‘मेटा’लाई सरकारको चेतावनी- हप्ता दिनभित्र सूचीकरण नभए बन्द गर्छौं

‘मेटा’लाई सरकारको चेतावनी- हप्ता दिनभित्र सूचीकरण नभए बन्द गर्छौं

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुक, म्यासेन्जर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्लेटफर्मको माउ कम्पनी 'मेटा'लाई सात दिनभित्र नेपालमा सूचीकृत हुन चेतावनी दिएका छन्। राष्ट्रिय सूचना आयोगद्वारा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मेटालाई तीनपटक पत्राचार गरिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताए।

‘नेपालमा बसेर व्यवसाय गर्ने अनि त्यही देशको नियमअनुसार दर्ता प्रक्रिया मान्नुपर्दैन ?’, मन्त्री गुरुङले भने, ‘एक हप्ताभित्र दर्ता भए हुन्छ, नभए बन्द गर्छौं।’ उनले मन्त्रालयका सचिवस्तरीय अधिकारीहरूमार्फत मेटासँग छलफल भइरहेको जानकारी दिए।

यसअघि टिकटक, भाइबरलगायत केही सामाजिक सञ्जाल प्लेटफर्महरू नेपालमा सूचीकृत भइसकेका छन्। मन्त्री गुरुङले अन्य सामाजिक सञ्जालहरूलाई पनि मन्त्रालयमा सूचीकृत हुन आग्रह गरे। उनले सूचीकरणको उद्देश्य सामाजिक सञ्जाललाई व्यवस्थित, समाजप्रति उत्तरदायी र जवाफदेही बनाउनु रहेको बताए।

कार्यक्रममा मन्त्री गुरुङले हाल संसदमा छलफलको चरणमा रहेको सामाजिक सञ्जालसम्बन्धी विधेयकको आवश्यकताबारे स्पष्ट पारे। 

उनले स्वतन्त्रताको नाममा सामाजिक सद्भाव बिथोल्ने, अपराधजन्य गतिविधिलाई प्रोत्साहन दिने, व्यक्तिगत गोपनीयतामा हस्तक्षेप गर्ने तथा राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्ने क्रियाकलाप नियन्त्रण गर्न विधेयक ल्याउन जरुरी भएको उल्लेख गरे।

वैशाख १२, २०८२ शुक्रबार १७:०४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।