जम्मू-कश्मीरमा मारिएका सुदीपको शव बुटवल ल्याइयो, आजै अन्त्येष्टी गरिने (तस्बिरहरू)

बुटवल : भारतको जम्मू-कश्मीरको पहलगाममा भएको बन्दुकधारीहरूको आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव बुटवल ल्याइएको छ।
परिवारका अनुसार शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यसपछि लखनउबाट बुटवलसम्म स्थल मार्ग हुँदै एम्बुलेन्समा ल्याउने व्यवस्था मिलाइएको थियो। बुधबार साँझसम्म शव नेपाल ल्याउने भनिए पनि एम्बुलेन्सबाट ल्याउँदा समय लागेको परिवारले बताएको छ।
आमा, बहिनी र ज्वाइँसहित घुमघामका लागि पहलगाम पुगेका सुदीपको मंगलबार दिउँसो बन्दुकधारीहरूको आक्रमणमा मृत्यु भएको थियो। उक्त आक्रमणमा सुदीपसहित २७ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।
बुटवल कालिकानगरस्थित मनकामना पथमा शव ल्याइएको र आजै त्रिवेणी घाट लगेर अन्त्येष्टि गरिने बुटवल उपमहानगरपालिका-११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए।
सुदीपको शव ल्याउनका लागि वडा नम्बर १४ का वडाध्यक्ष समेत रहेका सुदीपका काका दधिराम न्यौपानेसहितका परिवारका अन्य सदस्य सुनौली पुगेका थिए। सुदीप सहित उनका आफन्त छोड्नका लागि भारतको उत्तरप्रदेशकाे एक जिल्लाका डीएम आफैँ नेपाल आएका थिए।
सुदीपका बुवा शिक्षक हुन्। उनी स्थानीय बुटवल-१८ स्थित भवानी माविमा अध्यापन गराउने उनी शिक्षक आन्दोलनका लागि काठमाडौं गएका थिए।
छोराको मृत्युको खबरपछि उनी बुटवल आइसकेका छन्। ध्रुवको श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको छ।
वैशाख ११, २०८२ बिहीबार ०७:५९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।