डा. प्रवेशको उपचार अनुभव : ती बाजेको २८ वर्षदेखिको छाला रोग वान्ता गराएर ठीक भएपछि...

डा. प्रवेशको उपचार अनुभव : ती बाजेको २८ वर्षदेखिको छाला रोग वान्ता गराएर ठीक भएपछि...

डा. प्रवेश श्रीवास्तब आयुर्वेद चिकित्सक हुन्। विशेषगरी आयुर्वेदिक चिकित्सा विधि तथा पद्धति अपनाई बिरामीलाई औषधि उपचार गरी सञ्चो बनाउनु उनको दैनिकी हो। उनै डा. प्रवेशले चिकित्सकीय पेशाको श्रृंखलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्।

वान्ता गराएर छालाको उपचार!
डा. प्रवेश चिकित्सकीय पेशाको श्रृंखलाका केही प्रसङ्ग भने कहिल्यै भुल्दैनन्। जसमध्ये करिब ६२ वर्षका बाजेको उपचार गरेको प्रसङ्ग उनले सुनाए।

प्रसङ्ग केही वर्षअघिको हो। ती बाजे उपचारका लागि कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रमा पुगेका थिए। बाजेको छाला पोल्ने, चिलाउने र फुस्रो हुने ‘सोरियासिस’को समस्या थियो। बाजे विभिन्न अस्पताल धाउँदा समेत रोग ठीक नभएर हतार हैरान भएका थिए। उनी सानो आशा बोकेर त्यहाँ पुगेका थिए।

बाजेले २८ वर्षदेखि ‘सोरियासिस’को औषधि सेवन गरिरहेका रहेछन्। तर, समस्या ठीक भएनछ। छालाको त्यो समस्याका कारण बाजे हिँडडुल गर्दैन थिए। कहिँ निस्कँदा पनि मान्छेले के भन्लान् भनेर पूरै शरीर ढाक्नेगरी कपडा लगाएर हिँड्थे। कपडा खोल्दा बाजेको शरीरबाट फुरुरु फुस्रा पाप्रा निस्कन्थे। बाजेको दैनिकी नै तनावमय थियो। छालाको रोगको तनावका कारण बाजेको शरीर शिथिल बनेको थियो।

डा. प्रवेशले बाजेको छालाको अवस्था हेरे। कुराकानीको क्रममा ती बाजेले न्याउरो हुँदै डा. प्रवेशलाई भनेछन्, ‘डाक्टर साहेब, यसरी छाला चिलाएर बाँच्नु भन्दा त बरु मरुँ जस्तो लाग्छ।’

बाजेको दुःख र पीडा सुन्दा उनलाई पनि दुख लाग्यो। अनि ती बाजेलाई सम्झाउँदै डा. प्रवेशले रोग ठीक हुने सक्ने बलियो सम्भावना रहेको आश्वासन दिए।

पञ्चकर्मको ‘वमन’ विधिबाट उपचार
आयुर्वेदको पञ्चकर्म अन्तर्गत वान्ता गर्ने ‘वमन’ विधि अपनाई डा. प्रवेशले ती बाजेको उपचार सुरू गरे। बाजेको शरीर कमजोर भएकाले वान्ता गराउने प्रक्रिया अपनाउन पनि कठिन थियो। तर, पञ्चकर्म विधि अपनाई बाजेको उपचार सुरू भयो।

छालाको ‘सोरियासिस’को समस्याको उपचारका लागि पञ्चकर्म विधि अपनाई केही मिनेट वान्ता गराइन्छ। तर, केही मिनेट वान्ता गराउनका लागि करिब दुई हप्ताको उपचार प्रक्रिया अपनाउनुपर्ने हुन्छ।

ती बाजेको छालाको 'सोरियासिस'को उपचारका लागि सबैभन्दा पहिले आयुर्वेदिक औषधि खुवाइयो। अनि आयुर्वेदिक जडीबुटीयुक्त ‘मेडिकेटेड घ्यू’ खुवाइयो। त्यसपछि तीन दिन मसाज गर्ने कार्यसहित वाफ दिइयो।

यी उपचार प्रक्रियापछि बल्ल औषधि दिएर पञ्चकर्म विधि अपनाई आधा घण्टामा करिब दश लिटर आयुर्वेदिक झोल औषधि खुवाएर त्यो सबै निकाल्नेगरी वान्ता गराइयो। बाजेले औषधि खाँदै वान्ता गरेर निकाले।

