देशमा अराजकता मच्चाउने तत्वसँग सचेत हुनुपर्छ : प्रधानमन्त्री ओली

देशमा अराजकता मच्चाउने तत्वसँग सचेत हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अराजकता मच्चाउने तत्वसँग सचेत हुनुपर्ने बताएका छन्।

अस्थिरता, अराजकता र पश्चगमनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाले सङ्कल्प देखाउनुपर्ने उनको भनाई छ।
      
एमालेको युवा उत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने बताए।

‘वैशाख ११ गते निरङ्कुश राजतन्त्र पराजित र लोकतन्त्रले जितेको दिन हो। यो दिनलाई उत्सवका रूपमा मनाउनुपर्छ। निरंकुश व्यवस्थाका कारण देश लामो समय अन्धकारको युगमा गुज्रिएको थियो। हामीले अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएका हौँ,’ ओलीले भने, ‘ सामन्ती व्यवस्थालाई पुनः फर्काउन खोज्ने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउनेजस्ता जङ्गली र राक्षसी प्रकृति गलत हो। यस्ता कार्य सह्य हुँदैनन।’

एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणका कारणले राष्ट्र विरोधी तत्वहरूले एमालेविरुद्ध हरेक दिन भ्रम फिजाउने कार्य गरेको आरोप लगाए। एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्ष्यका साथ बनेको दोहोर्याए।

युवालाई भड्काउने अनेक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका नागरिकलाई भड्काउने प्रयास भएकामा  यसतर्फ सचेत हुनुपर्ने बताए।

वैशाख ११, २०८२ बिहीबार १९:३७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।