अहिले बन्दुक छैन, प्रचार संयन्त्रमार्फत प्रतिक्रियावादी र यथास्थितिवादीसँग लड्नुस् : अध्यक्ष दाहाल

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दुक चलाएर अघि बढ्ने अवस्था नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवा, प्रतिक्रियावादी र यथास्थितिवादीसँग लड्न निर्देशन दिएका छन्।
काठमाडौंमा प्रेस सेन्टर नेपालका पदाधिकारीहरूको सपथ ग्रहण समारोहमा अध्यक्ष दाहालले पार्टी निटक पत्रकारहरूलाई प्रचार संयन्त्रमार्फत नै बुर्जुवा, प्रतिक्रियावादी र यथास्थितिवादीसँग लड्न निर्देशन दिएका हुन्।
‘अहिले हामीसँग बन्दुक छैन, बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि हैन,’ उनले भने, ‘प्रचार संयन्त्रमार्फत नै बुर्जुवा, वैदेशिक प्रतिक्रियावाद, देशभित्रका यथास्थितिवादीसँग लड्नुछ।’
फरक प्रसङ्गमा उनले राजावादी र गणतन्त्रवादीबीचको फरक चैत १५ गतेको समाजवादी मोर्चा र तीनकुनेको आन्दोलनले देखाएको बताए। तीनकुनेको हिंसात्मक प्रदर्शनले राजावादीहरूको होहल्ला असफल भइसकेको उनको दाबी छ।
फरक प्रसङ्गमा उनले शिक्षकका जायज माग पूरा गर्नुपर्छ भनेर आफ्नो नेतृत्वको सरकारले काम गरेको समेत स्पष्ट पारे। शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण सहज बनाउने काम सरकारकै भए पनि सरकार त्यसका लागि जागरुक नभएको उल्लेख गरे।
वैशाख १३, २०८२ शनिबार १४:०७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।