रोजगारीको लोभमा ‘नेटवर्किङ विजनेस ट्रेनिङ’ गर्न रक्सौल पुगेका आठ किशोरलाई घर फर्काइयो

रोजगारीको लोभमा ‘नेटवर्किङ विजनेस ट्रेनिङ’ गर्न रक्सौल पुगेका आठ किशोरलाई घर फर्काइयो

जनकपुर : ‘राम्रो कमाई हुन्छ, भविष्य बन्छ’- यही झुटो आश्वासन दिएर मधेश प्रदेशका आठ किशोरहरूलाई भारतको रक्सौलसम्म पुर्याइयो।

रक्सौलको दुई अपार्टमेन्टमा थुनिएका ५६८ व्यक्तिमध्ये आठ जना नेपाली किशोर पनि परे, जसलाई नेटवर्किङ व्यवसायको नाममा तालिम दिइँदै थियो। त्यो पनि नक्कली कम्पनी ‘वीनमेकर’ को आवरण।

भारतीय प्रहरीले छापा मारेर सो अपार्टमेन्टबाट सबैलाई पक्राउ गर्यो। अनुसन्धानपछि खुलासा भयो- ती आठ जना किशोर १८ वर्ष मुनिका थिए, र सबैजना रोजगारीको लोभमा भारत पुगेका थिए। त्यसपछि उनीहरूलाई भारतस्थित एक सुधारगृहमा लगेर राखिएको थियो।

उनीहरूलाई दिल्लीस्थित किन इन्डिया  संस्थाका नवीन जोशी र नेपालका राष्ट्रिय बाल अधिकार परिषद का मधेश प्रदेश समन्वय अधिकृत संजीव महतोको सक्रियतामा बिहीबार घर फर्काइयो।
 
वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट मधेश प्रदेशका विभिन्न जिल्लाका आठ जना किशोरहरूको उद्धार गरी आफन्तलाई जिम्मा लगाइएको छ।

उनीहरूलाई सो नक्कली कम्पनीका कर्मचारीहरूले अन्य साथीहरूलाई पनि राम्रो पैसा कमाउने प्रलोभन दिएर रक्सौल बोलाउन लगाउने कार्य गराएको किन इन्डिया संस्थाका नवीन जोशीले जानकारी दिए।

वैशाख ११, २०८२ बिहीबार १७:४०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।