११ वैशाखको त्यो ‘शाही सन्देश’

काठमाडौं : आज देशभर १९औं लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ।
त्यस दिन पूर्वराजा शाहले आफ्नो शाही घोषणामा राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको भन्दै प्रतिनिधिसभालाई पुनःस्थापित गरेका थिए।
ज्ञानेन्द्रको निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो।
यस्तो थियो वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रको शाही सन्देश:
प्यारा देशवासीहरू,
नेपाल अधिराज्यको राज्यशक्तिको श्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवं राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयंगम् गर्दै वर्तमान जनआन्दोलन मार्फत अभिव्यक्त भएको जनभावना एवं आन्दोलनरत सात राजनीतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द् लगायत समग्र समस्याहरूको समाधान गर्न, तत्कालीन प्रधानमन्त्रीको सिफारिशमा नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम २०५६ साल जेठ ८ गते विघटन भएको प्रतिनिधिसभालाई यसै घोषणा मार्फत पुनर्स्थापित गरिबक्सेका छौं।
बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अधि बढाउने जिम्मेवारी बहनगर्न हामी आन्दोलनरत सात राजनीतिक दलहरूलाई आव्हान गर्दछौं। पुनर्स्थापित प्रतिनिधिसभाको बैठक २०६३ साल वैशाख १५ गते शुक्रबार दिनको १ बजे संसदभवन, सिंहदरबारमा बस्ने गरी आव्हान गरिबक्सेका छौं।
नेपाल र नेपालीको बृहत्तर हित यो संसदबाट हुनेछ भन्ने हामीलाई विश्वास छ।
जन आन्दोलनमा जीवन गुमाएका प्रति समवेदना र घाइते एवं आहत भएका सबैप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मुलुक दिगो शान्ति, प्रगति, पूर्ण प्रजातन्त्र र राष्ट्रिय एकतातर्फ अभिमुख हुने विश्वास प्रकट गर्दछौं।
श्री पशुपतिनाथले हामो सबैको कल्याण गरुन्! जय नेपाल!
वैशाख ११, २०८२ बिहीबार ०८:२६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।