नेपाल सधैं आतङ्कवादको विपक्षमा छ: परराष्ट्रमन्त्री डा. राणा

नेपाल सधैं आतङ्कवादको विपक्षमा छ: परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सधैं आतङ्कवादको विपक्षमा रहेको र कुनै पनि प्रकारको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन्।

भारतको काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा ज्यान गुमाउने व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आयोजित कार्यक्रममा उनले नेपालको दृढ स्थिति स्पष्ट पारेका हुन्।

‘नेपालले आतङ्कवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ। नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ,’ मन्त्री डा. राणाले भनिन्।

आतङ्कवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै उनले नेपाल आफ्नो भूमि कुनै पनि आतङ्कवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताविरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट पारिन। यसैले काश्मिरको पहलगाममा भएको आतङ्कवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भत्र्सना गरेको मन्त्री डा राणाले बताइन्।

उनले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको र आतङ्कवादविरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएको बताइन्।

वैशाख १३, २०८२ शनिबार १९:२८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।