यथासम्भव कानून बनाउन सभामुखको अपिल, बाहिरी कार्यक्रममा नजान सांसदलाई निर्देशन

यथासम्भव कानून बनाउन सभामुखको अपिल, बाहिरी कार्यक्रममा नजान सांसदलाई निर्देशन

काठमाडौं : सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाज सम्बोधन गर्न यथासम्भव कानून निर्माणमा जोड दिन अपिल गरेका छन्।

प्रतिनिधि सभाको छैटौं अधिवेशन सुरु भएको अवसरमा सम्बोधन गर्दै उनले संसदको मुख्य जिम्मेवारी कानून निर्माण भएको र समयमै कानून नबन्दा असन्तुष्टि बढेको बताए। यसका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ।

संसदलाई जनताको आवाजको प्रतिनिधित्व गर्ने थलोका रूपमा उल्लेख गर्दै सभामुखले राष्ट्रिय मुद्दामा बहस र जनचाहनाअनुसार निर्णय लिइने बताए। बजेट अधिवेशनमा सरकारको नीति, कार्यक्रम र बजेटसँगै कानून निर्माणमा सफलता मिल्ने विश्वास उनले  व्यक्त गरे।

प्रभावकारी संसदले मात्र लोकतन्त्र सुदृढीकरण, सुशासन र जनउत्तरदायी शासन प्रणालीमा योगदान पुग्ने उनको भनाइ छ।

सभामुखले विद्यालय शिक्षा विधेयक र सङ्घीय निजामती सेवा विधेयक टुङ्ग्याउन संसदको कार्यसूची तय गर्न निर्देशन दिएका छन्। यी विधेयक समितिमा रहेकाले छलफल र पारित प्रक्रिया अघि बढ्न बाँकी छ।

शनिबार र सार्वजनिक बिदाबाहेक संसद सञ्चालन गरी यी विधेयक टुङ्ग्याउने गृहकार्य भइरहेको छ। सभामुखले समितिका बैठक निरन्तर सञ्चालन गर्न र सांसदलाई बाहिरी कार्यक्रममा नजान समेत निर्देशन गरेका छन्।

अर्थ मन्त्रालयले पनि छलफलका लागि व्यवस्थापकीय स्वीकृति दिइसकेको छ।

वैशाख १२, २०८२ शुक्रबार १४:०५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।