सेटिङमा ढुक्क स्वास्थ्य मन्त्रालय

काठमाडौ : गठबन्धन बदलिएसँगै स्वास्थ्य मन्त्रालयको नेतृत्वमा प्रदीप यादवपछि आए नेपाली कांग्रेसका ‘युवा’ सांसद प्रदीप पौडेल। सचिवमा डा रोशन पोखरेलको अवकाशपछि डा. विकास देवकोटाको बढुवा भयो।
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा रहेका संगीता कौशल मिश्राको सरुवा गरेर मन्त्री पौडेलले डा देवकोटालाई लगेका थिए। देवकोटा सचिवमा नियुक्त भएपछि महानिर्देशक बने डा टंक बाराकोटी।
डा विकास महानिर्देशक हुँदा नै विभागको पुरै टिमै बदलिइसकेको थियो। व्यवस्थापन महाशाखाको निर्देशकमा रहेका श्रवण थापाको सरुवा भएसँगै आए डा पवनजंग रायमाझी। तर खरिद शाखा प्रमुख डा सुरेन्द्र चौरसिया भने त्यहीँ पदमै कायम रहे। लामै कसरत गरेर मन्त्री पौडेलले चौरसियाको ठाउँमा ल्याए दया पन्त।
यसरी नै अन्य सङ्घीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्टहरु पनि बदले मन्त्री पौडेलले। पौडेल आफू मन्त्री भएपछि टिम त बदले तर स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरूबाट हुने खरिदको शैली बदलिएन।
कोभिडकालको भानुभक्त ढकालदेखि प्रदीप यादवसम्मको कार्यकालमा स्वास्थ्य उपकरण खरिदका अधिकांश प्रक्रिया मिलेमतोमै भएका देखिएका थिए। मोहन बस्नेतको दश महिने कार्यकालमा त विभागको व्यवस्थापन महाशाखाले करिब चार अर्ब ३६ करोड ७० लाख रकमको मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्रीको खरिद मिलेमतोमै भएको थियो।
स्वास्थ्य मन्त्री भएपछि पौडेलले मन्त्रालयको काम पारदर्शी बनाउने दाबी गरिरहे। तर मुख्य समस्या खरिद मिलेमतोको जालो तोडिएन, थप कसिलो र संस्थागत देखियो।
उनी मन्त्री भएको केही समयपछि स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले खरिद प्रक्रिया सुरु गरेको थियो। महाशाखाले जति पनि खरिद प्रक्रिया अगाडि बढायो ती सबै मिलेमतोमै अगाडि बढेको देखियो।
जो मन्त्री आए पनि विभागमै टिकिरहने बायोमेडिकल इन्जिनियरहरूसँग मिलेर निश्चित कम्पनीको उत्पादक मेसिनसँग मिल्नेगरि मात्रै स्पेशिफिकेशनहरु बनाइए। मिलेमतोको खुलासासँगै लामो समय खरिद प्रक्रिया रोकिएको थियो। आर्थिक वर्ष सकिने मिति नजिकिएसँगै मिलेमतोको अनुसन्धानको साटो शैली बदल्दै खरिद प्रक्रिया स्वीकृतिको प्रक्रियामा गयो। एकल कम्पनी छनौट गर्दा मिलेमतोको पुष्टि हुने भएपछि प्राविधिक छनौटमा अन्य कम्पनी समेत पास गरेका छन्।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब साढे १४ करोडका दुई वटा मेसिन तथा उपकरण खरिद प्रक्रिया सुरु गरेको थियो। विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब सात करोड २० लाखको ‘ऐनस्थेसिया मेसिन’ र करिब सात करोड ६० लाखको ‘इन्डो-युरोलोजी भिजलाईजेशन सिस्टम एन्ड थुलियुम फाइबर लेजर सिस्टम’को टेन्डरको अगाडि बढाएको थियो।
