संवेदना सन्देशमा ‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गर्न माग

संवेदना सन्देशमा ‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गर्न माग

काठमाडौं : एमालेका सांसद ठाकुर गैरेले ज्ञानेन्द्र शाहलाई कारबाही गर्न माग गरेका छन्।

आइतबार प्रतिनिधिसभामा बोल्दै उनले नेपालको संविधान र अहिलेको व्यवस्थामा ‘श्री ५’ नभएको अवस्थामा पूर्वराजा शाहको सचिवालयले शनिबार जारी गरेको एक संवेदना सन्देशमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाहीको माग गरेका हुन्। 

‘हिजो अत्यन्त लज्जास्पाद र संविधान विपरितको एउटा वक्तव्य आयो, डा.फणिराज पाठक, संवाद सचिवका नामबाट वक्तव्य प्रकाशित भयो। त्यसको हेडलाइनमा लेखिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव’बाट बक्सेको समवेदना सन्देश। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु– नेपालको संविधान र आजको व्यवस्थापमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव  भन्ने कहाँ छ ?,’ उनले प्रश्न गरे।

उनले संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न नपाइने भन्दै आक्रोश पोखे। ‘यो लेख्न कसरी सकिन्छ, यस्तो लेख्न कसरी सम्भव भयो? संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन ? त्यसो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन? संवाद सचिव नाम रहेका फणिराज पाठक र समवेदना बक्सने ज्ञानेन्द्रवीर विक्रम शाहलाई नेपालको संविधान बमोजिम तत्काल कारबाही गरियोस् भन्ने कुरा म यो सदनमा ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने।

पूर्वराजा शाहले शनिबार कश्मीर घटनाप्रति समवेदना वक्तव्य जारी गरेका थिए जसमा श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव लेखिएको थियो।

वैशाख १४, २०८२ आइतबार १२:५१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।