सीआईबी र अख्तियारका नक्कली कर्मचारी बनेर ठगी गर्ने युवक पक्राउ

धनुषा : धनुषा प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का नक्कली अधिकारी बनेर ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने युवक धनुषाका ३३ वर्षीय रामभजन मण्डल हुन्।
मण्डलले शहिदनगर नगरपालिका क्षेत्रमा आफूलाई अख्तियार र सीआईबीका अधिकृत कर्मचारीको रूपमा प्रस्तुत गर्दै सर्वसाधारणलाई धम्की दिएर आर्थिक फाइदा लिने प्रयास गरेका थिए। स्थानीयलाई दबाबमा पार्दै मण्डलले सरकारी निकायको नामको दुरुपयोग गर्दै जनतालाई त्रसित बनाएका थिए।
धनुषा प्रहरीले मण्डलको गतिविधिमा जानकारी पाएपछि छानबिन शुरू गरेको थियो। ११ गते दिउँसो करिब १ बजे इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको टोलीले शहिदनगर नगरपालिका ३ बाट मण्डललाई पक्राउ गरेको हो।
मण्डललाई सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ भने यस घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषा प्रहरीले नक्कली सरकारी कर्मचारीको ठगी प्रवृत्तिलाई रोक्न र जनतालाई सचेत बनाउन थप सुरक्षा उपायहरू चाल्ने बताएका छन्।
वैशाख १३, २०८२ शनिबार १७:१७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।