अटो ह्याण्डलमा बुनिएको नविनाको सपना : घरबाट निकालिइन्, तर हिम्मत हारिनन्

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर, जहाँ बिहानको सूर्योदयसँगै सडकहरू जीवन्त हुन्छन्, त्यही सडकमा एउटा अटो दौडिरहन्छ। ह्याण्डलमा छिन्- २८ वर्षीया नविना विक।
दुई महिनाअघिसम्म उनको जीवनमा आँधीबेहरी थियो- परिवारको तिरस्कार, श्रीमानको असहयोग र दुई साना छोराछोरीको जिम्मेवारी। तर, नविनाले हिम्मत हारिनन्, आँट गरेर ढाइ लाख रुपैयाँ जम्मा पारिन् र अटोको ह्याण्डल समातिन्।
सुर्खेतको लेकबेसी नगरपालिका-९, चौरासमा नविनाको सानो संसार थियो। तर, त्यो संसारले उनलाई अपनाएन। सासु-ससुराले घरबाट निकाले, परिवारको कुरा काट्ने आँट श्रीमानले पनि गर्न सकेनन्।
घरमा बस्नै नदिएपछि पाँच वर्षीय छोरा र तीन वर्षीया छोरीलाई काखमा च्यापेर उनी वीरेन्द्रनगर झरिन्। मनमा एउटै अठोट थियो- अब आफ्नो खुट्टामा उभिनुपर्छ।
‘पहिला सिमेन्ट-बालुवा मिसाउने, नाली बनाउने काम गर्थेँ। दिनको ६०० रुपैयाँ कमाइ हुन्थ्यो,’ नविना सम्झिन्छिन्, ‘तर, त्यो कमाइले जीवन चलाउन गाह्रो भयो। परिवारले तिरस्कारपछि मैले केही गर्नैपर्छ भन्ने सोचेँ।’
नविनासँग पैसा थिएन, तर हिम्मतको कमी थिएन। माइतीले बनाइदिएको गहना डेढ लाखमा बेचिन्। श्रीमानसँग सरसल्लाह गरिन् र समूहबाट एक लाख ऋण निकालिन्। साढे दुई लाखमा पुरानो अटो किनेर सडकबाटै नयाँ जीवनको यात्रा सुरू गरिन्।
बिहान ६ बजे नविनाको अटो सडकमा निस्किन्छ। वीरेन्द्रनगरका गल्ली-गल्लीमा यात्रु बोकेर उनको अटो दौडिरहन्छ। साँझ ७ बजे मात्र ग्यारेजमा फर्किन्छ। भाडाको कोठामा बस्ने नविनाले छोरालाई निजी स्कूलमा पढाउँछिन्, कोठाभाडा तिर्छिन् र बचेको रकम बैंकमा जम्मा गर्छिन्।
‘सुरूमा अटो चलाउन लाज लाग्थ्यो। मान्छेहरू हेरिरहन्थे,’ उनी हाँस्दै भन्छिन्, ‘तर, अब त बानी परिसक्यो। अहिले सबै खर्च कटाएर दैनिक एक हजार बचत गर्छु।’
नविनाका श्रीमान लेकवेसीको एक विद्यालयमा निजी स्रोतका शिक्षक छन्। पहिले बुवा-आमाको डरले साथ-सहयोग गर्न आँट नगर्ने श्रीमानले पनि अहिले नविनालाई साथ दिन थालेका छन्। तर, नविनाको यो यात्रा उनको आफ्नै हिम्मतको कथा हो।
नविनाको छोराको सपना डाक्टर बन्ने छ। नविनालाई पनि छोराको सपना पूरा गर्नुछ। त्यसैले सरकारी स्कूलबाट निकालेर निजी स्कुलमा भर्ना गरेकी छन्। छोरीको भविष्यको चिन्ताले पनि उनलाई सताउँछ नै!
‘म उसको सपना टुट्न दिन्न’, उनी दृढ स्वरमा भन्छिन्।
नविना आफ्नै बाल्यकाल पनि सजिलो थिएन। सानैमा बुवा गुमाएपछि अभावकै हुर्किइन् उनी। पढ्ने ठूलो रहर थियो, तर १० कक्षाभन्दा माथि पढ्न सकिनन्।
‘विवाहपछि पनि सुख पाइएन। सासु-ससुराको हेला, दाइजोको आरोप र श्रीमानको असहयोगले मलाई मानसिक रूपमा कमजोर बनायो,’ उनी भन्छिन्, ‘तर, मेरा छोराछोरीले मेरो जस्तो अभाव भोग्नु नपरोस् भन्ने मेरो सपना हो।’
नविनाको अटोले केवल यात्रु बोक्दैन, उनको आत्मसम्मान, छोराछोरीको भविष्य र आफ्नै सपना बोकेर दौडिरहन्छ। जसरी पनि छोराछोरीलाई उच्च शिक्षा दिएर आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु छ।
‘जसरी हुन्छ, छोराछोरीलाई उच्च शिक्षा दिन्छु। उनीहरू आफ्नो खुट्टामा उभिन सक्ने बनोस्’, उनी भन्छिन्।
वीरेन्द्रनगरका सडकमा नविनाको अटो गुडिरहँदा उनको कथा हरेक गल्लीमा गुञ्जिन्छ। यो कथा हो- साहसको, संघर्षको र एउटी आमाको अटल विश्वासको।
नविनाले प्रमाणित गरिदिएकी छिन्, जीवनमा जति नै कठिनाइ आए पनि हिम्मत र मेहनतले हरेक बाटो सहज बन्छ। उनको अटोको ह्याण्डलले उनलाई मात्र होइन, उनको छोराछोरीको सपनालाई पनि नयाँ गन्तव्यतिर डोर्याइरहेको छ।
वैशाख १२, २०८२ शुक्रबार १२:०१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।