मन्त्री पन्तद्वारा शिक्षक महासंघलाई वार्ताका लागि आह्वान, आफैँले हस्ताक्षर गरेर निकाले विज्ञप्ति

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेका छन्।
मन्त्रालयको लेटरहेडमा आफैँले हस्ताक्षर गरेर विज्ञप्ति निकालेका मन्त्री पन्तले शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई आह्वान गरेका हुन्।
उनले विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरूको हकहित प्रवर्द्धन गर्न उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयत्नशील रहेको समेत दाबी गरेका छन्।
मन्त्री पन्तले विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवं कानुनी बन्दोबस्त रहेको विषय समेत आन्दोलनरत शिक्षकहरूलाई स्मरण गराएका छन्।
सामान्यतया मन्त्रालयको लेटरहेडमा सचिव वा सह-सचिवले हस्ताक्षर गरेर विज्ञप्ति जारी गर्ने गरिन्छ। तर, वार्ताका लागि आह्वान गरेको विज्ञप्तिमा उनी आफैँले हस्ताक्षर गरेका छन्।
वैशाख १२, २०८२ शुक्रबार १३:४५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।