११ औँ खेलसम्म अपराजित रहँदै एनएसएलको उपाधि जोगायो ललितपुरले

११ औँ खेलसम्म अपराजित रहँदै एनएसएलको उपाधि जोगायो ललितपुरले

काठमाडौं :  नेपाल सुपर लिगमा सहभागी ललितपुर सिटी एफसी लगातार दोस्रो पटक उपाधिको विजेता बन्यो। दोस्रो सिजनको उपाधि जितेको ललितपुरले तेस्रो सिजनको फाइनलमा पनि पोखरा थन्डर्सलाई २-१ गोलले पराजित गर्यो।

एनएसएलमा ललितपुर ११ खेलसम्मै अपराजित रह्यो। फाइनलको खेल एकतर्फी भने भएन, निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भयो। ललितपुरको तर्फबाट जितका लागि दुवै गोल विदेशी खेलाडीले गरे। इमोह इजाकियल र पापा इबाउ केबेको गोलले ललितपुरले उपाधि रक्षा गर्न सफल भयो।

खेलमा पोखराले पनि पटक पटक गोलको मौका निकालेको थियो। तर गोलमा परिणत हुनबाट चुक्यो।

पोखराका सुदिल राईले हानेको बल गोलमा बदलिएन। आइडोको फ्रि-किकमा स्टेफन समीर बिनोङको शक्तिशाली सट पनि पोस्ट नजिकैबाट बाहिरियो।

खेलको ४२ औँ मिनेटमा आएर ललितपुरका मनोज राईको क्रसलाई इमोह इजाकियलले गोलमा बदलेर अग्रता लिए। पहिलो हाफ १-० मै सकियो।

खेलको ६३ औँ मिनेटमा पोखराको तर्फबाट पदम भट्टराईको क्रसमा स्टेफन समीरले हेडरमार्फत गोल गरेर खेल बराबरीमा ल्याए।

७४ औँ मिनेटमा पापा इबाउले बक्सभित्रबाट सहज गोल गरेर पुन अग्रता लिए। यो नै खेलको अन्तिम नतिजा भयो। उपाधि विजेताले ८० लाख रुपैयाँ र उपविजेताले ३० लाख रुपैयाँ पुरस्कार पाए।

वैशाख १३, २०८२ शनिबार २३:०७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।