उकेराको अध्ययनमा खरिदको स्पेशिफिकेशनमा उत्पादक कम्पनीको क्याटलग नै कपिपेस्ट गरेर लक्ड गरिएको खुलेको थियो। प्राविधिक मूल्याङ्कनमा सेटिङ अनुसारकै सप्लायर्स कम्पनी छनोट भयो।
यी टेन्डरको मेसिन तथा उपकरणको खरिदका लागि प्राविधिक मूल्याङ्कनको चरणमा सप्लायर्स कम्पनीहरूलाई छनोट गरेको सम्बन्धी महाशाखाले २०८२ वैशाख ८ (२०२५ अप्रिल २१) मा जारी गरेको सूचनामा प्राविधिक मूल्याङ्कनको चरणमा छनोट भएका टेन्डरको आर्थिक प्रस्ताव २०८२ वैशाख १५ (२०२५ अप्रिल २८) मा आर्थिक प्रस्ताव खोल्ने उल्लेख गरेको छ।
महाशाखाले २०८१ मंसिर २३ मा सात करोड २० लाखको ‘ऐनस्थेसिया मेसिन’ किन्न टेन्डर आव्हान गरेको थियो। ‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशन भारतीय उत्पादक कम्पनी ‘बीपीएल’को ‘इ-फ्लो’ सिरिजको क्याटलगका बुँदा नै कपिपेस्ट गरेर टेन्डरको स्पेशिफिकेशन बनाएको खुलेको थियो।
महाशाखाले ‘ऐनस्थेसिया मेसिन’को प्राविधिक मूल्याङ्कनको चरणमा नक्साल ठेगाना रहेको ‘इम्पेरियल मेडिलिंक प्रालि’, बालुवाटार ठेगाना रहेको ‘लुम्बिनी हेल्थ केयर प्रालि’ र पर्साको वीरगन्ज ठेगाना रहेको ‘पर्सा साइन्स इम्पोरियम’लाई छनोट गरेको छ।
टेन्डर स्वीकृति हुन आर्थिक मूल्याङ्कनको छनोटमा समेत योग्य हुनुपर्छ। ‘ऐनस्थेसिया मेसिन’को टेन्डरमा प्राविधिक मूल्यांकमा यी तीन वटा सप्लायर्स कम्पनी छनोट भएकाले आर्थिक मूल्याङ्कनको चरणमा बजेट र लागत अनुमानको सीमाभित्र रहेर सबैभन्दा सस्तोमा मेसिन ल्याइदिने कबुल गर्ने सप्लायर्स कम्पनीले टेन्डर पाउनुपर्ने कानुनी प्रावधान छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्धुतिय प्रणालीमा प्रकाशित बोलपत्र कागजातको प्राविधिक स्पेशिफिकेशनमा लक्ड बुँदा बदलिएको छैन। तर अन्य कम्पनीको प्रस्ताव समेत स्वीकृत भएको छ।
यसअघि अधिकांश टेन्डरमा प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर जसलाई टेन्डर दिने हो त्यही कम्पनीको सप्लायर्सलाई मात्रै प्राविधिक मूल्याङ्कनको चरणमा छनोट गरेर आर्थिक मूल्याङ्कनको चरणमा पुर्याइन्थ्यो। अनि बजेटको सीमाभित्र रहेर उसैले टेन्डर पाउँथ्यो। तर, ‘ऐनस्थेसिया मेसिन’ मेसिनको सवालमा भने सप्लायर्स कम्पनीले सेटिङको अलि फरक चल्याख्याइँ अपनाएको देखिन्छ।
प्राविधिक चरणमै लक्ड स्पेशिफिकेशन अनुसार नै निश्चित कम्पनीको मात्र प्रस्ताव पास गर्दा मिलेमतो पुष्टि हुने भएपछि आर्थिक चरणमा अन्य कम्पनीहरूलाई समेत लगिएको देखिन्छ। यसले टेन्डर प्रस्ताव गर्दा कम्पनीहरूबिच मिलेमतोमा मूल्यमा चलखेल गरेको देखिन्छ।
