मगर समुदायको विवाहमा जन्तीलाई अनौठो स्वागत : कागतीको मालादेखि कुभिन्डोको टोपीसम्म

मगर समुदायको विवाहमा जन्तीलाई अनौठो स्वागत : कागतीको मालादेखि कुभिन्डोको टोपीसम्म

सुर्खेत : विवाह भन्नेबित्तिकै सबैले रमाइलो माहोल हुन्छ। जन्ती र घरगाउँलेको रमाइलो नाच र छेडखानी विवाहमा चलेकै हुन्छ। त्यसमा पनि विवाह मण्डपमा बेहुला र बेहुलीको रमाइला खेलहरूले पनि सुनमा सुगन्ध भरिरहेको हुन्छ।

विवाहका परम्परा र काइदा हरेक समुदाय र क्षेत्रअनुसार अनुसार फरक-फरक हुन्छन्। त्यसै क्रममा कर्णाली प्रदेशका केही जिल्लामा हुने मगर समुदायको विवाहमा ‘भत्कुरी’ परम्परा विवाहकाे रमाइलो पाटो हो।

कर्णाली प्रदेशका मगर समुदायको विवाहमा केटा पक्षका जन्तीलाई हास्यास्पद रूपमा स्वागत गरिन्छ, जसलाई ‘भत्कुरी’ भनिन्छ। यो परम्परागत हास्य-व्यङ्ग्यात्मक संस्कार मगर समुदायमा प्रचलित छ।

भत्कुरीमा बेहुलीका दिदी-बहिनीले जन्तीलाई तरकारी, गेडागुडी, फलफूल, लौका, मुला, चिचिञ्डा, कागतीको माला, घिरौंला, काक्रो, मेवाको चश्मा, केराको झोला, कुभिन्डोको टोपी, पातको माक्स आदि सजावटका रूपमा प्रयोग गरी स्वागत गर्छन्।

यो प्रचलन सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम, जाजरकोट र कालिकोटमा बढी छ। यो संस्कार रमाइलोका साथै सामाजिक सम्बन्ध बलियो बनाउने, हास्यभाव प्रकट गर्ने र सांस्कृतिक चेतना अभिव्यक्त गर्ने माध्यम हो।

मगर भाषाका लेखक मनबहादुर बगालेका अनुसार, भत्कुरीमा जन्तीले भान्सेलाई कोसेली बुझाएर उपस्थिति जनाउँदा हास्यास्पद स्वागत गरिन्छ। भान्सेलाई उखुको डाँठ, साग, दही, रक्सी आदि नियमअनुसार लैजानुपर्छ, नत्र विवादसमेत हुन सक्छ। कोसेली बुझाएपछि जन्तीलाई रङ्गीबिरङ्गी सजावटले स्वागत गरिन्छ।

थापा, राना, आले, पुन, बुढा, रोका, बुढाथोकी, घर्ती, गाहा आदि मगर समुदायमा यो परम्परा विगतदेखि चल्दै आएको छ। यसको उद्देश्य हास्यरससहित रमाइलो गर्नु र सामाजिक सम्बन्ध जोड्नु हो।

स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रध्यानाध्यापक लालबहादुर थापाका अनुसार, जन्ती पक्षका तीन जनाले भान्सेलाई कोसेली बुझाएर खबर गर्छन्। त्यसपछि दुलहीका दिदी–बहिनीले जन्तीलाई अनौठो पहिरन र सजावटले स्वागत गर्छन्, जसले दुवै पक्षमा हाँसो र रमाइलो साटासाट हुन्छ।

मगर समुदायमा प्रायः प्रेम विवाह हुन्छ, जुन पाँच चरणमा सम्पन्न हुन्छ। भत्कुरी त्यसमध्ये एक संस्कृति हो। पहिले खूर्सानीको तमाखु खुवाउने, सिस्नोमाथि गुन्द्री राख्ने चलन थियो, तर अहिले व्यवस्थित हुँदै गएको छ।

भागेर विवाह गरेपछि भित्र्याउने, चोर सबुदी, सोधनी, माइती मान्ने र दुर्पन फर्काउने चरण पूरा गरेपछि विवाह सम्पन्न हुन्छ। यो परम्पराले मगर समुदायको सांस्कृतिक पहिचान र सामाजिक एकतालाई जीवन्त राखेको बगाले बताउँछन्।

वैशाख १२, २०८२ शुक्रबार ०९:२४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।