‘जार’ ट्रेलरमा सौगात र अनुपको द्वन्द्व

काठमाडौं : वैशाख २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जार’को ट्रेलर सार्वजनिक भएको छ।
साहित्यकार ईन्द्रबहादुर राईको कथामा आधारित फिल्मको ट्रेलरमा श्रीमान् छोडेर अर्को पुरुषसँग भागेकी श्रीमतीले पहिलो श्रीमान्लाई भेटेपछिको द्वन्द्वलाई देखाइएको छ।
फूर्वा छिरिङ लामाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनुप विक्रम शाहीकी श्रीमती (गीताञ्जली थापा)सँग सौगात मल्लले भगाएर विवाह गरेपछिको द्वन्द्व समेटिएको छ।
ट्रेलरमा समाज बसेर गरेको निर्णय र सौगातलाई अनुपले खुकुरी लिएर जंगलमा लखेटेको दृश्य देखिन्छ। फिल्ममा दर्शकले अनुपबिक्रमलाई गाउँले भूमिकामा देख्न पाउनेछन्।
उता सौगात भने तक्माधारी सैनिकको भूमिकामा छन्। यसमा एकको श्रीमती अर्कोले भगाएपछिको कथालाई निर्देशक लामाले जोडेका छन्।
फिल्म सन् १८०० को दशको अन्त्यतिर नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित भएको बताइएको छ। यो कथा सन् १९६१ मा प्रकाशित इन्द्रबहादुर राईको ‘विपना कतिपय’ संग्रहमा संकलित छ।
यो कथामा रुद्रमान, हर्षजित र ठूली गरी तीन पात्रको कथा रहेका छन्। यता फिल्ममा निर्देशक लामाले फिल्ममा भने सौगातलाई रुद्रमान, अनुपविक्रम हर्षजित पात्रको भूमिकामा छन् भने ठूलीको भूमिकामा गीताञ्जलीले अभिनय गरेकी छन्।
गीताञ्जली भारतीय फिल्म उद्योगमा सक्रिय कलाकार हुन्। भारतीय राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेकी गीताञ्जलीले ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड हात पारेकी थिइन्।
उनी अभिनित फिल्म टोरन्टो, बुसान जस्ता फेस्टिभलमा समेत स्क्रिनिङ भएका छन्।
वैशाख ११, २०८२ बिहीबार १०:२७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।