गैर कानुनी विज्ञापन देखाएको कान्तिपुर म्याक्सबाट अब अनलाइन जुवाको प्रचार

काठमाडौं : एकातिर खेल सम्बन्धी बेटिङ साइडहरूबाट जुवा खेलाएको भन्दै प्रहरी एकपछि अर्को समूह पक्राउ गरेको गर्यै छ। अर्कोतिर सामाजिक सञ्जाल, खेल मैदान हुँदै अनलाइन जुवाको प्रचार अब टेलिभिजनसम्म पुगिसकेको छ।
यस अगाडि नेपाल क्रिकेट सङ्घको आयोजनामा भएको नेपाल प्रिमियर लिगको मैदानमै अनलाइन जुवा खेलाउने वुल्फत्रिपलसेभेनको सरोगेट कम्पनीको विज्ञापन राखिएको थियो। एक प्रतिष्ठित मिडिया हाउसको टेलिभिजन च्यानलले नै अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट ब्राण्डको प्रचार गरिरहेको छ।
त्यो हो, कान्तिपुर म्याक्स टेलिभिजन। नेपालमा कान्तिपुर म्याक्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्रत्यक्ष प्रसारण गर्ने गरेको छ।
शुक्रवार आईपीएलको प्रिम्याच छलफलमा कान्तिपुर म्याक्स टेलिभिजनले नेपालमा प्रतिबन्धित अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट विज्ञापन राखेर कार्यक्रम प्रसारण गर्यो। शुक्रबार आईपीएलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सको खेलअघि भएको प्रिम्याच छलफलमा टेलिभिजनले मेलबेटको सरोगेट कम्पनी मेलब्याटको लोगो कार्यक्रमको केन्द्रमा राखेर प्रचार गर्यो।
नेपालजस्ता देश, जहाँ सबै प्रकारका जुवा खेलाउन र प्रचार गर्न पाइँदैन त्यहाँ उनीहरूले सरोगेट नाममार्फत प्रचार गर्ने गर्छन्। तर, यो पनि वैध हैन।
कान्तिपुर टेलिभिजनले सञ्चालन गरेको छलफलमा कान्तिपुर दैनिकका खेल पत्रकार विनोद पाण्डे र नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहित पौडेल उपस्थित थिए। उनीहरूले छलफल गरिरहँदा पछाडि स्क्रिनमा अनलाइन जुवा कम्पनी ‘मेटबेट’को सरोगेट कम्पनी ‘मेटब्याट’को लोगो राखेर प्रचार गरिएको थियो।
मेलबेट जुवा खेलाउने साइट हो। उसले नेपाल जस्तो जुवा खेल्न, खेलाउन प्रतिन्बन्धित देशमा जुवामा आफ्नो ब्राण्डको प्रचार गर्न मिडियाको आवरणमा सहज होस् भनेर मेलब्याटको प्रयोग गर्ने गरेको छ। कान्तिपुर म्याक्समा देखाइएको विज्ञापन त्यही मेलब्याटको थियो।
उसो त कान्तिपुर म्याक्स टेलिभिजनले गैर कानुनी प्रचारमा संलग्न भएको यो पहिलो पटक होइन। उक्त टेलिभिजनले विज्ञापन नियमन ऐन विपरीत डबिङ गरिएका गैर कानुनी विज्ञापन प्रसारण गरिरहेको छ। यसबारेमा उकेराले समाचार प्रकाशित गरेपछि विज्ञापन बोर्डले टेलिभिजनलाई स्पष्टीकरण सोधेको थियो। बोर्डले सोधेको स्पष्टीकरणको जवाफ अहिलेसम्म नआएको बोर्डका सूचना अधिकारी डिल्लीराम सुवेदीले जानकारी दिए।
मेटबेटले नेपालमा अनलाइन जुवा खेलाउनका लागि छुट्टै डोमेन ‘मेलबेटएनपी’ को नाममा प्रचार गरिरहेको छ। नेपालबाट अनलाइन जुवा खेल्नका लागि यसले यहाँका डिजिटल वालेटहरू खल्ती, ई सेवा, सेलपे, आइएमईपे, प्रभुपे, माइपे, मोरु, कनेक्टआईपीएस र आईक्यास लगायतबाट पैसा लोड गर्न सकिने उल्लेख गरेको छ।
