आन्दोलनरत शिक्षकलाई तीन दिन भित्र विद्यालय फर्किने वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई तीन दिनको समयसीमासहित आदेश दिएको छ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शुक्रबार जारी गरेको आदेशमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय संसद् सचिवालय, कानुन मन्त्रालय, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलगायतका सरोकार निकायलाई निर्देशन दिइएको हो।
अधिवक्ताद्वय श्रवणकुमार चौधरी र माधवराज शर्मा पोख्रेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आन्दोलनरत शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न आग्रह समेत गरेको छ। देशभरका बालबालिकालाई नियमत रुपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगराउन आदेशमा भनिएको छ।
शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौ विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको भन्दै उक्त परीक्षा तोकिएको समयमा गर्न अदालतले आदेश दिएको छ।
गत चैत २० गतेदेखि काठमाडौंमा शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य मागसहित आन्दोलनमा छन्।
वैशाख ११, २०८२ बिहीबार २१:०६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।