त्यसपछि सात दिन विशेष किसिमको आयुर्वेदिक उपचार विधि अनुसार खानपिन गराइयो। दैनिक खाएजस्तो खानपान गर्न पाइँदैन। आयुर्वेदिक चिकित्सकको सल्लाहमा नै यस्तो खानपिन गर्नुपर्ने हुन्छ। बाजेको उपचार प्रक्रिया सफल भयो। उपचार गरेको पाँच दिनपछि त ती बाजेको छालाको त्यो समस्या चमत्कारजस्तै गरी करिब ७० प्रतिशत ठीक भयो।

यस्तो पञ्चकर्म थेराप्युटिक विधि अपनाई बाजेको शरीर तथा छालामा भएका विकार तत्त्व हटाएर छालाको 'सोरियासिस'को उपचार गरियो। आयुर्वेदमा यो विधि निक्कै प्रभावकारी भएको उनले सुनाए।

दुई हप्तापछि पुनः अर्को थेरापी गराइयो। त्यो थेरापीको नाम हो, ‘बिरेचन’। यो आयुर्वेदको पञ्चकर्म अन्तर्गतकै उपचार विधि हो। ‘बिरेचन’ विधि अपनाई बिरामीलाई पखाला गराएर छालाको ‘सोरियासिस’को उपचार गरिन्छ। यस्तो उपचार विधि अपनाई पखाला गराएपछि बिरामीको छालाजन्य समस्या ठीक हुने डा. प्रवेशले सुनाए।

आयुर्वेदको यस्तो पञ्चकर्म उपचारात्मक विधि अपनाई वान्ता र झाडापखाला गराएपछि ती बाजेको ९० प्रतिशत छालाको समस्या ठीक भएको डा. प्रवेशले सुनाए। निरन्तर दुई वर्षको औषधि उपचारपछि बाजेलाई छाला पोल्ने, चिलाउने र फुस्रो हुने जस्तो 'सोरियासिस'को समस्या ठीक भएको उनले सुनाए।

रोग ठीक भएपछि बाजे खुसी नहुने कुरै भएन। रोग ठीक भएपछि बाजेले डा. प्रवेशलाई भावुक हुँदै भनेछन्, ‘मैले नयाँ जीवन पाएँ। अब बाँचे।’

आयुर्वेदिक डाक्टर बन्ने रहर
कपिलवस्तुको यसोधरा गाउँपालिका-३ बसन्तपुरमा जन्मिएका प्रवेशले स्थानीय सिद्धार्थ विद्या मन्दिर उच्च माविबाट २०५९ मा एसएलसी गरे। उनले बुटवलको तिलोत्तमा क्याम्पसबाट विज्ञान विषयमा प्लस टु गरे।

प्रवेशलाई सानैदेखि डाक्टर बन्ने रहर थियो। त्यसैले उनले डाक्टरी विषय अध्ययनका लागि छनोट परीक्षा दिए। उनले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दन्त रोग (बिडीएस) अध्ययनका लागि छनोट पनि भए। तर, प्रवेशलाई त्यो विषय अध्ययन गर्न मन लागेन।

त्यसपछि प्रवेशले छनोट परीक्षा पार गरेर त्रिभुवन विश्वविद्यालय अन्तर्गत 'आयुर्वेद क्याम्पस' कीर्तिपुरमा २०६४ मा आयुर्वेदिक चिकित्सा विषय 'ब्याचलर्स अफ आयुर्वेद मेडिसिन एण्ड सर्जरी ‘बीएएमएस’ अध्ययनका लागि भर्ना भए। प्रवेशले २०७० मा बीएएमएस अध्ययन पूरा गरे। उनले बीएएमएस सरकारी छात्रवृत्ति कोटामा नै अध्ययन गरेका हुन्। बीएएमएसमा उत्कृष्ट भएकाले उनले ‘मञ्चुका स्मृति’ पुरस्कारबाट समेत पुरस्कृत भए।

