोग नियन्त्रणका लागि विज्ञानको आधारमा के प्रयास भयो कतै खुल्दैन। चिकित्सक आएर रोगबारे हेरेकोसम्म देखिन्न। अर्को समस्या फिल्मले दृश्यको माग गर्ने स्थानहरूमा संवादबाट काम चलाइएको छ।

नेपाली मिथकहरुको प्रयोग गरिएको फिल्मका केही महत्त्वपूर्ण पक्षहरू नै नेपाली परम्परा र मान्यता अनुसारका छैनन्। सबैभन्दा ठूलो समस्या हो उइजा बोर्ड गेमको प्रयोग। १९ औँ शताब्दीमा अमेरिकामा जन्मिएको यो खेल प्रेतात्मासँग संवाद गर्न प्रयोग हुने विश्वास गरिन्छ। यसलाई नकारात्मक ऊर्जाको रूपमा हेरिन्छ। अहिले यसलाई माइन्ड प्रसेसको परीक्षण गर्ने खेलको रूपमा पनि लिइन्छ।

तर यो नेपाली समाजमा त्यति भिजेको खेल हैन। प्राय हलिउडका यस्तै भूतप्रेतमा आधारित फिल्ममा यसको प्रयोग भएको देखिन्छ। नेपाली तन्त्र विधामा उइजा बोर्डको प्रयोगले लेखक र निर्देशकमा कि नेपाली परम्परागत खेलको ज्ञानको कमी देखियो कि चलिहाल्छ नि भनेर खेलाँची गरेको देखियो।

अदृश्य शक्तिलाई खेलसँग ल्याएर जोड्न कुनै न कुनै माध्यम त चाहिन्थ्यो, त्यसैले उइजा बोर्डको प्रयोग भयो होला भनेर मान्ने हो भने नेपालमा पनि त्यस्ता खेल र मिथक थिए नै। उदाहरणका लागि राजा जयप्रकाश मल्लले देवीसँग पासा खेल्ने गरेको र राजा देवीको सुन्दरताबाट मोहित भएर यौन सम्बन्धका लागि लालायित भएपछि रिसाएकी देवी अलप भएको ऐतिहासिक प्रसङ्ग छ नै। यसलाई पटकथाको आवश्यकता अनुसार देवीको ठाउँमा दानव बनाउन सक्ने अवस्था असम्भव हो र!

हरेक समाजमा भूत, प्रेत, पिशाच लगायतका नकारात्मक पात्रहरू हुन्छन् भन्ने मान्यता छ। ती बाल्यकालमा डराउन प्रयोग हुने 'सुतेनौ भने बुजि आउँछ, एक्लै हिँड्न हुन्न भूतले लान्छ, किचकन्नी यस्तो, राक्षस उस्तो' जस्ता शब्द सँगै कथा, फिल्मले मष्तिष्कमा दृष्यसहित प्रभाव परेको हुन्छ।

समाज अनुसार तिनीहरूको स्वरूप पनि अलग-अलग हुन्छ। नेपाली समाजमा जोडिने यस्ता मान्यतासँग जोड्ने हो भने भूत प्रेत, मसान, पिशाच, डाकिनी, साकिनी भनिन्छ। 

तर फिल्म 'खेल'मा ख्याक, या भूत या प्रेत आउँदैनन्, डेमोन आउँछ। अब उइजा बोर्ड प्रयोग गर्दा नेपाली भूत नआएर अमेरिकी लगायत पश्चिमा समाजले विश्वास गर्ने उतैको डेमोन आउने भए अलग कुरा, नत्र अहिलेको जेनजी पुस्तामा पनि भिजेको नेपाली भूत नै हो, डेमोन हैन।

दिमागमा जे डर र त्रासको छायाँ बसेको हुन्छ डर लगाउने त्यसैले हो। त्यसैले नेपाली दर्शक डेमोनसँग हैन भूत, प्रेत, ख्याक, किचकन्नीसँग हो तर्सने। 

