संसद्मा गृहमन्त्रीलाई राप्रपा अध्यक्ष लिङदेनको प्रश्न : म्याद सकिएको अश्रुग्याँस धवल-रवीन्द्रले हानेका हुन्?

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले तीनकुनेमा चैत १५ मा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले हिंसा नफैलाएको दाबी गरे।
बजेट अधिवेशनको प्रारम्भको पहिलो दिन प्रतिनिधि सभामा दलको तर्फबाट बोल्दै उनले ‘चैत १५ मा तीनकुनेमा भएको घटना राजावादीहरूको हिंसात्मक प्रदर्शन’भन्ने भाष्य निर्माणको प्रयास भइरहेको भन्दै संसद्मा रहेका गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका थिए ‘प्रदर्शनकारीहरूबाट एउटा लाठी समेत किन फेला नपारेको? बन्दुक हुनु पर्थ्यो? खुकुरी हुनुपर्थ्यो। केही फेला पार्नु भयो?’
उनले निरन्तर प्रश्न गरिरहे ‘ म्याद सकिएको अश्रुग्याँस प्रदर्शनकारीले हानेका हुन्?, गोली प्रदर्शनकारीले हानेका हुन्?, रेविका खत्री र उनको दाइलाई कसले गोली हान्यो?,
उनले वर्तमान सरकार प्रजातन्त्र र न्यायको पक्षमा हो भने रवीन्द्र मिश्र लगायतलाई रिहा गरेर उच्चस्तरीय न्यायिक आयोग गठन गर्न मागे गरे।
उनले संसद्मा बजेट सधैँ गोजीबाट बन्ने गरेको र त्यसबारे धेरै बोल्न आवश्यक नभएको भन्दै भने ‘बजेट पुस्तिका च्यात्नु नपरोस्। गोजीबाटै कामना गरौँ।’
गणतन्त्रमा पनि राजसंस्था सम्भव छ
उनले शुक्रवार संसद्मा राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्ने गलत भाष्य निर्माण गर्न खोजेको भन्दै गणतन्त्रमा पनि राजसंस्था हुनसक्ने दाबी गरे।
राजसंस्था र लोकतन्त्र एक अर्काको विकल्प नभएको र राप्रपाले राजसंस्थाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विपक्षमा कुरा गरेको नहुने उनको तर्क थियो।
लोकतन्त्रको पक्षमा को छ भन्ने व्यवहारमा देखाउने भन्दै उनले हिजो राजाले यस्तो गरेको छ भनेर अहिले सरकारले विरोधी दलमाथि निरङ्कुश व्यवहार गर्ने गरेको भन्दै राजसंस्था र गणतन्त्रवादी एकै ठाउँमा अटाउने नयाँ खालको शासन प्रणालीमा जानुपर्ने माग गरेका थिए।
वैशाख १२, २०८२ शुक्रबार १५:२६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।