बीएमएस अध्ययन सकेपछि उनी सुनसरीको इटहरी पुगेर एउटा क्लिनिकमा करिब एक वर्ष काम गरे। त्यसपछि डा. प्रवेश लोकसेवा परीक्षामार्फत २०७१ मा सरकारी स्थायी आयुर्वेद चिकित्सकका रूपमा आठौं तहको जागिरमा प्रवेश गरे। सरकारी जागिरे भएपछि उनी पोष्टिङ भएर गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रमा पुगेर कार्यालय प्रमुखको भूमिकामा काम गर्न थाले। त्यहाँ उनले आयुर्वेदका विभिन्न सेवा विस्तार गरेको अनुभव सुनाए। त्यहाँ उनले पूर्वकर्मलगायत आयुर्वेदको सेवा सुरू गरेको बताए।

पूर्वकर्ममा हाडजोर्नी खिइएको, दुखेको, बाथको समस्या, नसा च्यापिएका जस्ता समस्याको समाधानका लागि गराइने थेरापी हो। त्यसपछि अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको उनले सुनाए। अस्पताल सञ्चालनका लागि बिरामीबाट सामान्य शुल्क पनि लिन थालियो। सुरूमा एउटा थेरापिको न्यूनतम २० र अधिकतम एक सय शुल्क लिइएको उनले सुनाए। पैसा नै नलाग्ने अस्पतालमा पैसा लिएपछि बिरामी आउँदैनन् की भन्ने डर पनि थियो। तर, बिरामी आए। अनि आर्थिक रूपमा बिस्तारै अस्पतालमा थोरै भएपनि रकम जम्मा हुँदै गयो।

डा. प्रवेश त्यहाँ पुगेको दोस्रो वर्ष त सरकारी मूल्यांकनमा गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र पहिलो नम्बरमा पर्न सफल भएको समेत भएको उनले सुनाए। त्यहाँ काम गर्दा योग लगायतको आयुर्वेद सेवाको विस्तार गर्न सफल भएको उनले सुनाए। गुल्मीमा डा. प्रवेशले करिब तीन वर्ष काम गरे।

पञ्चकर्मको रस
डा. प्रवेशलाई थप अध्ययन गर्नु त छँदै थियो। नभन्दै उनी भारतको जयपुरस्थित ‘नेशनल इन्स्टिच्युट अफ आयुर्वेद’मा भर्ना भएर २०७४ मा आयुर्वेदको स्नातकोत्तर तहको ‘पञ्चकर्म’ विषयमा एमडी पढ्न थाले। छात्रवृत्तिमा एमडी अध्ययन गरेका उनले एमडी अध्ययनमा ‘गोल्ड मेडल’ पाउन सफल समेत भए।

डा. प्रवेश तीन वर्षे एमडी अध्ययन सकेपछि नेपाल फर्किए। संघीयतापछि कर्मचारी समायोजनका क्रममा डा. प्रवेश रोजेकै क्षेत्र लुम्बिनी प्रदेशमा समायोजन भएर कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रमा पुगे। त्यहाँ पनि आफूले आयुर्वेदको सेवा थप विस्तार गर्न सफल भएको उनले सुनाए।

त्यहाँ डा. प्रवेशले विशेषगरी पञ्चकर्मका शिरोधारा, कटी बस्ती, जानु बस्ती, ग्रीवा बस्ती, नस्य, एकाङ्ग तथा सर्वाङ्ग स्वेदन र बस्ती तथा विरेचनजस्ता उपचारात्मक विधिको सुरू गरे। त्यहाँ काम गर्दा कोरोना भाइरस संक्रमण भएका बिरामीका लागि ‘आर्युक्वाथ’ नामक औषधि समेत बनाइएको उनले सुनाए। उनीपछि यस्तो औषधि अन्य विभिन्न अस्पतालले पनि बनाएर वितरण गरेको उनले सुनाए। कोरोना भाइरस संक्रमणको समयमा आयुर्वेदको सेवा लिने बिरामीको चाप ह्वात्तै बढेको सम्झन्छन्, उनी।

डा. प्रवेशले करिब डेढ वर्ष कपिलवस्तुमा काम गरेपछि उनी सरुवा भएर लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल पुगे। ओपिडी मात्रै सञ्चालन रहेको त्यहाँ पनि उनले बिरामी भर्ना गरेर उपचार गर्ने लगायतको आयुर्वेदको सेवा विस्तार गरेको सुनाए। बुटवलमा नसा, हाडजोर्नीजस्ता समस्या भएका नेपाली बिरामी मात्रै हैन, भारतको गोरखपुर र लखनऊबाट समेत पञ्चकर्म उपचारका लागि पुगेको डा. प्रवेशले सुनाए। केही बिरामी त अमेरिकाबाट समेत पञ्चकर्म उपचारका लागि आएको सम्झन्छन्, उनी।

