अधिकार विकेन्द्रीकरण नगर्दा जनतामा असन्तुष्टि बढ्यो : डा.शशांक कोइराला

अधिकार विकेन्द्रीकरण नगर्दा जनतामा असन्तुष्टि बढ्यो : डा.शशांक कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले केन्द्रीकृत शासन भइरहेकाले जनतामा असन्तुष्टि बढेको बताएका छन्। 

बिहीबार लोकतन्त्र दिवसका अवसरमा डा.कोइरालाले आफ्नै निवासमा आयोजना गरेका छन्। चियापान कार्यक्रममा उनले नेताहरूकै कारण समस्या बढिरहेको औंल्याए। उनले वडा-वडासम्म बजेट र अधिकार विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता रहेको बताए।

‘अहिले हामीले संविधान पाएको छौं। दश वर्ष भइसक्यो यसलाई समीक्षा गरेर के के परिवर्तन गर्ने हो गर्नुपर्छ। वडासम्म अधिकार विकेन्द्रीकरण गर्नुपर्छ। सबै केन्द्रीकृत अधिकार भयो भने त केन्द्रको त राजा शासन भइहाल्यो नि। त्यसैले साँच्चिकै जनताको अधिकार जनतामा दिने हो भने विकेन्द्रीकरण गरेर गाउँसम्म पुर्याउन जरुरी छ,’ उनले भने, ‘नेताहरूको दिमागमा अझैपनि केन्द्रीकृत छन्। उनीहरू चाहँदैनन् आफ्नो पावर दिनलाई। उनीहरू कुरा बुझ्दैनन्। बजेट पनि मध्यम वर्गलाई पनि छुने किसिमको छैन। केन्द्रीकृत शासनमा कसरी देश विकास हुन्छ ?’

त्यस्तै उनले संघ, प्रदेशमा केन्द्रले कुनै पनि किसिमको हस्तक्षेप गर्न नमिल्ने धारणा राखे। लोकतन्त्रको सफल कार्यान्वयनको ठूलो जिम्मेवारी थपिएको भन्दै दुइवटा ठूला दलले मिलेर नेतृत्व गरिरहँदा पनि कार्यान्वयन गरेन भने प्रश्न चिन्ह खडा हुने उनको भनाइ छ।

कोइरालाले महाराजगञ्ज स्थित आफ्नै निवासमा आयोजना गरेको चियापानमा नेता कृष्ण सिटौँला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, महेश आचार्य, पुष्पा भुसाल, दीपक खड्का, एनपी साउद लगायतका नेताहरूको उपस्थित छ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको चहलपहल शुरू भइरहेको अवस्थामा डा.कोइरालाको चियापानलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

वैशाख ११, २०८२ बिहीबार १४:३२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।