पाकिस्तानले कराँचीबाट भारतीय सीमातर्फ पठायो १८ लडाकु जेट

एजेन्सी : जम्मू-कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको बन्दुकधारीहरूको आक्रमणमा २६ पर्यटकको ज्यान गएपछि भारतले कारबाही गर्नसक्ने आँकलनका साथ पाकिस्तानको सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।
पाकिस्तानी सेना प्रमुख असिम मुनीरले मंगलबार साँझ तीनवटै सेनाका कमाण्डरहरूको आकस्मिक बैठक आयोजना गरेका थिए। बैठकपछि कराँची एयरबेसबाट भारतसँगको सीमातर्फका लाहोर र रावलपिन्डीस्थित वायुसेना स्टेशनहरूमा १८ लडाकु विमान पठाइएको छ।
पाकिस्तान प्रशासित कश्मीर (पीओके)मा भारतबाट आक्रमण हुनसक्ने आशंकामा नियन्त्रण रेखा (एलओसी) वरपर सेना परिचालन बढाइएको छ। लगभग ७४० किलोमिटर लम्बाइको एलओसी क्षेत्रमा लस्कर समूहका लन्च प्याडहरू रहेको भन्दै पाकिस्तानी सेनाले तयारी बलियो बनाएको छ। त्यसैक्रममा पाकिस्तानले अरब सागरमा फायरिङ अभ्याससमेत सुरू गरेको छ।
यद्यपि, पाकिस्तानले भारतबाट तत्काल जमिनमै सैन्य कारबाही नहुने आँकलन गरेको समाचार छ। तर पनि, आफ्ना २० लडाकु विमान स्क्वाड्रनहरूलाई उच्च सतर्कतामा राखिएको छ। बुधबार पनि सेना प्रमुख मुनीरले सुरक्षा सम्वन्धी थप छलफलका लागि कमाण्डरहरूलाई बैठकमा बोलाएका थिए।
पाकिस्तानले अप्रिल २४-२५ मा कराँची तटबाट आफ्नो विशेष आर्थिक क्षेत्रभित्रको तटीय क्षेत्रमा सतहबाट सतहमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्र परीक्षण गर्ने सूचना जारी गरेको छ।
यसैबीच भारतको केन्द्र सरकारले भारतभर पाकिस्तान सरकारको एक्स ह्यान्डलमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी विदेश विभागले पनि आफ्ना नागरिकहरूका एडभाइजरी जारी गर्दै जम्मू-कश्मीर नजान सल्लाह दिएको छ।
वैशाख ११, २०८२ बिहीबार १४:१५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।