२४ औं दिन पनि सडकमै शिक्षक (फोटोफिचर)

काठमाडौं : काठमाडौंमा केन्द्रित शिक्षकहरूको आन्दोलन शुक्रबार २४ औं दिनमा प्रवेश गरेको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी यस आन्दोलनका क्रममा शिक्षक तथा विद्यालय कर्मचारीहरू चर्को घाममा पनि सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन्।
उनीहरूले विभिन्न दबाबमूलक गीतहरू बजाउँदै नाचगानमार्फत आफ्नो असन्तुष्टि जनाउँदै आएका छन्। आन्दोलनरत शिक्षकहरू शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि आन्दोलनमा छन्।
यसैबीच, सर्वोच्च अदालतले अबको तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सरकारलाई आदेश दिएको छ।
शिक्षकहरूले सरकारसँग भएका अघिल्ला सहमति कार्यान्वयन नभएको भन्दै आक्रोश पोख्दै आएका छन्। उनीहरूको मुख्य मागहरूमा ग्रेड मिलान, सञ्चिति बिदा, निवृत्तिभरण, मर्यादाक्रम तथा पद समायोजन समावेश छन्।
यता नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट आह्वान गरेका छन्।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई सरकारको तर्फबाट हार्दिक आह्वान गरेका हुन् ।
वैशाख १२, २०८२ शुक्रबार १५:४८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।