काठमाडौंको प्रदूषण उच्चतम विन्दुमा हुँदा एमालेको पटका आतंक

काठमाडौंको प्रदूषण उच्चतम विन्दुमा हुँदा एमालेको पटका आतंक

काठमाडौं : वायु प्रदूषणसम्बन्धी अन्तर्राष्ट्रिय सूचकाङ्क अनुसार काठमाडौं अहिले विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको दोस्रो स्थानमा छ। यस्तो गम्भीर अवस्थामा सरकार नेतृत्व गरिरहेको दल प्रदूषण रोक्न रणनीति बनाउने र कार्यान्वयन सुनिश्चित गर्ने भूमिकामा हुनु हो। तर काठमाडौंमा आज देखिएको दृश्य भने त्यसको ठ्याक्कै उल्टो थियो- सत्तारूढ दल नेकपा एमालेले वातावरण विभागको प्रदूषण नियन्त्रणको नीति र चेतावनी दुबैलाई कुल्चिँदै सडकमा पटका आतंक गर्यो।

लोकतन्त्र दिवसको अवसर पारेर एमालेले आयोजना गरेको ‘जनताले जितेको दिन, अ यूथ सेलिब्रेसन’ शीर्षकको कार्यक्रम अन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा कार्यकर्ताहरूको जुलुस निस्कियो। यसले एकातर्फ काठमाडौंको सवारी व्यवस्थालाई अस्तव्यस्त बनायो, अर्कोतर्फ शहरको वायु र ध्वनि प्रदूषण थप चुलियो।

काम सकेर घर फर्किरहेका सर्वसाधारण ट्राफिक जाममा त अल्झिए नै घर पुगेर पनि सुख्ख पाएनन्। सर्वसाधारणले पटका आतङ्क सहनुपर्यो। आँखा पोल्ने, नाक चिलाउने समस्याबाट ग्रसित नागरिकहरूले थप सास्तीको बेहोर्नुपर्यो।

ध्वनि र धुवाँ उत्पन्न गर्ने यस्ता गतिविधि यस्तो संवेदनशील अवस्थामा अविवेकी काम मात्र होइन वातावरणीय असंवेदनशीलताको स्पष्ट प्रमाण हो।

केही दिनअघि मात्र वातावरण विभागले राजधानीको वायु प्रदूषण ‘चिन्ताजनक’ अवस्थामा पुगेको भन्दै तत्काल कडाइका साथ नियन्त्रण गरिने घोषणा गरेको थियो। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई ‘कुनै पनि हिसाबले छुट नदिइने’ भन्दै सार्वजनिक रूपमा चेतावनी दिएका थिए। विभागले निर्माण कार्य, खुला फोहोर जलाउने र सवारीसाधनबाट निस्कने धुवाँलगायतका विषयमा निगरानी बढाउने बताएको थियो।

एकातर्फ आम नागरिकमाथि कारबाहीको चेतावनी दिइन्छ, अर्कोतर्फ सत्तारूढ दलले खुलेआम उलंघन गर्छ। यस्तो दोहोरो मापदण्डले सरकारको नीति प्रति विश्वसनीयता घट्ला वा बढ्ला ? 

 

वैशाख ११, २०८२ बिहीबार २२:१३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।