धर्मश्री विजेता दुई सन्तानकी आमा ताराको अनुभव : जसले जे सुकै भनोस्, एक घण्टा मात्र भए पनि आफ्नो शरीरलाई समय दिनु'

धर्मश्री विजेता दुई सन्तानकी आमा ताराको अनुभव : जसले जे सुकै भनोस्, एक घण्टा मात्र भए पनि आफ्नो शरीरलाई समय दिनु'
तस्बिर : दिपेश श्रेष्ठ

बुवा ड्राइभर। घरभन्दा बाहिरको समय बढी। डेढ वर्षीय तारा सुवाल हजुरआमाको काखमा लडीबुडी गर्दै हुर्किरहेकी थिइन्। एकदिन, मलेखुकी एक तामाङ महिला उनकी ‘नयाँ आमा’ बनेर घर पसिन्। त्यसपछि ताराकी आमा चुपचाप घर छोडेर हिँडिन्। 

नयाँ आमाले तारा र उनका दुई दाजुभाइलाई आफ्नै सन्तानझैँ माया गरिन्। बाल्यकालमा हराएको आमाको काख पुनः फर्कियो। तारा आठ कक्षामा पुग्दा, बाबुले फेरि अर्की श्रीमती ल्याए। तामाङनी आमाले सहन सकिनन्- घर छोड्ने निधो गरिन्।

बाल्यकालमा जन्माउने आमा रोक्न सकेनन्। तर तारा र उनका दाजु भाइहरूले हुर्काउने आमालाई रोक्न अनेक प्रयास गरे, आँसु बगाए, हात समाए। तर आमालाई फेरि कहिल्यै देख्न पाएनन्।

‘आमा भनेर उहाँलाई नै  चिनेकी थिएँ,’ तारा भन्छिन्, ‘तर उहाँ पनि छोडेर जानुभयो। श्रीमानले साथ नदिएपछि एक मनले लाग्यो होला-नजन्माएका छोराछोरीले के सम्झन्छन् र? अनि हामीले फेरि एक पटक आमाको साथ गुमायौँ।’

आज पनि आमालाई सम्झिँदा तारा भक्कानिन्छिन्, अभागी ठान्छिन्। तर विवाहपछि सासूको रूपमा आमा पाइन्। सासूको  मायालु अनुहार सम्झँदा खुसीका आँसु बग्छन् उनको। जुन माया बाल्यकालमा हरायो, त्यो माया उनले सासू आमाबाट पाएकोमा गर्व गर्छिन्।

विवाहपछि उनको लक्ष्य पनि बदलियो। उनले नयाँ परिचय बनाइन् 'पहिलो धर्मश्रीको स्वर्ण विजेता। ताराले एक महिना अघि मात्र पहिलो महिला बडी बिल्डिङतर्फ स्वर्ण जितेकी हुन्। बडी बिल्डिङ सम्बन्धी धेरै प्रतियोगिता भए पनि महिलाको लागि धर्मश्री भएको थिएन।

पहिलो पटक महिलाका लागि पनि धर्मश्री भयो। लगातार दुई महिनाको मिहिनेतपछि उनी उपाधि जित्न सफल भइन्। उनका लागि यो नचिताएको सफलता थियो। 'छोरी' हुँदा असम्भव लाग्ने करिअर 'बुहारी' बनेपछि पुरा भएकोमा उनी निकै खुसी छिन्।

घरको एक्ली बुहारी अनि दुई सन्तानकी आमा तारा खानपान व्यवस्थापनमै सबैभन्दा बढी झन्झट हुने बताउँछिन्। एक्लैले २०/२५ वटा अण्डा खानुपर्दा उनको मन अमिलो हुने गर्दो रैछ। 

‘हाम्रो समाज अझै पनि फराकिलो मनले सोच्न सक्ने भइसकेको छैन। त्यसमाथि ‘बुहारी’ जो खेत र भान्सासम्म सीमित हुने चलन छ। यस्तोमा ‘बिकिनी लगाएर स्टेजमा उभिने बुहारी’ भन्ने कुरा त कल्पना बाहिरकै लाग्छ। जिम त केटा मात्र जाने ठाउँ हो भन्ने बुझाइ छ,’ तारा भन्छिन्। यद्यपि पहिलेको तुलनामा अहिले सोचाइमा केही फरक आएको उनले महसुस गरेकी छन्।

OOO

घरमा बाबुले आमा बदलिइरहने। पढ्दै काम गर्नु बाहेक उनीसँग विकल्प थिएन। उनले जसोतसो एसएलसी भने पास गरिन्। घरमै सानो खाजा पसल थियो। त्यहीँ उनले धेरै समय बित्यो। उनी कान्छी भएकाले दाजु-दिदीभन्दा अलि बढी माया भने पाइन्।