‘ऐनस्थेसिया मेसिन’ खरिदका लागि टेन्डर प्रस्ताव गरेका सबै कम्पनीको प्रस्ताव पास भने भएको छैन। यो टेन्डरमा जुन-जुन सप्लायर्स कम्पनीको प्रस्ताव पास गरे पनि स्पेशिफिकेशन अनुसार योग्य हुने भारतीय उत्पादक कम्पनी ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजकै मेसिन हो।
महाशाखाले टेन्डर आह्वान गरेको ‘एनेस्थेसिया मेसिन’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस–जी–एनसीबी–३५–एमडी–२०८१–८२’ हो।
त्यसैगरी विभागको व्यवस्थापन महाशाखाले २०८१ माघ ४ मा टेन्डर गरी करिब सात करोड ६० लाखको ‘इन्डो–युरोलोजी भिजलाईजेशन सिस्टम एन्ड थुलियुम फाइबर लेजर सिस्टम’को खरिद प्रक्रिया अगाडि बढाएको थियो।
महाशाखाले टेन्डरको प्राविधिक मूल्याङ्कनबाट दुई वटा सप्लायर्स कम्पनीलाई छनोट गर्दै आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी गरेको छ। महाशाखाले प्राविधिक मूल्याङ्कनको चरणमा ‘लाइफलाइन ट्रेड इन्टरनेश्नल प्रालि’ र ‘पर्सा साइन्स इम्पोरियम’ गरी दुई वटा सप्लायर्स कम्पनीलाई छनोट गर्दै २०८२ वैशाख १५ (२०२५ अप्रिल २८) आर्थिक प्रस्ताव खोल्ने जनाएको छ।
जानकार स्रोत उपकरण खरिदमा जुन-जुन सप्लायर्स कम्पनीलाई प्राविधिक स्पेशिफिकेशनमा छनोट गरे पनि ‘इन्डो–युरोलोजी भिजलाईजेशन सिस्टम’ ‘रिचार्ड उल्फ’ नामक उत्पादक कम्पनीकै उपकरण खरिद गर्नेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड भएको र सोही अनुसार नै अन्तिममा उसैको नेपाली एजेन्टले ठेक्का पाउने हो।
महाशाखाले टेन्डर आह्वान गरेको ‘इन्डो–युरोलोजी भिजलाईजेशन सिस्टम एन्ड थुलियुम फाइबर लेजर सिस्टम’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस–जी–एनसीबी–३०–एमडी–२०८१–८२’ हो।
महाशाखामा ‘इन्ट्रा भास्कुलर अल्ट्रासाउन्ड (आइभीयूएस) सिस्टम’को टेन्डरको पनि प्राविधिकपछि आर्थिक मूल्याङ्कनको चरणमा रहेको देखिएको छ। यसमा लाइभलाइन ट्रेड र पर्सा साइन्स इम्पोरियम छानिएका छन्।
मिलेमतोको पोल खुलेपछि बदलियो रणनीति
विभाग अन्तर्गतको महाशाखाले टेन्डर प्रक्रिया अगाडि बढाएसँगै सार्वजनिक स्पेशिफिकेशनको अध्ययन गर्दा लक्ड देखिएपछि उकेराले प्रमाणसहित सार्वजनिक गर्यो। उकेराले गत पुस १९ मा ‘१८ करोडको तीन टेन्डरका खरिद मापदण्डमा निश्चित कम्पनीको क्याटलगै कपिपेष्ट, स्वास्थ्य विभागदेखि महाशाखा प्रमुखसम्मको मिलेमतो’शीर्षकमा समाचार प्रकाशित गरेको थियो।
