मेटा दर्ता नहुनुको कारण खोज्न सांसद शाहको माग

मेटा दर्ता नहुनुको कारण खोज्न सांसद शाहको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मेटालाई सात दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिई समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेको छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले कानुनमा भएका उल्झनलाई समाधान नगरी चेतावनी दिनु लज्जास्पद भएको बताएका हुन् ।

‘हाल फेसबुक बन्द हुने की नहुने  भन्ने चर्चा अलिकति धेरै नै  व्यापक छ । तर मुख्य कुरा प्रष्ट छ मेटा नेपालमा दर्ता हुनैपर्छ । आज फेसबुक, मेसेन्जर सबै सामाजिक सञ्जाल  नेपाली जनताको सञ्चार,चाहना, उद्योग र अभिव्यक्तिको आधार बनेको छ । त्यसैले  मेटालाई नेपालमा दर्ता गराउनुपर्छ । विदेशी कम्पनिहरूले नेपालको  कानुन र नीतिलाई सम्मान गर्नुपर्छ  भन्ने कुरामा कुनै पनि दुईमत छैन । तर हाम्रो  कानुन र नीतिमै उल्झनहरू छन् भने सो को समाधान नगरी चेतावनी मात्रै दिने हो भने त्यो लाजमर्दो हुन्छ,’ उनले भने, ‘मेटा अन्य देशमा दर्ता भइरहँदा नेपालमा किन तर्किरहेको छ । यसको गहिरो छानबिन होस् । यो मेटासँगको वर्ता केवल कम्पनीसँगको मात्रै वार्ता होइन यो त सिंगो  नेपालको  डिजिटल भविष्य बारे अन्तर्राष्ट्रिय जगतलाई दिने सन्देश हो । त्यसैले सरकारले संयमता, गम्भीरता र कूटनीतिक कौसल प्रदर्शन गरोस् । एक दिन सात दिनको धम्की शैली त्यागेर दीर्घकालिन सोच र व्यवहारिक उपाय अगाडि सारोस् । डिजिटल युगलाई अपनाउने हो भने युगसँगै  सिक्नुपर्छ  युगलाई तर्साएर होइन ।’ 


साथै उनले सरकारले धम्की दिएर होइन, समाधानको बाटो खोजेर मेटालाई नेपालमा दर्ता गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । केही दिन अघि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा ७ दिनभित्र नेपालमा दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए ।

वैशाख १४, २०८२ आइतबार १३:१४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।