गगन भन्छन्- ‘कम्प्रोमाइज गर्न सक्दैनौँ, परिआए सरकारबाट बाहिरिन्छौं’

काठमाडौं : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आधारभूत कुरामा सम्झौता गर्नुपर्ने अवस्था आएमा सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाली काङ्ग्रेस बाध्य भएर गठबन्धनमा रहेको भन्दै आधारभूत कुरामा पनि सम्झौता गरेर बस्नुपर्यो भने सरकारबाट बाहिरिने बताए।
‘अहिले मैंले समस्याको कुराहरू गरें। तर हामीले समाधान पनि दिनुपर्छ। हाम्रा बाध्यताहरू छन्, एक्लै छैनौँ, सरकारमा छौँ। कतिपय कुरामा कम्प्रोमाइज गरेका छौँ। तर आधारभूत कुरामा कम्प्रोमाइज गर्न सक्दैनौँ। हामीले यो भन्न सक्नुपर्छ, परि आएको खण्डमा सरकारबाट बाहिर जान्छौँ। सरकार मात्रै सबैभन्दा ठूलो कुरा होइन,’ थापाले भने।
यस्तै, उनले संघीयताको लोकप्रियता छैन भनेर नभागेर नागरिकहरूसँग बसेर संवाद गरेर सुधार गर्दै लानुपर्ने समेत बताए। ‘संघीयताले जसरी काम गर्नुपर्ने थियो त्यस हिसाबले गरिरहेको छैन। त्यसैले संघीयताको लोकप्रियता छैन भनेर भाग्ने होइन। नागरिकहरूसँग बसेर संवाद गर्ने हो। सच्चाउनुपर्ने कुरा सच्चाउने हो,’ उनले भने।
वैशाख ११, २०८२ बिहीबार १९:०५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।