‘उपकरण खरिदमा विवादित’ शब्दप्रति डा संगीता र श्रवणको खण्डन, हेडलाइनको खाकासहित काउन्सिलको निर्देशन

काठमाडौं : स्वास्थ्य सेवा विभागमा कार्यरत रहँदाका गतिविधिका आधारमा उकेरामा डा संगीता कौशल मिश्रा र डा श्रवणकुमार थापाबारे प्रकाशित समाचारको खण्डन प्रकाशित गर्न नेपाल प्रेस काउन्सिलले हेडलाइनको खाका सहित निर्देशन दिएको छ।
उकेरामा २०८१ असोज ५ मा प्रकाशित समाचारमा प्रयोग भएको ‘उपकरण खरिदमा विवादित’ शब्दमा आपत्ति जनाउँदै मिश्रा र थापाले काउन्सिलमा दिएको उजुरीको आधारमा काउन्सिलले हेडलाइनको खाका नै पत्रमा उल्लेख गर्दै उकेरालाई निर्देशनात्मक पत्र पठाएको हो।
स्वास्थ्य मन्त्रालयले विभागमा कार्यरत यी दुवै चिकित्सकसहित अन्य कर्मचारीहरूको सरुवा गर्ने निर्णयको समाचार ‘उपकरण खरिदमा विवादित डा. संगीता र श्रवणकुमारको सरुवा, विभागमा विकास, व्यवस्थापनमा पवनजंग’ शीर्षकमा प्रकाशित गरेको थियो।
उजुरीकर्ताले उजुरीमा सार्वजनिक पद धारणा गरेको व्यक्तिको बारेमा मिथ्या भ्रामक र झुटा ब्यहोरा प्रकाशित गरेको भन्दै कारबाहीको माग गरिएको थियो। यी दुवै विभागमा कार्यरत रहँदा अगाडि बढेका खरिद प्रक्रिया र त्यसमा देखिएको बदमासीबारे उकेराले निरन्तर समाचार प्रकाशित गरेको थियो।
त्यसबारे यी दुबैबाट कुनै खण्डन आएको थिएन। उनीहरूको सरुवापछि विभागमा कार्यरत रहँदा भएका कामका आधारमा ‘उपकरण खरिदमा विवादित’ शब्दबारे आपत्ति जनाउँदै परेको उजुरीबारे उकेराले काउन्सिललाई डा मिश्रा र डा थापाबारे उकेरामा प्रकाशित समाचारको लिङ्कसहित लिखित जवाफ पठाएकोमा ‘उजुरीकर्ताको चित्त नबुझेको’ भन्दै कस्तो हेडलाइनमा खण्डन समाचार प्रकाशित गर्ने भन्दै काउन्सिलले वैशाख ९ मा निर्देशन पत्र पठाएको हो।
उकेराले डा मिश्रा विभागको प्रमुख थिइन् भने थापा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशक थिए। उनीहरूको कार्यकालमा भएका खरिद र त्यसका मापदण्डहरूको अध्ययनका क्रममा देखिएका तथ्यको आधारमा उकेराले समाचार प्रकाशित गरेको थियो।
सम्बन्धित जिम्मेवारीमा रहँदा गरेको कामका आधारमा सरुवाको समयमा प्रयोग भएको शब्दको आधारमा काउन्सिलमा उजुरी पर्यो। काउन्सिलले सामग्रीको अनुगमन गर्दा... डा. मिश्रा यस अगाडि भएका स्वास्थ्य उपकरण खरिदमा जोडिँदै आएका पात्र हुन्, विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकमा रहेका अर्का विवादित डा. श्रवण कुमार थापाको स्थानमा डा. पवनजंग रायमाझी आएका छन्, मिश्रा र थापा दुवै मोहन बस्नेतको कार्यकालमा सरुवा भएका थिए, यी दुवै विभाग अन्तर्गत भएका खरिद मिलेमतोमा मुछिएका कर्मचारीहरू..." भनी सम्बन्धित पक्षको भनाइबेगर एकपक्षीय रूपमा सामग्री सम्प्रेषण भएको देखिएको छ’ निष्कर्ष निकाल्दै समाचारसँग सम्बन्धित पक्षको भनाइलाई स्थान नदिई एकपक्षीय रूपमा समाचार सामग्री प्रकाशित गरेको भन्दै तीन दिने स्पष्टीकरण सोधेको थियो।
