फिल्म ‘के घर के डेरा : घर नं २’ मा दीपेन्द्रको निर्देशकीय विविधताको परीक्षा

काठमाडौं : ‘के घर के डेरा’ आफैँमा ब्रान्ड बनेको पुरानो फिल्म। त्यही नाममा अहिलेको कथा मिसाएर निर्देशक दीपेन्द्र के खनालले फिल्म बनाए। फिल्म ठिकै चल्यो।
‘के घर के डेरा’मा ‘घर नं २’ थपेर नयाँ फिल्म निर्देशन गरे उनै दीपेन्द्रले।
डेरावालको मुख्य थिमबाट जन्मिएको टाइटलमा घर नम्बर २ सम्म पुर्याउँदा उनले क्यानभास केही फराकिलो बनाउँदै पृथ्वी नै डेरा त हो भन्ने थिम पक्डिएको देखिन्छ।
सफल आख्यानकार बुद्धिसागरको लेखनको कमाल हुनसक्छ फिल्मको प्रचार सामग्रीमा साहित्यिक शिल्पको बलियो छाप देखिन्छ।
‘जति नै तेरो मेरो गरे पनि अन्तिममा पुग्ने घाट नै हो, हुने धुँवा नै हुने हो’ भन्ने सत्यलाई केन्द्रमा राखिएको फिल्मले आम दर्शकलाई कनेक्ट गराउने विश्वासमा देखिन्छन्, निर्देशक खनाल।
फिल्म दृश्यात्मक आख्यान भनिए पनि साइन्स फिक्सन लगायतका केही अपवाद जनरा बाहेकमा देखाउने त समाजकै कथा, चरित्र, प्रवृत्ति नै त हो। जब फिल्ममा समाज बोल्छ, दर्शकको मन हुँडलिन्छ। जसले मन हुँडल्छ नतिजा ‘पूर्णबहादुरको सारङ्गी’को जस्तो आउन पनि सक्छ।
खनाल ‘फिल्म सधैँ जीवनको नजिक हुनुपर्ने’ आफ्नो मान्यता रहेको बताउँछन्। त्यही मान्यता अनुसार ‘के घर के डेरा : घर नं २’ बनेको निर्देशक खनालको दाबी छ।
निर्देशकीय कोणमा दीपेन्द्र सफल देखिन्छन्। विविध फिल्मबाट आफ्नो निर्देशकीय सीप देखाइरहेका छन्। तर, व्यवसायिक रूपमा उनी त्यही रूपमा सफल हुन सकेका छैनन्।
दर्शकलाई कन्भिन्स गर्न कमजोर देखिन्छन् उनी। कतै एकै कलाकारसँग काम गर्दा एकैपन दोहोरिइरहेको पो हो कि!
जेठ २ रिलिज मिति तोकेको ‘के घर के डेरा : घर नं २’ को कथा आख्यानकार बुद्धिसागरले लेखेका छन्। आख्यानमा जमेका उनी फिल्म लेखनमा भने नयाँ हुन्।
फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतको अभिनय छ।
यसमा पनि लिड भूमिकाका कलाकार दीपेन्द्रका फिल्ममा दोहिरिइरहने नै देखिन्छन्। पटक-पटक एकै कलाकारलाई अभिनय गराउनु गलत हैन। निर्देशकले कलाकारको कमजोरी र बलियो पक्ष खुट्याउन सके उम्दा अभिनय गराउन नि सक्छन्।
कतिपय अवस्थामा भने फिल्मको नाम र कथा मात्र फरक हुने तर पात्रको अभिनयको शैली एकै हुनसक्छ। यसले दर्शक आकर्षित हुन सक्दैनन्। मनोटोनस हुनसक्छ। उनका केही फिल्म प्रिजेन्टेसनको सवालमा बलिया हुँदा पनि व्यापारमा कमजोर हुनुको एक कारण यो पनि देखिन्छ।
यो कोणबाट ‘के घर के डेरा : घर नं २’ उनको निर्देशकीय क्षमताको परीक्षा बन्न पनि सक्छ। फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। फिल्ममा छायांकन कृष्णबहादुर थापाको छ।
कार्यकारी निर्माताको रूपमा युवराज कार्की रहेको फिल्मका निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।
वैशाख ११, २०८२ बिहीबार १२:१८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।