बालेनप्रति सुनिताको कटाक्ष- ‘स्टन्ट गरेर देश बन्दैन’

बालेनप्रति सुनिताको कटाक्ष- ‘स्टन्ट गरेर देश बन्दैन’

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहप्रति कटाक्ष गरेकी छन्। उनले बालेनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा देखावटी स्टन्ट गरेर राष्ट्र निर्माण नहुने बताइन्।

एमालेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै उनले इमान्दार काम नै देश विकासको मुख्य आधार भएको प्रस्ट पारिन्। डंगोलले काठमाडौंका मेयर शाहलाई लक्षित गर्दै भनिन्- ‘अहिले हामीले देख्छौं। धेरै जनाले स्टन्ट गर्नुहुन्छ। बोल्नुहुन्छ। पपुलर बन्नुहुन्छ। पपुलिष्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ। अरुलाई गालि गरेरनै देश बन्छ जस्तो पनि लाग्छ। तर स्टन्ट गरेर देश बन्दैन। देश बनाउने हो भने काममा इमान्दारिता हुनुपर्छ। त्यसैले हामी स्टन्ट गर्ने युवा हैनौं। काम गर्ने युवा बनौं, हामी अराजक युवा हैनौं।’

उनले पछिल्लो समय आफू सामाजिक सञ्जालमा विभिन्न आरोपहरूको शिकार हुनुको कारण पनि स्पष्ट पारिन्। ‘मैले गरेको काम देश र सहरभित्र मात्रै होइन, अन्तराष्ट्रिय रुपमा पनि काठमाडौंमा गरेको राम्रो कामको अनुभव साट्नको लागि निमन्त्रण गर्नुभयो। संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहे, त्यसले पनि धेरैलाई पोल्यो। ती व्यक्तिहरू राष्ट्रविरोधि हुन् अहिले पनि ती तत्वहरू सल्बलाइरहेका छन्,’ उनले भनिन्। 


प्रधानमन्त्री केपी ओलीको प्रसंग उल्लेख गर्दै उनले राष्ट्रवादी सोच र विकासमुखी कामले नै ओलीलाई पनि आलोचना र आक्रमणको सामना गर्नुपरेको बताइन्। 

वैशाख ११, २०८२ बिहीबार १८:१६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।