उकेराले ती शब्दको प्रयोगको आधार खुलाउँदै पठाएको जवाफमा उजुरीकर्ताको चित्त नबुझेको भन्दै उजुरीकर्ताले काउन्सिलमा पठाएको प्रतिक्रियाको कुन हरफदेखि कुन हरफसम्म उल्लेख गर्ने र हेडलाइन के राख्ने भन्नेसमेत उल्लेख गरेर तीन दिने निर्देशन पत्र पठायो।
काउन्सिलमा डा मिश्रा र थापाले पठाएको प्रतिक्रिया
काउन्सिलको निर्देशन पत्रमा समाचारको शीर्षक सहित उजुरीकर्ताको नामसहित खण्डन’ मा हेडलाइन राखेर दुवै उजुरीकर्ताको प्रतिक्रियाको पहिलो हरफसहित बुँदा (क) देखि (घ) सम्म प्रकाशित गर्न निर्देशन दिएकाले दुवैको प्रतिक्रिया जस्ताको त्यस्तै राखिएको छ।
यस विषयमा काउन्सिलमा परेको उजुरीदेखिको निर्देशनसम्मका सबै विवरण
उकेराको उजुरी सम्झाएपछि ९ महिनापछि जवाफ तर अपूरो
काउन्सिलको हवाला दिँदै एक अनलाइन न्युज पोर्टलमा उकेरासहितबारे प्रकाशित एक समाचारबारे उकेराले पठाएको उजुरीबारे काउन्सिलले नौ महिनापछि जवाफ पठायो, त्यो पनि अपुरो। नेपालप्रेस डटकममा साउन १७ मा ‘३१ वटा युट्युब च्यानलमाथि प्रेस काउन्सिलको कारबाही, ३६ न्युज पोर्टल निगरानीमा’ शीर्षकमा समाचार प्रकाशित गरिएको थियो।
समाचारमा निगरानीमा रहेका न्युज पोर्टको सूचीमा उकेरासमेत रहेको उल्लेख थियो। समाचारमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र काउन्सिलका सह प्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिलाई स्रोतको रूपमा उल्लेख गरिएको थियो।
यसबारे उकेराले काउन्सिलमा २०८१ साउन १८ मा सो अनलाइनको समाचारमा उल्लेख भए अनुसार उकेरा डटकमलाई काउन्सिलको कुनै विषयमा कारबाही तथा विशेष निगरानीमा राख्ने निर्णय भएको हो भने त्यसको जानकारी र यदि उकेरा काउन्सिलको विशेष निगरानीमा रहेको हैन भने गलत समाचार प्रकाशित गर्ने अनलाइनमाथि कारबाहीको माग सहित निवेदन दिएको थियो।
लामो समयसम्म काउन्सिलले उकेराको उजुरीबारे कुनै जानकारी दिएन। मिश्रा र थापाको ताकेता निर्देशनको जवाफसँगै उकेराले माघ ६ मा काउन्सिलको पत्रमा नखुलेको विषयसँगै उकेराको उजुरी पत्रको प्रक्रियाबारे समेत स्मरण गराएको थियो।
वैशाख ९ मा आएको पत्रमा मिश्रा र थापाको विषयसँगै सो समाचारबारे समेत उल्लेख गरेको छ। अनुगमन अधिकृत महेन्द्रराज सिंहको हस्ताक्षर रहेको पत्रमा ‘साउन १५ गते जारी विज्ञप्तिमा केही सामाजिक सञ्जाल बाहेक कुनै पनि सञ्चारमाध्यमको नाम उल्लेख नभएको र उकेरालाई निगरानीमा राख्नेबारे कुनै निर्णय नभएको’ उल्लेख छ।
काउन्सिलले पत्रमा निर्णय नभएको उल्लेख गरेको छ। तर निर्णय नै नभएको विषय निर्णय भएको भनेर समाचार प्रकाशित गर्ने न्युज पोर्टलमाथि के कारबाही भयो भन्ने पत्रमा उल्लेख छैन। बिहीबार नेपाल प्रेसमा हेर्दा पुरानै समाचार देखियो।
मिश्रा र थापा विभागमा रहँदा उकेरामा प्रकाशित समाचार
वैशाख ११, २०८२ बिहीबार २०:१२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।