बुबाले सानोमा 'छोरा' भनेर कपाल काटिदिन्थे, रूखो बनाइदिन्थे। तर तारा सानैदेखि चुलबुले र नक्कल गर्न मन पराउने स्वभावकी थिइन्। उनी बाबुले काटिदिएको ठुटे कपालमा पनि लुकेर क्लिप लगाउँथिन्। मौका छोपेर तेक्वान्दो खेल्थिन्। एसएलसीपछि थप पढ्ने वातावरण बनेन।

त्यस समय टोपी र पन्जा बुन्ने लहर चलेको थियो। उनी घण्टाको २० रुपैयाँका दरले महिनामा १५ सय कमाउँथिन् यही काम गरे।

कामकैक्रममा चिनेको एक साथीले साथी जिम र एरोबिक्सबारे सुनाइन्। उनी व्यायामशाला जान थालिन्। भक्तपुरको पुरानोमध्ये त्यही व्यायामशालामा भावी श्रीमानसँग पनि भेट भयो उनको।

'मेरो ससुरा बुवा नेपाली फिल्ममा फाइटर हुनुहुन्थ्यो,' तारा सम्झिन्छिन्, 'त्यही भएर आफ्नै घरमा जिम खोल्नु भएको रहेछ। उहाँ त देवता फिल्मदेखि नै नेपाली फिल्म क्षेत्रमा हुनुहुन्छ। उहाँ सुटिङमा व्यस्त हुनुभयो भनेपछि श्रीमानले नै सबै हेर्न थाल्नुभयो।'

व्यायामशालामा पहिलो पटक जाँदा औँलामा गन्न सकिने महिला मात्र थिए रे। सात महिना जिम गरिन्। त्यो बेलामा मन पनि साटियो। तारा र उनका तत्कालीन प्रेमीले विवाह गर्ने निर्णय गरे। एकदिन काममा जान्छु भनेर निस्केकी तारा सिधै श्रीमानको घर पुगिन्। 

'सासू आमाले एउटा मात्र छोरा हो, घरमै लिन आउँछु भन्नुभयो। तर त्यतिबेला मेरो पारिवारिक माहौल नै त्यस्तो थियो,' तारा सुनाउँछिन्, 'नयाँ आमा आएपछि घरमा सधैँ किचकिच हुन थाल्यो। मैले श्रीमानलाई सबै कुरा बताएकी थिएँ। त्यसपछि म घर फर्किइन। उहाँहरूले मलाई खोज्नु पनि भएन।'

एक हिसाबले उनीहरूले भागेर विवाह गरे। त्यसपछि आमाबुबाले कहिल्यै भेट्न खोजेनन्। दाजुभाउजु एक पटक भेट्न आए। तर अहिले माइतीमा नियमित आवतजावत छ उनको। तर विवाहपछि तारा जसरी माया पाएकी छन्, त्यो उनको कल्पनाभन्दा बाहिरको कुरा रहेछ।

पहिला विवाह गर्ने पक्षमा थिइनन् तारा। तर अहिले विवाह गर्ने निर्णयलाई सबैभन्दा राम्रो भन्छिन् उनी। विवाहपछि उनी 'बुहारी' को भूमिकामा मात्र खुम्चिएर बस्नु परेन। श्रीमानको साथ र समर्थन सधैँ पाइन्। 

'सानोमा दुःख पाएकाले होला, अहिले यति धेरै माया पाएकी छु,' उनी भन्छिन्, 'यहाँको आमाबुबा त लक्ष्मीनारायण जस्तै हुनुहुन्छ। यस्तो माया मैले पाउनेछु भनेर कहिल्यै सोचेकी थिइन,' भन्दै उनी भावुक भइन्।

OOO

उनी जिममै रमाइरहेकी थिइन्। तर विवाहपछि सन्तानको दबाब सुरु हुने नै भयो। उनी गर्भवती पनि भइन्। तर पहिलो सन्तान सुख लामो समय गएन।

'श्रीमान्-श्रीमतीको समझदारीमा अलिक पछि सन्तानबारे सोच्ने तयारी थियो। तर छिमेकी र आफन्तले 'तिम्रो बुहारीले अझै पेट बोकेको छैन?' भनेर घरमा आमाबाबालाई भन्न थालिसकेका रहेछन्,' उनले भनिन्  'नेवार समुदायमा बिहे भएको छ महिनाभित्रै बच्चा जन्माउनु पर्ने जस्तै मानसिकता  हुने रहेछ। त्यसैले तयारीमा लाग्यौँ।'

