शेरबहादुरजी थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भन्नेहरू फत्रक्क गलिसके : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरवहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन्।
एमालेको संसदीय दलको बैठकमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र मिसनमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गरे।
‘शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फल्याउनेहरू फत्रक्क गलेका छन्, सरकार ढल्दैन भनेपछि सकियो,’ उनले भने।
प्रतिगमनकारीहरूले आन्दोलनका नाममा हिंसात्मक तथा संविधानविरोधी गतिविधि गरेको भन्दै उनले आवश्यक पर्दा त्यस्ता गतिविधिमाथि सरकारले कानुनबमोजिम कडा कदम पनि चाल्न सक्ने बताए।
यस्तै, उनले अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसदबाट पारित भएको मिलेनियम च्यालेन्ज कर्पारेशन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै अब नेपालले आफ्नो विकास अरूको आशमा नभई आफैले गर्नतिर लाग्नुपर्ने बताए।
एमाले मिसन २०८४ मार्फत् बलियो राष्ट्रिय शक्तिका रुपमा रुपान्तरित गर्न लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा जोड दिए।
उनले दस्तवेजहरूको चिन्तन मनन तथा तुलनात्मक अध्ययन गर्न र परिस्थितिलाई बुझेर जनताका समस्या कसरी उठाउने र समाधान गर्ने भन्नेतर्फ केन्द्रित भई मर्यादित, सुसंस्कृत, तथ्य र प्रमाणिक कुराहरू साहसिकरूपमा प्रस्तुत हुन सांसद्हरूलाई निर्देशन पनि दिएका छन्।
वैशाख १३, २०८२ शनिबार १६:३७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।