भाग्यकै भरमा हो त ‘ऊनको स्वीटर’ टिम !

भाग्यकै भरमा हो त ‘ऊनको स्वीटर’ टिम !

काठमाडौँ : फिल्मको निर्माण टिममा अनेक भूमिकामा रहेकाहरू हुन्छन् नै। जिम्मेवारी अनुसार लेखन, सम्पादन, अभिनय, छायाङ्कन, साउन्ड मिक्सिङ आदी-आदी।

पछिल्लो समय ‘स्क्रिप्ट डक्टर’ पनि देखिन थालेको थियो। स्क्रिप्टको उपचार गर्न राखिने यस्ता डक्टरबाट फिल्मको व्यापारिक आयु चेट हुन थालेपछि पछिल्लो समय आएका फिल्ममा भने देखिन छाड्यो यो।

निर्माणको घोषणादेखि ट्रेलर अनि ‘काफ्ले गीत’ ले बजार पिटिरहेको फिल्म  ‘ऊनको स्वीटर’ को क्रेडिट लाइनमा प्राय फिल्म निर्माणको टिममा नदेखिने क्रेडिट लाइन देखियो एस्ट्रोलोजी कन्सल्टेन्ट अर्थात् ज्योतिष परामर्शदाता।

अहो यो टिम त पुरै ज्योतिषतिर पनि लागेको देखियो। कर्ममा भन्दा भाग्यमा भर!

अहिलेसम्म सार्वजनिक यो फिल्मको प्रचार सामग्री, कलाकारहरूको अन्तर्वार्ता लगायतले फिल्म अन्तर्जातीय प्रेममा केन्द्रित रहेको देखिन्छ। गीत होस् या ट्रेलर नै होस् विपिन कार्की र मिरुना मगरको लयात्मक प्रेम देखिएको छ। यसमा अन्य कहलिएका कलाकारहरू भए पनि अहिले यी दुवै हाबी छन् प्रचारमा।

काफ्ले गीत आएपछि भने गायिका झुमा देवान निकै व्यस्त भएकी छिन् अन्तर्वार्तामा। गीत पनि भाइरलै भयो। यसले कुनै न कुनै रूपमा फिल्मको प्रचारमा सहयोग पुग्छ नै।

यी सबै क्रमले फिल्मको कर्म नै बलियो देखिन्छ। कर्म बलियो हुँदाहुँदै नि ज्योतिषको भर पनि परेको देखियो। ज्योतिष फिल्म निर्माणमा संलग्नै गराउन नहुने पक्ष पनि हैन। तर फिल्ममा ग्रह दशा भन्दा बलियो फिल्म निर्माणको प्रक्रिया र प्रस्तुति र गुणस्तर बलियो हुन आवश्यक देखिन्छ।

नत्र यहाँ ज्योतिष त्यो पनि अति चर्चित र धेरैले पत्याएकाले नै बनाएका दुई-दुई फिल्म यसरी किन फ्लप हुन्थे र!

तर सत्य के हो भने अहिलेसम्मका सार्वजनिक सामग्री हेर्दा ऊनको स्वीटर प्रेम विषयमा बनेको लयालु फिल्म देखिन्छ। अब हलमा दर्शक आउँछन् कि आउँदैनन् त्यो त फिल्मको निर्माण टिममै रहेका ज्योतिष परामर्शदाताले भनेकै होलान् !  

वैशाख १३, २०८२ शनिबार २३:४६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।