मंसिर २३ मा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब चार करोडमा दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’, सात करोड २० लाखमा २५ सेट ‘ऐनस्थेसिया मेसिन’, र सात करोड २० लाखमा ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिदका लागि सेटिङ अनुसार टेन्डर आव्हान गरेको विषय समेत लेखेको थियो।
त्यसपछि टेन्डर खुल्ने म्याद बढाएर आन्तरिक छानबिन समिति बनेको थियो। तर त्यसबाट पनि स्पेशिफिकेशन बदलिएन। उकेराले प्राविधिक रूपमा कुन टेन्डर कसलाई पर्छ भन्ने तोकेकाले जस्ताको त्यस्तै टेन्डर स्वीकृत गर्दा मिलेमतो पुष्टि हुने भएपछि कुनै टेन्डरमा एक मात्र प्रस्ताव परेको अवस्थामा रद्द गर्ने, अन्यको हकमा अगाडि बढाउने आन्तरिक सहमति भएको विभाग स्रोतले बतायो।
त्यसपछि सुरु भयो सप्लायर्सबीचको खेल। यसमा सक्रिय भए शशी श्रीवास्तव। विभाग अन्तर्गतको खरिदमा श्रीवास्तव र सुरेन्द्र चौरासियाबीचको सम्बन्ध नौलो हैन। चौरसिया विभाग अन्तर्गत भएका खरिदमा बदनाम पात्र हुन्। उनको सरुवा हुँदाहुँदै टेन्डरहरूको प्रक्रिया अगाडि बढाएर हिँडेका थिए। उनको ठाउँमा दया पन्त गए पनि विभाग नेतृत्वका कारण खरिदमा निर्णायक चौरसिया नै देखिए।
सचिव नियुक्तिमा प्रभाव पर्ने भएपछि डा देवकोटाले खरिदको थप प्रक्रिया अगाडि नै नबढाई बसे। उनको नियुक्तिसँगै डा बाराकोटी महानिर्देशक भएर आए। स्रोतका अनुसार डा बाराकोटी पनि रोकिएको खरिद प्रक्रिया अगाडि बढाउने पक्षमा थिएनन्। पन्त पनि निष्क्रिय थिए।
बिचमा पन्तको सरुवा गरेर पुन चौरासियालाई खरिद इकाई प्रमुखमा ल्याउन चलखेल सुरु भइसकेको थियो। इकाई प्रमुख पन्तले सामाजिक सञ्जालबाटै चलखेलको सङ्केत गर्दै लेखे‘ नियम विपरीत काम गर्नुभन्दा र कसैको दबाबमा अनियमित काम गर्नुभन्दा सरुवा हुनु सय गुणा राम्रो ठान्दछु।’
खरिद मिलेमतोमा बदनाम चौरासिया ल्याउँदा स्वास्थ्यमन्त्री पौडेल थप विवादमा पर्ने जोखिम देखिएपछि उनलाई औपचारिक रूपमा इकाइमा त ल्याइएन। तर खरिदमा उनी नै हाबी भए। अहिले प्रक्रिया अगाडि बढेको टेन्डरमध्ये ‘इन्डो–युरोलोजी भिजलाईजेशन सिस्टम’ र एनेस्थेसिया मेसिनको प्राविधिक मूल्याङ्कनमा श्रीवास्तवको कम्पनीको प्रस्ताव समेत पास भएको देखिन्छ।
प्याकेज बनाएर गरिएको यो खरिदमा ‘रिचार्ड उल्फ’को ‘इन्डो–युरोलोजी भिजलाईजेशन सिस्टम’ र अर्को कम्पनीको ‘थुलियुम फाइबर लेजर सिस्टम’ हो। पछिल्लो केही वर्ष यता शशी श्रीवास्तवको पर्सा इम्पोरियमलाई विभागमा नियमित टेन्डर पर्दै आएको देखिन्छ।
गेटा, नारायणी, गजेन्द्र नारायण र भेरीमा पनि उस्तै
विभाग त एक उदाहरण मात्रै, स्वास्थ्य मन्त्रालय अन्तर्गतको अन्य सङ्घीय अस्पतालको खरिदको अवस्था पनि उस्तै नै देखिन्छ। उदाहरणका रूपमा कैलालीको गेटा अस्पताललाई लिन सकिन्छ। करिब ४० करोड खरिद बजेट रहेको गेटामा पौडेल मन्त्री भएपछि डा अशोक श्रीपाइलीलाई पठाए। गत वर्षको करिब ७० करोडको खरिदमा चरम मिलेमतो भएको थियो गेटामा।
