हाम्रा गुरुहरू चर्को घाममा सडकमा छन्, सरकार कानमा तेल हालेर बसेको छः प्रकाश ज्वाला

हाम्रा गुरुहरू चर्को घाममा सडकमा छन्, सरकार कानमा तेल हालेर बसेको छः प्रकाश ज्वाला

काठमाडौं : एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयकलगायतका धेरै महत्वपूर्ण विधेयकहरूलाई छिटो भन्दा छिटो अगाडि बढाउनुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २४ दिनसम्म सडकमा रहेका  शिक्षकहरूको आवाज सरकारले नसुनेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन्।

उनले भने, ‘छिटोभन्दा छिटो भूकम्प पीडितहरूलाई राहत, क्षतिपूर्ति र पुर्नस्थापनाको व्यवस्था गरियोस्। बजेट अधिवेशन भएपनि धेरै विधेयकहरू थुप्रिएका छन्। त्यसमध्ये विद्यालय शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयक लगायतका धेरै महत्वपूर्ण विधेयकहरुलाई छिटो भन्दा छिटो अगाडि बढाउनुपर्ने छ। विद्यालय शिक्षा विधेयक छिटो पास गर्न दबाव दिने उदेश्यले शिक्षकहरू आन्दोलनको मोर्चामा छन्। २४ दिन भइसक्यो, २४ दिनसम्म पनि शिक्षकहरूको आवाज सरकारले सुनिरहेको छैन। कानमा तेल हालेर बसिरहेको छ। सरकारले आन्दोलनलाई कुहाउने प्रयत्न गरिरहेको छ। शिक्षकका आवाजहरू सुनिएका छैनन्।  तपाईं हामी सबैका गुरुहरू अहिले पनि यो  चर्को गर्मीमा आन्दोलनमा छन्। म यो सरकारको यस विषयप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु।’

साथै उनले विद्यालय शिक्षा विधेयक वार्ता गरेर, छलफल गरेर छिटो भन्दा छिटो  समाधान गर्नुपर्ने बताए। उनले सबै भन्दा ठूलो मागको  रुपमा अगाडि सरिएको यो शिक्षा विधेयक अग्रगामी विषयवस्तु एजेण्डासहित पारित गर्न सरकारलाई आग्रह गरे।

उनले भने, ‘भविष्यका कर्णधारहरूको अध्ययनलाई अलपत्र पार्ने गरी, अन्योलग्रस्त हुनेगरी आन्दोलनप्रति वेवास्ता गर्ने होइन।  वार्ता, छलफल गरेर समस्याको  छिटो  भन्दा छिटो समाधान गर्नुपर्दछ। खासगरी अहिले सबैभन्दा ठूलो मागको रुपमा अगाडि सरिएको विद्यालय शिक्षा विधेयक पारित हुनुपर्छ।’

वैशाख १२, २०८२ शुक्रबार १६:१२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।