प्रेम, भरोसा अनि बदला : सम्बन्धमा रहँदाका गोप्य भिडियो र तस्बिर ब्रेकअपसँगै सार्वजनिक हुँदा एक युवतीले भोगेको पीडा

प्रेम, भरोसा अनि बदला : सम्बन्धमा रहँदाका गोप्य भिडियो र तस्बिर ब्रेकअपसँगै सार्वजनिक हुँदा एक युवतीले भोगेको पीडा

काठमाडौं : सम्बन्ध सुरु हुँदा जो कोही प्रेमी–प्रेमिकाले भविष्यको मीठा सपना देख्छन्। त्यही सम्बन्धमा नजिकिँदै जाँदा उनीहरूबीच यति धेरै विश्वासको आदानप्रदान हुन्छ कि आफ्नो सबै कुरा खुलस्त गरिदिन्छन्,पासवर्ड, निजात्मक गतिविधिका फोटो, भिडियो। तर कहिले काहीँ यही विश्वास, यही प्रेम, त्यही समर्पण अन्ततः पीडाको मुख्य कारण बन्छ।

यस्तै पीडादायी उदाहरण बनेकी छिन् एक युवतीको फेसबुक प्रोफाइलबाट सुरु भएको प्रेम यात्रा आज अदालतसम्म पुगेको छ।

तीन वर्षअघि सुरु भएको सम्बन्ध अगाडि बढ्दै जाँदा ती युवतीले राम बिहारी साफी नामका व्यक्तिसँग शारीरिक सम्बन्धसमेत भयो। सम्बन्धमा रहेका बेला उनले चलाउँदै गरेको फेसबुकको पासवर्ड समेत रामलाई दिइन्। त्यस बेला उनलाई के थाहा र, यिनै तस्बिर र गोप्य कुराहरू एक दिन आफ्नै चरित्र हत्यामा प्रयोग हुनेछन् भनेर!

सम्बन्धमा दरार आयो। सम्बन्ध अन्त्य भयो। तर ती तस्बिर र भिडियोहरू, जुन सम्बन्धको प्रमाण थिए, रामका हातमा थिए। उनीहरूले प्रेममा विश्वास गरेर बाँडेका ती निजी यादहरू अब आक्रोश, इगो र बदला लिने माध्यम बन्दै गए।

राम बिहारी साफीले पहिले ती युवतीको फेसबुक एकाउन्टको पासवर्ड परिवर्तन गरे र आफैँ चलाउन थाले। त्यसपछि सुरु भयो मानसिक यातना र सामाजिक बेइज्जतीको शृङ्खला।

रामले युवतीका अति निजी तस्बिरहरू फेसबुक स्टोरीमा हाल्न थाले। उनीसँग भएको गोप्य भिडियोहरू अर्का व्यक्तिहरूलाई पठाउन थाले। टिकटक प्रयोगकर्ता लगायत अन्य युवाहरूलाई ती क्लिपहरू पठाए।

यतिमै रोकिएनन् उनी। ब्रेकअपको बदला लिन भनेर उनले युवतीलाई म्यासेन्जरमा बारम्बार धम्कीपूर्ण सन्देश पठाए। जीवन ‘बर्बाद बनाइदिने’ चेतावनी दिए।

सन्देशहरूमा अश्लीलता मात्र थिएन, चरित्र हत्या गर्ने नियत, सामाजिक लज्जा दिने उद्देश्य प्रस्ट देखिन्थ्यो। ‘जो-जोसँग सुत्नु छ, जे गर्नू’, ‘कसम, बर्बाद गरिदिन्छु’, ‘नाटक देखाउँछेस्?’ जस्ता वाक्यले ती युवतीको आत्मसम्मानमा कठोर आघात पुर्याएका थिए।

साइबर अपराध र डिजिटल प्रमाण

सम्बन्ध बढेर शारीरिक सम्बन्धसम्म पुग्नुले मात्रै यो समस्या निम्तिएको थिएन। यसको मूल कारण थियो शारीरिक सम्बन्ध राखेका तस्बिर अनि भिडियो क्लिपहरू। नहुनुपर्ने गल्ती भइसकेको थियो। तर त्यसले ल्याउनसम्म तनाव ल्यायो।

अनि ती युवती साइबर ब्युरोमा पुगिन् उजुरी लिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा रामको मोबाइलबाट ती गोप्य तस्बिर तथा भिडियोहरू लुकाएर राखेको फोल्डरमा भेटिए। फेसबुक अकाउन्ट, म्यासेन्जर वार्तालाप, मोबाइल डाटा र प्राप्त प्रमाणहरूका आधारमा साफीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर भयो।

अदालतमा पेस गरिएको अभियोगपत्रमा प्रेमको समयमा खिचिएको तस्बिर वा भिडियो, सम्बन्ध टुटेपछि आक्रमणको अस्त्रमा कसरी प्रयोग हुन्छ भन्ने विस्तृत उल्लेख भएको देखिन्छ।

वैशाख १२, २०८२ शुक्रबार १७:४४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।