यो पनि गैर कानुनी हो। यस अगाडि यस्ता वालेटहरूबाट अनधिकृत रूपमा अनलाइन बेटिङवापत रकम जाने गरेको खुलेको थियो। पछि झुक्क्याएको भन्ने दाबी गरियो। अहिले त अनलाइन जुवा खेलाउने कम्पनीले खुल्लमखुल्ला वालेटहरूको नाम साझेदारको रूपमा वेबसाइटमै राखेको छ।
नेपालमा सबै प्रकारका जुवा प्रतिबन्धित भए पनि सहजै पैसा कमाउने लोभमा गैर कानुनी भए पनि अनलाइन जुवा खेल्नेहरूको संख्या बढी रहेको छ।
नेपालमा फैलँदो अनलाइन जुवाको बजार देखेर भारतीय एजेन्टहरूले समूह नै पठाएर नेपालबाटै यस्तो गिरोह चलाइरहेका छन्।
केही दिनअघि मात्रै प्रहरीले बुढानीलकण्ठमा पक्राउ गरेको यस्तै एक समूहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर हुँदा उनीहरूले दुई अर्बको जुवाको कारोबार गरिसकेको खुलेको थियो।
फुटबल सम्बन्धी संस्था एन्फा र क्रिकेट सम्बन्धी संस्था क्यानका पदाधिकारीहरूले समेत आर्थिक लोभमा जुवा खेलाउने कम्पनीको सरोगेट कम्पनीहरूको प्रचार गर्ने गरेका छन्। अब यसमा मिडिया पनि मिसिएको देखियो शुक्रबार।
नेपाली टेलिभिजनमा अनलाइन जुवाकै प्रचार भएको पनि यो पहिलो पटक भने होइन। २०८० मंसिर आठ गतेदेखि दशरथ रङ्गशालामा सञ्चालन भएको नेपाल सुपर लिगको दोस्रो संस्करणमा हिमालयन टेलिभिजनले अन्तर्राष्ट्रिय मिडिया पार्टनरको रूपमा वानएक्सबेटको सरोगेट कम्पनी वाएनक्सन्यूजको प्रचार भएको थियो। यसबारे उकेराले समाचार प्रकाशित गरेपछि आयोजकले वानएक्सन्युजको प्रचार सामाग्री हटाएका थिए।
नेपालमा कुनै समय अनलाइन जुवाको लत बसेकाहरूका लागि वानएक्सबेट अनजान नाम थियो। क्यान अनि एन्फाको आयोजनामा हुने खेल प्रतियोगितास्थलमा यसको ब्यानर जताततै देखिन थालेपछि यो नेपालमा सबैभन्दा परिचित बेटिङ साइट बनेको थियो।
कतै वानएक्सब्याटको नाम देखिन्थ्यो त कतै वानएक्सन्युज। सबैको लोगोको आकार प्रकार भने जुवा खेलाउने वानएक्सबेटकै जस्तो थियो। त्यसपछि जुवामा लत नबसेकाहरूमाझ पनि यो परिचित भयो।
खेलमा आधारित जुवा खेल्न रुचि राख्नेहरूमाझ यो चर्चित ब्रान्ड नै बन्यो। अनि सुरु भयो नेपालमा वानएक्सबेटको दुष्प्रभाव।
वानएक्सबेटका एकै एजेन्ट पक्राउ पर्दा उनले ५५ करोड रुपैयाँसम्मको कारोबार गरेको भेटिन थाल्यो। ९८ वटा बैङ्क खातामार्फत ५७ करोडसम्म कारोबार गर्ने गरेका प्रमाण फेला परेका थिए।
त्यसपछि अन्य नयाँ बेटिङ साइटहरू समेत नेपाल केन्द्रीत प्रचारमा सक्रिय देखिएका थिए। त्यसैको शृङ्खलामा वुल्फत्रिपलसेभेन भित्रिएको थियो एनपीएलमा।
अब आईपीएलको प्रत्यक्ष प्रसारणको अधिकार किनेर कान्तिपुर म्याक्सले मेलब्याटको भित्र्याउने प्रयास गरिरहेको देखियो।
राष्ट्रिय टेलिभिजनबाटै अनलाइन जुवाको सरोगेट कम्पनीको प्रचार भइरहेको सन्दर्भमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक एवं केन्द्रीय प्रवक्ता दिनेश कुमार आचार्यले नेपालमा अनलाइन जुवाको प्रचार गर्नु गैर कानुनी भएको तर टेलिभिजनमा प्रसारण भइरहेको सामग्रीको अनुगमन र कारबाही गर्ने क्षेत्राधिकार प्रहरीसँग नभएको बताए।