पुरानो टेन्डरको भुक्तानी र नयाँ खरिद मिलेमतोमा अगाडि बढाउने दबाबका कारण ११ औँ तहका डा श्रीपाइली निर्देशक भएको तीन महिनामै सरुवा भागेर हिँडे। जहाँ जुन तहको दरबन्दी छ त्यही तहको पठाउने दाबी गरेका मन्त्रीले गेटामा दसौँ तहका चिकित्सक डा. प्रमोदकुमार यादवलाई पठाए।
गेटाले अगाडि बढाएका टेन्डरमा मिलेमतो रहेको भन्दै प्रारम्भमै विवाद सुरु भइसकेको छ। गेटामा करारमा बायोमेडिकल इन्जिनियर छन् नै। तर डा यादवले प्रसूति गृहमा कार्यरत बायोमेडिकल इन्जिनियर अमृत भण्डारीलाई काजमा लगे।
नारायणी अस्पतालको पनि अवस्था उस्तै छ। नारायणी अस्पतालको निर्देशक डा. चुमनलाल दास छन्। उनलाई स्वास्थ्य मन्त्री पौडेलले नै त्यहाँको निर्देशक बनाएर पठाएका हुन्।
नारायणी अस्पतालले एउटै टेन्डरमा ‘११’ वटा सामग्रीको एउटा प्याकेज बनाएर करिब सात करोड ८६ मा ‘ओटी सेटअप’ सम्बन्धी मेसिन खरिद गर्नेगरी सेटिङमा टेन्डर प्रक्रिया अगाडी बढाएको छ।
फरक प्रकृतिका मेसिनलाई अस्वाभाविक रूपमा एउटै प्याकेजमा राखेर सेटिङ अनुसारकै सप्लायर्स कम्पनीलाई टेन्डर दिनेगरी ‘ओटी सेटअप’ सम्बन्धी मेसिनको टेन्डर अगाडि बढाएको देखिन्छ।
त्यसैगरी गजेन्द्र नारायणसिंह अस्पतालले सेटिङ अनुसार नै खरिद प्रक्रिया अगाडि बढाएको देखिन्छ। गजेन्द्र नारायणमा स्वास्थ्य मन्त्री पौडेलले नै डा. श्रीराम तिवारीलाई फर्काएर डा. प्रकाश साहलाई अस्पताल प्रमुख बनाएका छन्। तिवारीको राष्ट्रिय क्षयरोग केन्द्रमा सरुवा भयो।
उता कान्ति बाल अस्पतालले रि–एजेन्ट खरिदका लागि २०८१ असोज ३ मा आह्वान गरेको टेन्डर मिलेमतोमा अगाडि बढेको उकेराले सार्वजनिक गरेसँगै सो प्रक्रिया रद्द भयो। रिएजेन्टमा प्रतिस्पर्धा गराउने तर मेसिन निःशुल्क लिने सर्त राखेर टेन्डर गरिएको थियो।
तर यसमा पनि मिलेमतो गरेर पाँच वर्षसम्म एकै कम्पनीलाई रिएजेन्टमा हालीमुहाली गर्न दिने बदनियत देखिएको बारे उकेराले समाचार सम्प्रेषण गरेपछि सो टेन्डर रद्द भयो।
नेपालगन्जको भेरी अस्पतालको प्रमुखमा डा नीराजन सुवेदी पुगे। भेरी अस्पतालमा स्वास्थ्य मन्त्री पौडेलले नै निर्देशक बनाएर डा. सुवेदीलाई पठाएका थिए। त्यहाँ पनि अस्पतालले अगाडि बढाएको उपकरण खरिद प्रक्रिया शङ्कास्पद देखिएपछि राष्ट्रिय सतर्कता केन्द्रको छानबिनमा पर्यो। केन्द्रको स्रोतका अनुसार छानबिन अझै जारी नै छ।
करिब एक करोडमा खरिद हुन लागेको पाँच सेट ‘इलेक्ट्रो सर्जिकल युनिट’ लगायतको खरिद शङ्कास्पद देखिएको भन्दै सतर्कता केन्द्रले भेरी अस्पतालबाट खरिद सम्बन्धी कागजातहरू नियन्त्रणमा लिएर केन्द्रमा ल्याएको थियो।
