दमकलको आवश्यकता लत्याएर सुनवल नगरपालिकाले किन्यो डेढ करोडमा दुई स्कार्पियो

बुटवल : नवलपरासीको सुनवल नगरपालिकाले एकै पटक दुई वटा स्कार्पियो खरिद गरेपछि नगरपालिकाको आलोचना भएको छ।
नगरबासीले अत्यावश्यक सवारी दमकलको आवश्यकताको महसुस गरिरहेका बेला नगरपालिकाले १ करोड २२ लाख रुपैयाँ खर्च गरेर दुई वटा स्कार्पियो खरिद गरेपछि विवाद चर्किएको हो।
विगतका वर्षहरूमा सुनवल क्षेत्रका विभिन्न स्थानहरूमा आगलागीका घटनाहरू भएका छन्, जहाँ दमकलको अभाव हुँदा छिमेकी नगरपालिकाबाट सहयोग माग्नुपरेको थियो। गत वर्षको माघ महिनामा सुनवल १२ भुमहीमा टायर गोदाममा भएको आगलागीमा बर्दघाट, रामग्राम र रुपन्देहीबाट दमकलको सहयोग लिनुपरेको थियो।
नगर प्रमुख बिमला अर्याल र अन्य जनप्रतिनिधिहरूले आगलागीको स्थलको निरीक्षण गर्दा दमकलको आवश्यकता भएको बताएका थिए। नगरवासिहरूले पनि सामाजिक सञ्जालमा दमकलको माग गर्दै ध्यान आकर्षण गराएपछि नगर प्रमुखले दमकल छिटै ल्याउने आश्वसन दिएका थिए। तर नगरपालिकामा दमकल आउनु त कता हो कता आश्चर्यजनक रूपमा दुई वटा स्कार्पियो गाडी खरिद गरिएको छ।
‘गाडी खरीद गर्नुभन्दा सामाजिक कार्यमा प्रयोग हुने एम्बुलेन्स, दमकलजस्ता उपकरण खरीद गर्दा सम्पूर्ण पालिकाबासी लाभान्वित हुने थियौं,’ सुनवलका स्थानीय व्यवसायी अर्जुन शर्माले भने।
प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलेले नगरसभाबाट सवारीसाधन खरीदका लागि बजेट विनियोजन गरेअनुसार बजेट कार्यान्वयनमा ल्याएको बताए।
सुनवलमा अहिले बजेट अभावमा लागत साझेदारीको कार्यक्रम समेत कार्यान्वयन हुन सकेको छैन। खानेपानी आयोजना, विद्यालय भवन लगायतलाई स्थानीय उपभोक्ताको लागत साझेदारीमा काम गर्न बजेट माग गर्दा समेत नगरपालिकाले बजेट अभाव देखाउँदै आएको छ। तर सेवापरार्मश गोष्ठि, विभिन्न किसिमका तालिम प्रशिक्षण, पाश्र्व चित्र लगायतका नाममा लाखौँ रकम खर्च गर्दै आइएको छ।
वैशाख १३, २०८२ शनिबार १९:०६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।