गर्भवतीलाई निःशुल्क दिइने आइरन चक्की खरिदमा झेल : भण्डारमा चक्की छ तर वैशाख १७ पछि बाँड्नै मिल्दैन

गर्भवतीलाई निःशुल्क दिइने आइरन चक्की खरिदमा झेल : भण्डारमा चक्की छ तर वैशाख १७ पछि बाँड्नै मिल्दैन

काठमाडौं : बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्टोरमा आइरनको करिब ४८ हजार चक्की छ। तर वैशाख १७ पछि ती चक्की गर्भवती महिलाले प्रयोग गर्न सक्ने छैनन्। कारण हो प्रयोगको मिति सकिनु।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले प्रदेशको समेत बजेट तानेर एकै पटक ठूलो मात्रामा केन्द्रबाटै आइरन चक्की किन्यो। प्रयोग मिति एक वर्षको मात्रै रहेको चक्की किनिएको थियो।

उसले केन्द्रबाट २० करोडमा ठूलो परिमाणमा आइरन चक्की किनेर सातै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत स्वास्थ्य संस्थाहरूमा पठाइयो। बागमतीमा जस्तै अन्य स्वास्थ्य संस्थाहरूमा पनि आइरन चक्की स्टक देखियो। तर प्रयोग मिति वैशाख १७सम्म मात्रै छ।

म्याद सकिएको आइरन चक्की प्रयोग गर्न सकिन्न। उता विभागले नयाँ म्यादको चक्की किनेको छैन। विभागले एकै पटक ठूलो परिमाणको चक्की किन्नु तर म्याद सकिने मिति एक वर्षको मात्र हुँदा भण्डारमा टन्न चक्कीहरू हुँदा पनि गर्भवतीले निःशुल्क पाउने चक्की १७ गतेपछि पाउने छैनन्।

उकेराले प्राप्त गरेको तथ्यमा  सरकारले गर्भवती महिलालाई गर्भ रहेको तीन महिनादेखि सुत्केरी भएको ४२ दिनसम्म निःशुल्क आइरन चक्की दिने गरेको छ।

यही आइरन चक्की तत्काल प्रदेश र जिल्ला र स्थानीय तहले व्यवस्थापन नगरे वैशाख १७ पछि महिलाले कि म्याद सकिएको चक्की प्रयोग गर्नुपर्ने छ कि बाहिर किन्नुपर्ने छ।

किनकि सरकारी भण्डारमा रहेको आइरन चक्कीको  प्रयोग गर्न मिल्ने मिति (एक्सपायर डेट) नै २०८२ वैशाख  १७ (२०२५ अप्रिल ३०) छ।

उकेराको खोजमा स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले डेढ वर्ष अघि मात्रै करिब एक वर्ष प्रयोग गर्न मिल्ने मिति भएको आइरन चक्की किनेर पठाएको थियो।

आइरन चक्की खरिदमा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पनि भूमिका हुन्छ। उकेराको खोजमा विभागको व्यवस्थापन महाशाखाले २०७९ असोज १४ (२०२२ सेप्टेम्बर ३०) मा टेन्डर गरेर २० करोड मूल्यको  ‘आइरन वीथ फोलिक एसिड’ खरिद प्रक्रिया अगाडि बढाएको खुल्यो।

सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय प्रणालीमा हेर्दा त्यसयता विभागले थप ‘आइरन वीथ फोलिक एसिड’को खरिद गरेको देखिँदैन। ‘फोलिक एसिड सहितको आइरन’को टेन्डर कुन सप्लायर्स कम्पनीलाई दिइएको हो खुलेको छैन।

बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाले गत वर्ष मात्रै आइरन चक्की  प्रदेशमा आएको जानकारी दिए।

एकै चोटि ठूलो मात्रामा चक्की आएको तर प्रयोग गर्न मिल्ने अन्तिम मिति थोरै हुँदा भण्डारमा चक्की हुँदाहुँदै पनि गर्भवती महिलाहरूलाई दिन नसक्ने अवस्था आउन लागेको उनले बताए।

आइरन चक्की किन्न प्रदेशमा बजेट छुट्टिएको थियो। तर विभागले ती सबै बजेट केन्द्रमा तान्यो। अनि महाशाखाले एकै लटमा २० करोडको आइरन चक्की किन्यो। कति परिमाण चाहिन सक्छ वास्तै गरेन।

आवश्यकताका आधारमा भन्दा पनि ठूलो परिमाणमा चक्की किन्ने ध्याउन्नमा लागेको विभाग नेतृत्वले चक्की किनेर तल्लो तहसम्म पठायो। माग भन्दा बढी चक्की आएकाले भण्डारमा चक्की रहँदारहँदै बाँड्नै नमिल्ने अवस्थामा पुग्न लाग्यो। यसले आइरन चक्की खरिदमा विभागको बदनियत प्रस्ट देखिन्छ।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले खरिद गरेर पठाएको ‘आइरन वीथ फोलिक एसिड’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस-जी-एनसीबी-५४-एफडब्लुडि-२०७९-८०’ देखिन्छ।

धेरै परिमाण तर कम अवधिको मिति

बागमती मात्रै हैन, कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पनि ‘फोलिक एसिड सहितको आइरन (फेरोयुस सल्फेट ६० एमजी प्लस फोलिक एसिड ट्याब्लेट ०.४ एमजी)’ आइरन चक्कीको अभाव हुने अवस्था आएको जानकारी दियो।

त्यता पुगेको चक्कीको प्रयोग अवधि सकिने मिति पनि वैशाख १७ नै छ। त्यहाँ २०८० भदौमा चक्की पुगेको देखियो। भण्डारमा आइरन चक्की भए पनि प्रयोग गर्न नमिल्ने अवस्था आएको र प्रदेश अन्तर्गतका विभिन्न अस्पतालहरूबाट माग आए पनि पठाउन नसकिएको प्रदेश आपूर्ति केन्द्रका एक कर्मचारीले बताए।

बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. सापकोटा पनि आइरन चक्कीको अभाव हुने अवस्थामा पुगेको बताउँछन्।

‘हामीकहाँ करिब एक वर्षको डेट भएको आइपुगेको थियो,’डा. सापकोटाले भने,‘गत वर्षको मार्चतिर आयो, यो मार्चमा डेट सकियो।’

बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्टोरमा मात्रै करिब ४८ हजार प्रयोगको मिति नाघ्न लागेको आइरनको ट्याब्लेट रहेको डा. सापकोटाले जानकारी दिए। उनले तत्काल अभाव हुन नदिन करिब दश लाख नयाँ आइरन चक्की किन्न लागेको बताए।

प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकी प्रदेशका महानिर्देशक डा. रेखा पौडेलले पनि स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले दिएको आइरन चक्की प्रयोग गरिसक्नुपर्ने मिति वैशाख  १७ (२०२५ अप्रिल ३०) मा सकिने बताइन्।

उनले पनि तत्कालका लागि प्रदेशमा बजेट मागेर आइरन चक्की किन्ने प्रयास भइरहेको जानकारीका दिइन्। तर, कति आइरन चक्कीको प्रयोग गर्न मिल्ने मिति नाघ्न (एक्सपायर हुन)लागेका छन् भन्ने विषय भने एकिन हुन बाँकी रहेको उनले बताइन्। 

वैशाख ११, २०८२ बिहीबार २२:४८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।