‘हामीले भन्दा पत्याएनन्, अहिले घर-घरमा बिचौलियाको सरकार भन्छन्’

काठमाडौँ : माओवादी केन्द्रका सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रारम्भमा आफ्नो पार्टीले यो सरकार बिचौलियाको स्वार्थमा बनेको भन्दा नपत्याएको तर अहिले घर-घरमै सरकारबारे टिप्पणी भइरहेको दाबी गरे।
प्रतिनिधि सभाको बजेट अधिवेशनमा बोल्दै उनले धितोपत्र बोर्डको नेतृत्व र अहिले नेपाल राष्ट्र बैंकको गभर्नरको विवादले यसको पुष्टि गरेको उनले दाबी गरे।
प्रारम्भमा माओवादी केन्द्रले यो सरकार बिचौलियाको स्वार्थमा बनेको भनेर टिप्पणी गरेको तर अहिले सत्ताधारी दलका नेताहरूले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै रहेको भनेर टिप्पणी गरेको भन्दै उनले ‘ढिलै भए पनि सत्य बोलेको’भन्दै धन्यवाद दिए।
उनले सरकारको प्राथमिकता सामाजिक न्याय र विकासमा नभएको दाबी गरे। उनले वर्तमान सरकारले प्रचण्ड सरकारको रिसमा दलित र भूमिहीनहरूको हितमा गर्न खोजेको काम रोकेको दाबी समेत गरेका थिए।
उनले सरकार बिचौलियाको स्वार्थमा मात्र काम गर्ने गरेको भन्दै संसद्मा आलोचना गरे। उनले बजेट अधिवेशनमा यस अगाडि आफू अर्थमन्त्री हुँदा ल्याएको बजेटका प्रावधानबारे केन्द्रित भएर बोलेका थिए।
उनले संसद्मा पटक-पटक सरकार बिचौलियाको स्वार्थमा मात्रै काम गर्ने गरेको भन्दै आलोचना गरिरहे। उनले शिक्षक आन्दोलन त्रिभुवन विश्वविद्यालयको उपकुलपति र कुलमान घिसिङको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गरे।
वैशाख १२, २०८२ शुक्रबार १४:४१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।