बिहे भएको करिब नौ महिनापछि उनी गर्भवती भइन्। सबै कुरा राम्रै भइरहेको थियो। गर्भावस्थाका नौ महिना पनि निकै रमाइला भए उनको। पहिलो सन्तान चार किलोको थियो। सहजै जन्मियो। तर जन्मजात मुटुमा समस्या रहेछ।श्वासप्रश्वासमा पनि समस्या देखियो। उनले अनुहारसम्म हेर्न पाइनन्। सुत्केरी भएर घर फर्किँदा उनी रित्तै थिइन्।

'त्यो बेलामा दूध धेरै बग्थ्यो, तर खाने कोही थिएन। पूरै दूध गन्हाएर मलाई पछिसम्म गाह्रो भयो,' उनले पीडादायी अनुभव सुनाइन् 'मानसिक रूपमा म कस्तो अवस्थामा थिएँ भन्न पनि सक्दिनँ। म मात्र होइन, श्रीमान् र घरका सबैजना अर्कै भइसकेका थियौँ।'

त्यस्तो अवस्थामा समाजले साथ दिनुपर्ने हो नि। तर उल्टो भयो। उनी सामाजिक रूपमा बहिष्कार जस्तै भइन्। टोलमै बस्न गाह्रो भयो उनलाई। 'यो बच्चा खेर गएको मान्छे, यसको छाया हाम्रो बच्चामा पर्न दिनु हुँदैन' भनेर मलाई बच्चाको नजिक समेत पर्न दिएनन् टोलमा।

'त्यसबेला पनि  सासूआमाले मेरो स्याहारमा कुनै कमी गर्नु भएन। सन्तान नभएकी सुत्केरी बुहारीलाई उहाँले त्यसबेला जसरी स्याहार्नुभयो, अहिले सम्झिँदा म आफैँ दङ्ग पर्छु' उनले अनुभव सुनाइन्।

दिमागमा धेरै कुरा आउन नदिन उनी काममै व्यस्त हुन थालिन्। उता डाक्टरसँग पनि परामर्शमै थिइन् उनी। डाक्टरले रगत अलि फोहोर भएकाले समस्या आएको भन्दै कम्तीमा डेढ वर्षपछि मात्र अर्को सन्तानको तयारी गर्न भने।

त्यो समयमा उनी समेत अर्को सन्तानका लागि मानसिक रूपमा तयार थिइनन्। उनी जिममै व्यस्त भइन्। त्यो बेलामा  प्रतिस्पर्धा भन्दा पनि शारीरिक स्वास्थ्य प्राथमिकतामा थियो। जिममा कसरत गर्न गाह्रो लागे कोठामै सामान ल्याएर पनि गर्थिन् उनी।

टोलमा 'अब त तिम्रो बुहारीको बच्चा हुँदैन कि क्या हो!' सम्म भन्न थाले। तै पनि उनको सासूले कहिल्यै नराम्रो भनिनन् उनलाई। जे सुने  पनि घरमा त्यसको प्रभाव परेन। डेढ वर्षपछि फेरि गर्भ पनि रह्यो उनको। 

'यसपटक हामी कुनै किसिमको जोखिम मोल्ने पक्षमा थिएनौँ। स्वाभाविक रूपमा हामी बढी संवेदनशील थियौँ। बच्चा जन्माउँदा के गाह्रो हुन्छ भन्ने पनि थाहा भएन। आमाले भन्नुहुन्थ्यो- 'पानीको फोका फुटेर आउँछ, अनि कम्मर बेस्सरी दुख्छ' उनले सुनाइन् 'दोस्रो गर्भावस्थामा हामी निकै सतर्क भयौँ। सबै राम्रो पनि भयो। तुलनात्मक रूपमा बच्चा जन्माउन त्यति कठिन पनि भएन। बाबु चार किलोकै थियो। स्वस्थ पनि भयो। अलि बढी कसरत गरेको हुनाले होला। बाबु पाउँदा त्यस्तो केही समस्या भएन।'

पहिले पटक दुर्घटनाका कारण स्तनपान गराउन पाइनन् उनले। दोस्रो पटक बाबुलाई राम्रोसँग स्तनपान गराइन्।  जबसम्म स्तनपान गराइरहेकी थिइन् पिरियड भएको थिएन। स्तनपान बन्द गरेपछि पिरियड हुन थाल्यो।

