सञ्जालका भाइरलका लफडा : वाइबा अस्पतालमा, राई र सिलवाल हिरासतमा

सञ्जालका भाइरलका लफडा : वाइबा अस्पतालमा, राई र सिलवाल हिरासतमा

काठमाडौं :  शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले बुधवार वाइबामाथि साङ्घातिक हमला गरेको आरोपमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ घर भई काठमाडौं बस्ने ३५ वर्षीय शर्मिला राई र भक्तपुरको चाँगुनारायण नगरपालिका-८ का बाबु भनिने ४२ वर्षीय कुवेर सिलवाललाई पक्राउ गरेको हो।

वैशाख ३ मा वाइबाको टाउकोमा गम्भीर चोट लागेको थियो। सो दिन दिउँसो साढे ५ बजेतिर गोठाटार पहेँलो पुल नजिक आक्रमण भएको भन्ने वाइबाको जाहेरीको आधारमा उनीहरू पक्राउ परेका हुन्।

वाइबा सामाजिक सञ्जालमा अराजक शैलीका कारण पटक-पटक विवादमा आइरहन्छिन्। पक्राउ परेकी शर्मिला राई वाइबाकै साथी हुन्। वाइबा अस्पतालमा उपचाररत रहँदा शर्मिला राईले सामाजिक सञ्जालमा आएर विवादकोक्रममा वाइबाले इटाले आफूलाई हान्न खोज्दा रोक्दा उनी आफैँ घाइते भएको दाबी गरेकी थिइन्।

उनले सामाजिक सञ्जालमा आफूले यस अगाडि अर्का पुण्य प्रसाईँलाई समेत कुटेको र शर्मिला वाइबाको निर्देशनमा कुटेको दाबी गरेकी थिइन्।

शर्मिला वाइबा र शर्मिला राईसहित एक समूह नै छ जो सामाजिक सञ्जालमा विभिन्न गतिविधि गर्दै विवादमा आइरहन्छन्। सो समूहले सार्वजनिक रूपमै व्यक्ति कुट्ने लगायतका गतिविधि गर्दै भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न सक्रिय छन्।

बेलाबखत उनीहरूबिचै विवाद हुँदा घटना प्रहरीसम्म पुग्ने गरेको छ। यस अगाडि शर्मा वाइबा समेत सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा दुई पटक पक्राउ परेर अदालतबाट धरौटीमा रिहा भएकी हुन्।

वैशाख १०, २०८२ बुधबार २०:४३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।