अर्को समस्या भूत-प्रेत अनि मसान लाग्दा नेपाली सँस्कारमा पानी छर्किने परम्परा त देखिँदैन। यता त चामलको गेडाले हान्छन्, धामी बकाउँछन्, मसानमा राखेर आत्मा बोलाएर कमाउँछन्।  

तर फिल्म 'खेल'को अदृश्य डरलाग्दो पात्रको प्रभाव भगाउन प्रयोग भएको शैली नेपाली समाज भन्दा इसाई समाजमा भिजेको शैली प्रयोग भएको देखियो।

अन्तर्राष्ट्रिय दर्शक वा अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल लक्षित गरेर निर्माण गरिने फिल्महरूमा छ्यास्सछुस्स यस्ता  नेपाली समाजको मान्यता र परम्पराभन्दा भिन्न दृश्य राखिएका देखिन्छन् नै। उताका दर्शक वा जुरी रिझाउन उनीहरूले बुझ्ने संस्कार वा संस्कृति छुस्स घुसाउने समस्या हो यो। 

‘खेल’ को चर्चा हुँदा नै यो नेटफ्लिक्समा राख्न निर्माण गरिएको सिरिज भनिएको थियो। सिरिज देखाउँदा नेपाली भूत बुझ्दैनन् भनेर डेमोन बनाएको जस्तो देखियो। फिल्म नेटफ्लिक्समा छनौट भएन , अनि नेपालका हलमा लाग्यो भूत अनि ख्याकहरूको ठाउँमा डेमोन बोकेर। यसले फिल्मलाई पुरै किरकिर बनायो।

फिल्म ‘खेल’ को पहिलो हाफको स्क्रिनप्ले निकै सुस्त गतिमा अगाडि बढ्छ। फिल्मको गति र ब्याक ग्राउन्ड म्युजिकले हरर फिल्मलाई निकै बलियो बनाउँछन्। अब के हुन्छ भनेर दर्शकको ध्यान पुरै पर्दामा केन्द्रित गराउन सक्यो भने मसिना दृश्य र म्युजिकले पनि झसङ्ग बनाउँछ। स्क्रिनप्ले सुस्त हुँदा दर्शकको ध्यान पर्दाबाट विकेन्द्रित हुने जोखिम बढ्छ। यसले प्रभाव पार्ने दृश्यले पनि झसङ्ग बनाउँदैन। 

यसले हलमा अपवाद दर्शकबाट आबुई भन्यो भने अधिकांशबाट ‘हँ, के आयो’ भन्ने पाराको प्रतिक्रिया आउन सक्छ। पहिलो हाफका केही दृश्य तर्साउन बलिया थिए। तर सुस्त गतिले अधिकांश दर्शकको प्रतिक्रिया ‘ हँ के आयो’ पाराको थियो।

दोस्रो हाफमा भने मजाले पिक लिन्छ। तर अब के हुन्छ भनेर दर्शक पुरै उत्सुक भइरहेको बेलामा फ्यास्स फिल्म सकिन्छ। क्लाइमेक्स झुर देखियो। 

नेपाली फिल्म, अझ हरर, सस्पेन्स अनि थ्रीलर हेर्दा डराउने, तर्सिने हैन उल्टो दर्शक हँसाउने कमेडी पाराका बन्ने गरेका थिए। त्यसको तुलनामा 'खेल' निकै बलियो  देखिन्छ। त्यसमा छायाङ्कन, कलरटोन, भिएफएक्सको उचित प्रयोग,ब्याक ग्राउन्ड म्युजिक अनि कथ्य संरचनासँगै कलाकारको अभिनयले नेपालमा निकै कमजोर यो जनरालाई बलियो रूपमा अगाडि बढाउने प्रयास गरेको छ। फिल्म खेलको सबैभन्दा सकारात्मक पक्ष यही नै हो।

वैशाख १४, २०८२ आइतबार १३:२४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।