स्टान्डर्ड चार्टर्डद्वारा नेपालको पहिलो ‘रेजनल करेस्पोन्डेन्ट बैंकिङ्ग एकेडेमी’ सम्पन्न

काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले एसियाली मुलुकहरूका लागि नेपालमै पहिलो पटक ‘रेजनल करेस्पोन्डेन्ट बैंकिङ्ग एकेडेमी’ सफलतापूर्वक सम्पन्न गरेको छ।
२४ र २५ अप्रिलमा काठमाडौंमा आयोजित दुई दिने कार्यक्रममा आसियान तथा दक्षिण एशियाका १५ राष्ट्रका केन्द्रीय बैंक, नियामक निकाय र बैंकिंग क्षेत्रका १३० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रमको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा एएमएल कोअर्डिनेसन समितिका संयोजक फणिन्द्र गौतमले गरे। उनले वित्तीय अपराध नियन्त्रणका लागि सरकारी तथा वित्तीय क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा जोखिम व्यवस्थापन, आतंकवादी वित्तसम्बन्धी नियन्त्रण, अन्तरदेशीय कारोबारका चुनौती, डिजिटल प्रणाली र नयाँ वित्तीय प्रविधिबारे विषयगत विज्ञहरूले कार्यशाला, प्यानल छलफल र केस स्टडीमार्फत ज्ञान बाँडेका थिए।
स्टान्डर्ड चार्टर्ड नेपालका सीईओ गोरख राणाले यस एकेडेमीमार्फत एएमएल, पीएफ तथा सैंक्शनसम्बन्धी ज्ञान अद्यावधिक गराउनु मुख्य उद्देश्य रहेको बताए। बैंकले पारदर्शिता, समावेशिता, र वित्तीय प्रणालीको मजबुतीकरणमा यो एकेडेमीलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ।
वैशाख १३, २०८२ शनिबार १२:२५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।