नेपाल चिकित्सक संघले प्रशासन कार्यालय र स्वास्थ्य मन्त्रालय घेर्ने

नेपाल चिकित्सक संघले प्रशासन कार्यालय र स्वास्थ्य मन्त्रालय घेर्ने

काठमाडौं : नेपाल चिकित्सक संघले काठमाडौं बाहिरका चिकित्सकहरूलाई जिल्ला प्रशासन कार्यालय र काठमाडौं उपत्यकाकामा रहेकालाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन दिएको छ। चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन नहुनु र आयोगले शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानमा एकै पटक म्याचिङ प्रक्रिया नगराएकाले आन्दोलनको अवस्था आएको संघले दाबी गरेको छ।

चिकित्सक संघको विस्तारित कार्यसमिति र आवासीय चिकित्सकको छलफलले उक्त निर्णय गरेका हो। बुधवार पत्रकार सम्मेलनमा कार्यकारी सदस्य तेत्छु मल्लले निजी मेडिकल कलेजमा काम गर्ने डाक्टरले आकस्मिक बाहेक सम्पूर्ण काम संघर्षमा आउन अनुरोध गरे।

देशभरका सम्पूर्ण चिकित्सकलाई भोलि बिहीबार १० देखि १२ बजेसम्म जिल्ला प्रशासनका कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका चिकित्सकलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य मन्त्रालय घेर्न  उनले आह्वान गरे।

संघले २४ घण्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सेवा रोक्ने चेतावनी समेत दिएको छ।

चिकित्सा शिक्षा आयोगले २५ माघमा बसेको १६औँ बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निर्देशन दिएको थियो। तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेपछि सङ्घ आन्दोलित भएको हो।

अहिले निजी मेडिकल कलेजहरू नाफा कमाउने उद्देश्यका साथ एमबिबिएस, बीडीएसको सिट र शुल्क बढाउनका लागि चलखेल गरिरहेको आरोप लागिरहेको छ।

आवासीय चिकित्सक २८ दिनसम्म पनि सडक उत्रिएर आफ्नो अधिकार माग्दा सरकारले उदासीनता देखाएको मल्लले बताए।

लामिछानेले थप्दै भने, "यो आन्दोलन व्यक्तिगत स्वार्थको लागि होइन, सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि हो।"

वैशाख १०, २०८२ बुधबार २०:२७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।