‘भूठान’ र ‘खेल’ सहित एक दर्जन फिल्म हलमा, तर छैनन् दर्शक

‘भूठान’ र ‘खेल’ सहित एक दर्जन फिल्म हलमा, तर छैनन् दर्शक

काठमाडौं : ‘भुठान’ र ‘खेल’ प्रदर्शनमा आएसँगै नेपालका सिनेमा हलमा शुक्रबार एक दर्जन फिल्म प्रदर्शनमा छन्। यी दुई फिल्मका अलावा बलिउड फिल्म ‘ओए भुतनी के’ पनि शुक्रबारबाटै रिलिज भएको छ।

यसअघि प्रदर्शनमा आएका फिल्म ‘पिताम्बर’, ‘अञ्जिला’, ‘लाज शरणम्’, ‘वसन्त’, ‘होस्टल ३’, ‘जाट’, ‘केशरी २’ र ‘अ मिनिक्राफ्ट’,‘अन्दाज अपना अपना’ हलमा प्रदर्शन भइरहेका छन्।

पुराना फिल्ममा केही दर्शकहरु देखिए आजैबाट प्रदर्शनमा आएका फिल्ममा दर्शक पाउन सकस परेको देखिन्छ। प्रदर्शकले हरिवंश आचार्य अभिनित फिल्म ‘भूठान’लाई ११० शो दिँदा भने सुरक्षा पन्तको ‘खेल’ले ८७ शो पाएको छ।

आजैबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘ओइ भुत्नी के’ले ‘४२ शो’ पाएको छ। जति शो पाए पनि फिल्म हेर्न दर्शक एकदमै न्यून रहेको देखिन्छ। उता पिताम्बरसँगै प्रदर्शनमा आएको सौरभ चौधरी निर्देशित फिल्म ‘कर्मा’ एक सातामै हलबाट उत्रिसक्यो।

सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘खेल’मा मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाको अभिनय छ।

नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित यो फिल्मलाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त निर्देशन गरेका हुन्। सिरुपाते कट्स प्रालिको ब्यानरमा बनेको फिल्ममा लुइसराज महर्जन र आशिषराज महर्जनको लगानी छ।

फिल्म ‘खेल’सँगै प्रदर्शनमा आएको हरिवंश आचार्य अभिनित ‘भूठान’लाई विनोद पौडेलले निर्देशन गरेका हुन्। ‘भूठान’को अंग्रेजी नाम ‘द वल्ड्र्स ह्याप्पिएस्ट म्यान’ दिइएको छ। नेपाली भाषी भुटानी शरणार्थीले आफ्नो देश छोड्दाको पिडालाई प्रस्तुत गरिएको छ।

भुटानदेखि भारत, नेपाल हुँदै अमेरिकामा स्थान्तरण भएका विष्णुबहादुर केसीको कथा वरिपरी फिल्म घुमेको छ। अमेरिकामै छायांकन भएको यो फिल्ममा हरिवंश आचार्यका अलवा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको पनि अभिनय देख्न सकिन्छ।

राजेन्द्र ठकुराठी र विकाश भिटो अधिकारीको लगानी रहेको फिल्म ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेस्ट ईन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो।

वैशाख १२, २०८२ शुक्रबार १२:४६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।