‘अस्थिरता चाहने शक्तिहरू नेपाललाई दिशाविहीन बनाउने प्रयासमा छन्’

काठमाडौं : एमालेका सांसद गोकर्ण विष्टले देशलाई सहि बाटोमार्फत र जनतामा आशा जगाउने हिसाबले अगाडि बढ्न जरुरी रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्ने गरी काम गर्न आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘हामीले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्ने गरी काम गर्न सक्नुपर्छ। केही अराजकता, अस्थिरता चाहने शक्तिहरूले नेपाली समाजलाई दिशाविहीन बनाउने प्रयास गरिरहेका छन्। तर जनताले हामीलाई सुम्पिएको दायित्व भनेको देशमा देखापर्ने सम्भावित, अराजकता र अस्थिरतालाई संवैधानिक कानूनी हिसाबले नियन्त्रण गर्दै देशलाई सही बाटोबाट अगाडि लैजाने र जनतामा आशा जगाउने हिसाबले अगाडि बढाउन जरुरी छ।’
साथै उनले सांसद्हरूले व्यक्त गर्ने ओजपूर्ण अभिव्यक्तिले नै देशको लोकतन्त्र सफल हुन सक्ने बताए। उनले सरकारले आमजनताका समस्याहरू समाधान गर्ने गरी, सम्भावनको अधिकतम उपयोग र चुनौतिहरुलाई सामना गर्नेगरी नीति कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए।
उनले भने, ‘सांसदहरूले नै व्यक्त गर्ने ओजपूर्ण अभिव्यक्तिले नै देशको लोकतन्त्र सफल हुन सक्दछ। संसदीय मर्यादा बलियो हुन सक्छ। सरकारले आम जनताका समस्याहरू समाधान गर्नेगरी, सम्भावनको अधिकतम उपयोग र चुनौतिहरुलाई सामना गर्नेगरी नीति कार्यक्रम र बजेट ल्याएर जनताका बीचमा आशा जगाउने छ। उत्पन्न भएका अनेकौं संकटको समाधान लोकतन्त्रको अभ्यासद्वारा नै आशा जोगाउन आवश्यक छ।’
वैशाख १२, २०८२ शुक्रबार १५:०९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।