छाला, नसा च्यापिएका, बाथ, हाडजोर्नी, बालबालिकामा देखिने अटिजम, पक्षघातका कारण हातखुट्टा तथा शरीर नचल्ने जस्ता समस्याका लागि आयुर्वेदको पञ्चकर्म विधि असाध्यै प्रभावकारी भएको उनले सुनाए। कतिपय बिरामी त शरीर तथा हातखुट्टा नचलेको खण्डमा सबैभन्दा पहिला लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल पुगेको समेत सम्झन्छन्, उनी। अहिले बुटवलमा पञ्चकर्म लिन पुग्नेको चाप बाक्लै भएको उनले सुनाए।

बुटवलमा करिब अढाई वर्ष काम गरेपछि डा. प्रवेश आठौंबाट कन्सल्टेन्ट आयुर्वेद विज्ञका रूपमा नवौं तहमा बढुवा भए। त्यसपछि उनी सरुवा भएर दुई महिनाअघि दाङको बिजौरीस्थित प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा पुगेका छन्। त्यहाँ उनी कार्यालय प्रमुखका रूपमा कार्यरत छन्।

सुन्दा छक्क पार्ने पखाला गराएर छालाको उपचार
त्यसो त डा. प्रवेशले आयुर्वेदको एमडीमा छाला चिलाउने तथा पोल्ने, फुस्रो हुने जस्तो (सोरियासिस) विषयमा शोध पत्र लेखे। आयुर्वेद चिकित्सकको सल्लाहमा पञ्चकर्म थेराप्युटिक उपचार विधि अपनाए छाला चिलाउने तथा पोल्ने, फुस्रो हुने जस्तो ‘सोरियासिस’को समस्या नै निर्मूल हुने सम्भावना बलियो भएको डा. प्रवेशको अनुभव छ। आयुर्वेदमा ‘सोरियासिस’को उपचार प्रभावकारी भएको समेत उनले सुनाए।

नेपालमा आयुर्वेदको पूर्वकर्म ७७ वटै जिल्लामा भएको र पञ्चकर्म भने पूर्वाधारधालगायत स्रोत साधनको अभावका कारण नगन्य आयुर्वेदिक अस्पतालमा मात्रै भएको उनले सुनाए। पूर्वकर्ममा शरीरमा मसाज गरेर सेक्ने जस्ता सीमित उपचार विधि पर्छन्। तर, पञ्चकर्ममा भने धेरै किसिमको उपचार विधि हुने उनले सुनाए।

छालाको समस्या भएका बिरामीलाई ‘बिरेचन’ विधि अपनाई पखाला गराएर उपचार गरिने विषय सुन्दा छक्क लाग्छ। पखाला लगाएर छालाको समस्या कसरी ठीक हुन्छ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो। तर, यो आयुर्वेदको उपचार विधि भएको र उपचार विधि अपनाई पखाला गराएपछि छालाजन्य ‘सोरियासिस’को समस्या ठीक हुने डा. प्रवेशले सुनाए। यसरी पखाला लगाएर छालाको समस्या ठीक हुँदा बिरामी एकातर्फ अचम्ममा त पर्छन् नै, रोग ठीक हुँदा उनीहरू खुसी नहुने कुरै भएन।

त्यसैगरी नाकमा तेल हाल्ने ‘थेरापी’ गराएर माइग्रेन, टाउको दुख्ने, मानसिक तनाव जस्ता समस्या भएका बिरामीको उपचार गरिने डा. प्रवेशले सुनाए। कम्मरको नसा च्यापिएको, प्यारालाइसिस, बाथ, हड्डी जस्ता समस्याको उपचारका लागि पञ्चकर्मको वस्ती उपचार विधि अपनाइने उनले सुनाए। त्यसैगरी जुकालाई टोकाएर पनि उपचार गरिन्छ।

आयुर्वेदमा पनि बिरामीको दुखाई सम्बन्धी व्यवस्थापनका लागि आकस्मिक उपचार पनि प्रभावकारी रहेको डा. प्रवेशले सुनाए।

वैशाख १३, २०८२ शनिबार १३:१५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।