आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन, छलफललाई निरन्तरता दिने सहमति

काठमाडौं : आन्दोलनरत शिक्षक र नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन भएको छ।
शनिबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधिक मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बसेको वार्ता निष्कर्षविहीन भएको हो।
वार्तामा छलफल र सम्वादलाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
वार्तापछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले भने, ‘छलफललाई निरन्तरता दिने कुरा भयो। अर्को वार्ता कहिले हुन्छ टुंगो भएको छैन।’
वार्तामा शिक्षक महासंघले आफ्ना मागहरू मन्त्री पन्त समक्ष राख्दै आफ्नो अडानबाट पछि नहट्ने बताएका थिए। गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू काठमाडौं केन्द्रीत सडक आन्दोलनमा छन्।
शिक्षकहरूको मागको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग विवाद हुँदा यसअघिकी शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन्।
शिक्षकहरूले काठमाडौं केन्द्रीत शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई उत्तेजित बनाउने भाषणबाजी गरिरहेका छन्।
ओली कहिले विद्यालय शिक्षा ऐन आफूले ल्याएको भन्ने पार्नका लागि शिक्षकहरू सडकमा आएको आरोप लगाउँछन् त कहिले राजावादीहरूको माहोल सहज बनाइदिन सडकमा उत्रिएको कुतर्क गर्छन्।
वैशाख १३, २०८२ शनिबार १०:३८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।