भेरी अस्पतालले २०८१ पुस २१ मा करिब एक करोडमा पाँच सेट ‘इलेक्ट्रोसर्जिकल युनिट’ र करिब ५२ लाखमा एक सेट ‘इन्डोस्कोपिक स्पाइन सर्जरी इन्स्टुमेन्ट्स सेट’ खरिदका लागि गरेको टेन्डर आह्वान गरेको थियो। जुन टेन्डर स्वीकृत भए नभएको खुलेको छैन।
लुम्बिनी, बैतडी र दार्चुलामा रद्द, मधेसमा तनाव
मिलेमतो खुलेपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले करिब १४ करोड ९३ लाख ६० हजार मूल्यमा एमआरआई मेसिन किन्न अगाडि बढाएको टेन्डर प्रक्रिया रद्द भएको थियो। उकेराले सेटिङको खुलासा गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालले पुस १२ गते शुक्रवार एमआरआईको टेन्डर रद्द भएको सूचना जारी गरेको थियो।
मधेस प्रदेशका स्वास्थ्य मन्त्री सत्रुधन सिंहले मन्त्रालयको कार्यविधिमा नै स्पेसिफिकेसन राखेर निश्चित कम्पनीले मात्रै स्वास्थ्य उपकरणको ठेक्का पाउने गरी नीतिगत भ्रष्टाचार गरेको खुलासा भएपछि कार्यविधि खारेज गरेर मार्ग निर्देशन बनाए।
कार्यविधिमै निश्चित उत्पादनको मापदण्ड मिल्ने गरी स्पेसिफिकेसन राखेर उनले नीतिगत रूपमै स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचारको तयारी गरेका थिए। यसको खुलासासँगै मन्त्रालयले कार्यविधि अनुसार अगाडि बढेको खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिँदै कार्यविधि खारेज गरेको थियो।
निश्चित कम्पनीको मेसिनको क्याटलगै स्पेशिफिकेशनमा राखेर बैतडी र दार्चुला अस्पतालले ‘सी–आर्म’ मेसिनको टेन्डर अगाडि बढाएको थियो। मिलेमतोबारे उकेरामा प्रमाण सार्वजनिक भएपछि दुवै टेन्डर रद्द भयो।
बैतडी र दार्चुला अस्पतालले भारतीय कम्पनी ‘स्क्यान रे’ कम्पनीको क्याटलग हुबहु स्पेशिफिकेशनमा राखेर महँगोमा पुरानो प्रविधिको सी–आर्म मेसिन किन्न टेन्डर आव्हान गरेका थिए। बैतडीले पुन टेन्डर आव्हान गरेको छ।
उता महाकाली प्रादेशिक अस्पतालले ‘मोबाइल सी–आर्म (फ्लोरोस्कोपी) मेसिन’ किन्ने प्रक्रिया अगाडि बढाउँदै २०८१ चैत ३ (२०२५, मार्च १६) मा करिब ७६ लाख ८) हजारमा एक सेट ‘सी–आर्म’ खरिद गर्नेगरी टेन्डर आह्वान गर्यो।
यो खरिद प्रक्रियामा अस्पतालले कार्यान्वयन गरेको मापदण्ड र खरिदका लागि बनाएको प्राविधिक स्पेसिफिकेसन मिलेमतो रहेको खुल्यो। प्रक्रिया नरोकिए निश्चित कम्पनीको प्रस्ताव मात्र स्वीकृत हुने निश्चित छ।
खरिद मापदण्डको अध्ययनमा अस्पतालले भारतीय मेसिन उत्पादक कम्पनी ‘एलेन्जर’को उत्पादन मेसिनको प्राविधिक मापदण्ड मात्रै मिल्ने गरी स्पेसिफिकेसन लक्ड गरेको खुलेको थियो।
वैशाख १०, २०८२ बुधबार २२:४४:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।