चार वर्षमै आमा गुमाएपछि मैले जन्मभूमिलाई नै आमाको प्रतिरूप मानेँ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मातातीर्थ औँसीको अवसरमा आमाप्रति श्रद्धा व्यक्त गर्दै शुभकामना सन्देश दिएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै आफूले जन्मभूमिलाई नै आमाको प्रतिरूपको रूपमा अनुभव गरेको बताएका छन्।
शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्- ‘मेरो स्मृतिमा आमाको अनुहार स्पष्ट छैन, किनकि चार वर्षको उमेरमा नै मैले आमाको न्यानो काख गुमाएको थिएँ। त्यसैले, मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बनेको छ।’
उनले आफूलाई बचपनमा आमाको अभाव महसुस भएको भन्दै आमाको अनुहार धमिलो सम्झनामा मात्र आउने बताएका छन्।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन हो। यस पावन अवसरमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु। आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुन्। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्।’
वैशाख १४, २०८२ आइतबार ०९:०७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।