जसले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्छ उसैलाई गभर्नर बनाउनुपर्छ : कांग्रेस प्रवक्ता महत

जसले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्छ उसैलाई गभर्नर बनाउनुपर्छ : कांग्रेस प्रवक्ता महत
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न नहुने बताएका छन्।

बीपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययन तथा विकास संस्थापनले बिहीबार आयोजना गरेको ‘आगामी बजेटका प्राथमिकताहरू’ विषयक विशेष अन्तरसंवाद कार्यक्रममा पूर्व अर्थमन्त्रीसमेत रहेका डा महतले राजनीतिक पूर्वाग्रह नराखी योग्य र व्यावसायिक व्यक्तिलाई गभर्नर नियुक्त गरिनुपर्ने बताए।

‘गभर्नर नियुक्तिमा  ढिलाइ हुनु दुर्भाग्यपूर्ण कुरा हो’, डा.महतले भने, ‘जसले निरपेक्ष भावले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्छ त्यस्तो व्यक्तिलाई गभर्नर नियुक्त गर्नुपर्छ।’

आगामी आर्थिक वर्षको बजेट सन्तुलित र अनुशासित हुनुपर्ने भन्दै उनले आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन हुनुपर्ने बताए। मौद्रिक नीति र वित्त नीतिलाई लयमा लैजानुपर्ने उनको भनाइ थियो।
     
प्रवक्ता डा महतले प्रशासनिक खर्च घटाएर पुँजीगत खर्च बढाउनेगरी बजेट व्यवस्थापन हुनुपर्ने सुझाव दिए। देखाउनकै लागि ठूलो बजेट ल्याइने गरेको दृष्टान्त प्रस्तुत गर्दै उनले भने, ‘आम्दानी स्रोतको सुनिश्चितता हुनुपर्छ। पुँजीगत खर्च बढाउनुपर्छ, त्यसैले बजेट लोकप्रिय हैन अनुशासित हुनुपर्छ । प्राथमिकीकरणका आधारमा बजेट बनाइनुपर्छ।’ 
     
सामाजिक सुरक्षा, शिक्षा, पर्यटन, सूचना प्रविधि, उत्पादनमूलक क्षेत्र आदिलाई बजेटले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

वैशाख ११, २०८२ बिहीबार १८:३९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।