‘जलाकी’मा पनि धिरज र उपासनाकै जोडी, निर्देशक भन्छन्- ‘कथाले माग्यो’

काठमाडौं : एकपछि अर्को फिल्ममा एउटै कलाकार राख्ने काम निर्माण टिमले बिरलै गरेका छन्। पहिलो फिल्मपछि दोस्रोमा दोहोरिने सम्भावना कमै हुन्छ।
तर, निर्देशक अशोक मगरले गत वर्षको सफल फिल्म ‘खुस्मा’का जोडी अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीलाई लिएर दोस्रो फिल्मको छायांकन थालेका छन्।
उनले निर्माण भइरहेको फिल्म ‘जलाकी’को शीर्ष भूमिकामा अभिनेता मगरलाई अनुबन्धित गर्दै पहिलो फिल्मकै जोडीलाई निरन्तरता दिएका छन्।
पहिलो चरणको छायांकन सकिएको केही दिनपछि निर्देशक अशोकले धिरजलाई फिल्मका लागि पक्का गरेका हुन्। निर्देशक अशोकका अनुसार धिरज दोस्रो चरणबाट छायांकनमा सहभागी हुने छन्।
उकेरासँगको कुराकानीमा निर्देशक मगर समुदायमा सम्झना र मायाको प्रतिकको रुपमा ‘जलाकी’लाई लिने गरिएको बताए।
उनले भने, ‘आस्थाको प्रतिक मानिने ढुंगाले चिनेको स्तम्भलाई बुझाउने गर्दछ। त्यसका लागि पनि धिरज यो फिल्ममा हुनुपर्ने कथाले मागेको हो। उपासना अघिल्लो फिल्मबाट नै सहकार्य गरेको हुनाले उहाँलाई लिइएको हो। अरु कुनै त्यस्तो खास छैन्।’
तत्कालका लागि केही गीतका दृश्यहरु मात्रै खिचिएको उनले बताए। पूरा फिल्मको छायांकन भने एक महिनापछि हुने उनको भनाइ छ। फिल्म रुकुम, म्याग्दी, बागलुङ, पोखरा र दक्षिण कोरियामा समेत छायांकन गरिनेछ।
त्रिकोणात्मक प्रेमकथामा आधारित हुने फिल्ममा धीरज र उपासनासहित सोनम तोप्देन, अस्तित्व भट्टचन र आकृति राजभण्डारी, माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकीले लगानी गर्दैछन्।
शैलेन्द्र डी काकीको छायांकन, राजु रेग्मी मगर लाइन प्रोड्युुसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ।
वैशाख ११, २०८२ बिहीबार १३:३९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।