सहकारी ठगी मुद्दामा फरार कांग्रेस सांसद माया राई पक्राउ

सहकारी ठगी मुद्दामा फरार कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीमा फरार रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन्।  राईलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार बेलुका उनकै निवास कपनबाट पक्राउ गरेको हो।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको ठगीमा पक्राउ परेकी राईलाई कार्यालयले जिल्ला प्रहरी प्रहरी काठमाडौं  बुझाएको छ। 

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा प्रहरीले दुई महिनासम्मको अनुसन्धानपछि राईसहितको संलग्नता खुले पनि ठेगाना नखुलेको भन्दै राईलाई उन्मुक्ति दिएको थियो। प्रहरीले ठेगाना नखुलाएको ब्यक्ती कांग्रेसको समानुपातिक सांसद रहेको प्रमाण सार्वजनिक भएसँगै दबाबमा आएको प्रहरीले पुन अनुसन्धान शुरु गरेको थियो।

उनको नाममा पक्राउ पुर्जी जारी भए पनि सात महिनासम्म उनी पक्राउ परिनन्। तर उनी संसदमा गएर हाजिर गरेर तलब लिएकी थिइन्। संसद गएर हाजिर गर्दा पनि पक्राउ नपरेकी उनलाई शनिबार पक्राउ गरियो।

अनुसन्धानमा दुई अर्ब ६५ करोड हिनामिना भएको खुलेको स्वर्णलक्ष्मीमा राई सचिव थिइन्। प्रारम्भमा प्रहरीले उनी सहित ४४ जनाको नाममा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिए पनि जिल्ला अदालतमा मुद्दा दायर हुँदा ३९ जनालाई मात्र प्रतिवादी बनाइयो। अभियोगपत्रमा राईको नाम थिएन।

ठेगाना नखुलाइएको सांसद राई भोजपुरको रहेको र उनी कांग्रेस समानुपातिक सांसद रहेको खुलेपछि बल्ल उनलाई समेत सहकारी ठगीमा अनुसन्धानको दायरामा ल्याइएको थियो। 

वैशाख १३, २०८२ शनिबार २१:३९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।