लिङदेनको आरोप : भाटभटेनीमा रक्सी लुट्ने कांग्रेस सह-महामन्त्रीको छोरो छोडियो

लिङदेनको आरोप : भाटभटेनीमा रक्सी लुट्ने कांग्रेस सह-महामन्त्रीको छोरो छोडियो

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत १५ मा तीनकुनेमा भएको विरोध प्रदर्शनपछि भाटभटेनीमा भएको लुटपाटमा संलग्नमाथि कारबाहीमा पनि भेदभाव भएको दाबी गरे।

प्रहरीले भाटभटेनी लगायतका स्थानमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रवको आरोपमा अदालतबाट म्याद लिएर अनुसन्धानका लागि हिरासतमा राखिरहेको छ।

शुक्रवार प्रतिनिधि सभामा बोल्नेक्रममा चैत १५ को घटनाबारे सरकार भ्रम फैलाउन सक्रिय भएको दाबीसँगै उनले लुटपाटमा संलग्नहरूको पक्राउ र अनुसन्धानमा समेत सरकारले आफ्नालाई जोगाएको दाबी गरे।

‘भाटभटेनीमा रक्सी लुट्ने सह-महामन्त्रीको छोरा पक्राउ गरेर पछि छाडेको हैन?’उनले संसद्मा रहेका गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरे।

प्रहरीले प्रारम्भमा भाटभटेनीको लुटपाटमा संलग्नहरूबारे सिसिटिभी फुटेज हेरेर पक्राउ सुरु गर्दा नेपाली कांग्रेसको सह-महामन्त्रीको छोरो पनि पक्राउ परेको तर जब उनी कांग्रेस नेताको छोरा भएको खुल्यो अनि छाडेको दाबी गरेका थिए।

‘कपडा नहुनेले कपडा लिँदा प्रहरी हिरासतमा राखियो। रक्सी चोर्ने कांग्रेस नेताको छोरा छोडियो। यो हामीलाई पनि थाहा छ नि,’उनले भने।

कसको छोराले लुटेका थिए रक्सी?

संसद्मा लिङदेनले रक्सी चोर्न संलग्न व्यक्तिको अभिभावकको कांग्रेसको पद खुलाए पनि नाम भने खुलाएनन्। उनले कांग्रेस सह-महामन्त्रीको छोरा मात्र भने।

कांग्रेसमा फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार सह-महामन्त्री छन्।

वैशाख १२, २०८२ शुक्रबार १५:४७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।