उकेरा प्रभाव : क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले दियो ५ लाख, बाँकी रकमबारे मौन

काठमाडौँ : नेपाल क्रिकेट संघले लिग खेल्नेक्रममा घाइते भएका नेपाली राष्ट्रिय टिमका सदस्य सिद्धान्त लोहनीको उपचारमा ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। वैशाख ९ को बैठकले लोहनीलाई उपचार खर्च बापत ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
२०८० जेठ १५ गतेदेखि २६ गतेसम्म नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न स्वीकृत दिएर मधेस प्रदेश क्रिकेट संघले जनकपुरमा आयोजना गरेको महेन्द्रनिधि ट-२० प्रतियोगितामा कोशी प्रदेश र गण्डकी प्रदेशबीचको खेलको क्रममा लोहनीको खुट्टाको लिगामेन्ट च्यातिएको थियो।
क्यानले अनुमति दिएको र क्यानसँगै आबद्ध संघले आयोजना गरेको लिग खेल्नेक्रममा करिब एक वर्ष अगाडि घाइते भएका उनी निरन्तर अपचारमा रहँदा पनि क्यानले बेवास्ता गरेको विषयमा पहिलो पटक उकेराले समाचार प्रकाशित गरेको थियो। उनी उपचारका लागि अहिले भारतमा छन्।
लिग खेल्दा घाइते भएका अन्य खेलाडीको सबै उपचार क्यानले ब्यहोरे पनि लोहनीको हकमा भने क्यानले विभेदपूर्ण व्यवहार गरिरहेको छ। लोहनीको पाँच पटक नेपालमा र एक पटक भारतमा अप्रेसन भइसकेको छ। उपचारमा २० लाख बढी खर्च भइसकेको लोहनीको दाबी छ।
क्यानले यस अगाडि उपचारका लागि एक लाख दिएको थियो। वैशाख ९ को निर्णयपछि उनले जम्मा ६ लाख खर्च पाउने भएका छन्। उपचारको अन्य रकम क्यानले दिन्छ या दिन्न प्रस्ट छैन।
उनले उकेरासँग भने, ‘२० लाख बढी खर्च भइसक्यो। अब एउटा सर्जरी बाँकी छ। अस्पतालले साढे ६ हजार डलर खर्च लाग्छ भनेका छन्।’
सिद्धान्तको अवस्थाबारे गत वैशाख २ बाट उकेराले निरन्तर समाचार प्रकाशित गरेको थियो। उनले सामाजिक सञ्जालमा भिडियो राखेपछि अन्य सञ्चारमाध्यमले पनि यो विषयमा फलोअप गरेको थियो।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सिद्धान्तको विषयमा अनलाइन मार्फत बोर्ड बैठक बसेर निर्णय गरेको र थप उपचारको लागि पनि निर्णय गर्ने बताए।
‘९ गते हाम्रो अनलाइन मार्फत बोर्ड बैठक बसेको थियो। सोही बैठकको निर्णय अनुसार सिद्धान्तलाई ५ लाख रुपैयाँ उपचार खर्च निकासा गर्ने निर्णय भएको हो। उनको उपचारमा लाग्ने थप खर्च बारे बोर्डले निर्णय गर्न सक्छ’ उनले भने।
हाल भारतको गुणगाउँमा उपचाररत लोहनीले आफूले बारम्बार ताकेता गर्दा पनि बेवास्ता गरेको क्यानले आलोचना मत्थर बनाउन तत्काल पाँच लाखको निर्णय गरेको शंका गरे।
‘खर्च त अझै हुन्छ। अझै शल्यक्रिया सकिएको छैन,’ उनले भने ‘क्यानले अहिलेको माहौल कम गर्न ५ लाख सहयोगको घोषणा गरेको हो कि, थप उपचारमा पनि आर्थिक सहयोग गर्छ यस बारे पारस सर (सचिव पारस खड्का) सँग बुझ्छु।’
खेलकुद बीमा ध्यान नदिँदा बोर्ड बैठकबाट निर्णय
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले २०७८ मै खेलकुद बीमा नीति ल्याएको थियो। जसमा खेलाडीहरूको स्वास्थ्य अवस्था अनुसार उपचारमा आर्थिक सहयोग गर्ने व्यवस्था छ। तर क्यानले ३ महिनाअघि मात्रै खेलकुद बीमा गर्न सुरु गरेको थियो। जसले गर्दा सिद्धान्तको स्वास्थ्य बीमा भएन।
खेलकुद बीमा नीति कार्यान्वयनमा आएपछि खेल्ने क्रममा हुने चोटपटकदेखि ठुला दुर्घटना समेतको जोखिम न्यूनीकरण हुने भनिएको छ। बीमा नीतिमा नेपालमा खेलिने खेलहरूलाई न्यून जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरी तीन भागमा वर्गीकरण गरिएको छ।
यस्तै दुर्घटना भए तत्काल र १८३ दिनभित्र मृत्यु भएका क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने साथै पार्थिव शरीर व्यवस्थापन खर्च, काजक्रिया खर्च, स्थायी पूर्ण अशक्तता सम्बन्धी व्यवस्था पनि गरेको छ। तर समयमै बीमा नगर्दा सिद्धान्तलाई थप आर्थिक भार थपिने देखिन्छ।
वैशाख ११, २०८२ बिहीबार १८:१६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।