‘नेपालमा बेटिङ गर्न पाइएन, बेटिङको प्रचार र बेटिङ गर्नका लागि कसैले प्रोत्साहन गरेको खण्डमा हामी त्यसलाई कारबाही गर्छौँ’, उनले भने।
आचार्यले यस्तो दाबी गरे पनि युट्युब च्यानलमा प्रमोसन कोड राखेर अनलाइन जुवा कम्पनीको सरोगेट कम्पनी वानएक्सब्याटको प्रचार गरेको आरोपमा प्रहरीले पवन खतिवडा, मरीचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर) लगायतका कलाकारहरूलाई पक्राउ गरेर एक महिना थुनामा राखेको थियो।
अनलाइन जुवाको प्रचारकै मुद्दामा पवन, मरिचमान लगायतका कलाकारहरू हप्तौँ हिरासत राख्ने प्रहरीले कसले के गर्यो भन्ने हैन कुन संस्था वा व्यक्तिले के गर्यो भन्ने आधारमा कानुनी प्रक्रिया सुरू गर्ने देखायो।
अनलाइन बेटिङको सरोगेट कम्पनीको विज्ञापन गरेको विषयमा कान्तिपुर म्याक्सको समेत जिम्मेवारी सम्हालेका कान्तिपुर टेलिभिजनका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सुरजसिंह ठकुरीले पहिला ‘एकछिन है’ भनेका थिए। पछि सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन्।
यस्तो छ जुवा कानुन
नेपालमा सबै खालका जुवा प्रतिबन्धित छ। संशोधित जुवा ऐन २०२० को दफा २ मा जुवाको परिभाषा स्पष्ट उल्लेख छ।
सो ऐनका अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी सम्झनु पर्छ भनिएको छ।
जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ। दफा ३ को उपदफा १ मा लेखिएको छ, ‘कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घरकोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन।’
ऐनको दफा ४ मा दफा ३ मा मनाही गरेका काम गर्ने वा गराउनेलाई विभिन्न सजाय हुने व्यवस्था गरिएको छ।
त्यस्तै विज्ञापन नियमन ऐन २०६६ को दफा ५ को उपदफा १ को (ख) मा जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको चिट्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था छ।
तर, कानुनी छिद्रको फाइदा उठाउँदै प्रतिबन्धित सट्टाबाजीको ‘सरोगेट विज्ञापन’ भइरहेको छ। कानुनमा सरोगेट विज्ञापनको बारेमा स्पष्ट व्यवस्था नभए पनि अनलाइन जुवाको प्रचारको कानुन यसमा आकर्षित हुने देखिन्छ।
सरोगेट विज्ञापन के हो ?
सरोगेट विज्ञापन भन्नाले कुनै प्रतिबन्धित उत्पादनको नाममा अर्को वैकल्पिक उत्पादनको प्रचार गर्ने प्रक्रिया बुझाउँछ। उदाहरणका लागि, मदिरा कम्पनीहरूले आफ्नो ब्रान्ड नाममा मिनरल पानी, एनर्जी ड्रिङ्क, सोडा वा म्युजिक सिडी बेचेर आफ्नो ब्रान्डलाई प्रचार गर्ने गर्छन्।
त्यसैगरी बेटिङ साइटहरूले बेटिङ प्रचार गर्न नपाइने कानुन भएको देशमा उस्तै लोगोमा एक अक्षर वा पछाडि ‘न्युज’, ‘स्पोर्ट्स’ जस्ता नाम थपेर गरिने विज्ञापनलाई बुझाउँछ। यसो गर्दा तिनको ब्रान्ड नाम उपभोक्ताको दिमागमा बसेको रहन्छ र जब मुख्य उत्पादन किन्ने अवस्था आउँछ, ग्राहकले सजिलै पहिचान गर्न सक्छन्।
वैशाख १२, २०८२ शुक्रबार २२:३१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।