'पहिलो सन्तान दुई वर्षको भएपछि फेरि अर्को सन्तान चाहियो भन्न थाले। पहिलो बाबु चार वर्षको हुँदा अर्को बाबु पनि जन्माएँ' उनले भनिन्।

सानो बाबु डेढ वर्षको हुँदा उनको तौल अस्वाभाविक रूपमा बढ्यो। श्रीमानले जिम जान भनेपछि उनी मक्ख परेर व्यायामशाला आइन्।केही समय अघिसम्म उनी छोरीको रूपमा तेस्रो सन्तान चाहन्थिन्। तर अब अर्को सन्तानको पक्षमा छैनन् उनी।

उनका दुवै सन्तान हजुरबा र हजुरआमाकै काखमा हुर्किए। हजुरआमा र हजुरबुबा नभए मात्र आमा-बाबा खोज्थे। पहिलो पटक बाबुहरूले  'आमा' भनेको सुन्दा उनी निकै भावुक भएकी थिइन्।

'उनीहरूले मलाई 'आमा' भनेको सुन्दा म आफैँले आमा पाएको जस्तो महसुस गरेकी थिएँ' उनले सुनाइन् ' मैले जुन कमी महसुस गरेँ, त्यो उनीहरूले नगरुन् भनेर सधैँ सचेत रहन्छु। शायद त्यसैले पनि उनीहरूले हजुरआमाको माया भरपुर पाए। बिहे भएपछि र आमा भएपछि मैले अर्को जुनी पाएको जस्तो महसुस भयो।'

OOO

सासूले सन्तान हेरेपछि उनी ढुक्कसँग व्यायाममा लागिन्। श्रीमानले नै उनलाई अब प्रतियोगितामा भाग लिने भनेर सिकाउन थाले। 

प्रतियोगितामा भाग लिन अनि तयारी गर्न समस्या थिएन। तर जिममा कट्टु लगाएर अभ्यास गर्दा त रातोपिरो हुने समयमा प्रतियोगितामा स्टेजमै टु-पिस लगाएर जानुपर्ने। यो चैँ ठूलो समस्या थियो उनलाई। 

'जिम गर्ने ठाउँमा कट्टुमा हुन्थेँ म। बुवा आउनुभयो भने लाज लाग्थ्यो, त्यसैले सबै जना गएपछि मात्र प्राक्टिस गर्थेँ। उहाँ (श्रीमान्) ले नै जज गर्नुहुन्थ्यो,' प्रतियोगिताको तयारीको सम्झना सुनाउँदै उनले भनिन् 'सबै राम्रो तयारी भयो, तर भक्तपुरमा बिकिनी लगाउनु परेन। तल हाफ स्ल्याक्स  लगाएँ, माथि स्पोर्ट्स ब्रा भइहाल्यो।'

पहिलो पटक स्टेज चढ्दा उनले अगाडि कसैलाई पनि देखिनन् रे। रातो पिरो भइन्। तर कानमा भने श्रीमानको आवाज गुन्जिरह्यो -'जस्तो आउँछ, त्यस्तै गर। तिमी स्टेजमा उभिनु नै ठूलो कुरा हो।'

त्यो उनको पहिलो प्रतियोगिता थियो। पाँचौँ स्थान हासिल गरिन्। त्यसपछि भने मनोबल बढ्दै गयो। उनले प्रतियोगिताको दायरा बढाउँदै लगिन्। त्यसैको परिणाम अहिले उनी धर्मश्री विजेता भइन्।  धर्मश्री जितेसँगै उनको चर्चा देशभरै छ। तर टोलमा निकै चर्चा  सुन्दा नै मक्ख छिन् उनी।

अहिले उनी त्यही जिममा एरोबिक र जुम्बा सिकाउँछिन् जहाँबाट उनले सुरुवात गरेकी थिइन्। उनलाई देखेर धेरै महिलाहरू शारीरिक कसरत गर्न आउँछन्। 

​​​​​​​अब उनी दसौँ राष्ट्रिय खेलमा सहभागी हुने तयारीमा छिन्। बडी बिल्डिङमा सरकारको खासै चासो देखिँदैन। तै पनि कसैले कसैको लागि होइन, आफ्नै लागि कम्तीमा एक घण्टा समय दिनुपर्छ भन्ने उनी सुझाव दिन्छिन्।

'म कुनै समय सामाजिक बहिष्कार परेकी ‘बुहारी’। मैले सकेँ भने तपाईँले पनि सक्नुहुन्छ। जसले जे सुकै भनोस् एक घण्टा मात्र भए पनि आफ्नो शरीरलाई समय दिनुस्,' उनले भनिन्।

वैशाख १४, २०८२ आइतबार ११:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।